Wednesday, November 21 , 2018| बुधबार, मंसिर ५, २०७५ |
आमा
आइतबार, भाद्र १०, २०७५ २२:५४:२० | Comments

-लोप्चन सलामसिह लामा
छङ-छङ गर्दै सुनकोशी
डम्फु-मादल घन्काउदै छ रे
तिमालको शीतल पवन
सुसेलिएर बयली खेल्दै छ रे 
सिम्ले वनको कोइली
सल्लेरीमा गाउँदै छ रे
हो, आमा
म फर्कि आउने खुशीमा
ओखरबोटको मकैघारी
मरुनीको तालमा छमछम नाँच्दै छ रे

आमा,
तिम्रो दश गंगा दुधको ऋण त म तिर्न सक्दिन
तर
तिम्रो हात समाई
मैले हेरेको संसार देखाउन सक्छु
तिम्रो न्यानो काखमा बसेर
मैले देखेको संसार बुझाउन सक्छु
तिम्रो पाउमा शिर राखी
तिमीले देखेको संसार झुकाई 
तिम्रो मुठ्ठिमा राखी दिन सक्छु

तिम्रो हात समाई
मैले हेरेको संसार देखाउन सक्छु
तिम्रो न्यानो काखमा बसेर
मैले देखेको संसार बुझाउन सक्छु
तिम्रो पाउमा शिर राखी
तिमीले देखेको संसार झुकाई 
तिम्रो मुठ्ठिमा राखी दिन सक्छु

आमा,
यो बिलासी संसार चटक्क भुलेर
तिम्रो फरियाको सप्को समाई
टुकु-टुकु हिंड्न चाहन्छु
तिम्रो काखमा लुटुपुटु खेल्दै
चिहा-चिहा रुन चाहन्छु
हो आमा
मेरो बालपनको स्‍मृति
यो मथिंगल पर्दामा उतार्न चाहन्छु
तिमीलाई अंगालेर
मेरो बालपनको ध्वजा 
यो मुटुमा फर्फराउन चाहन्छु

हो, आमा म फर्कि आउँदैछु
तिमीलाई भेट्न 
सात समुन्द्र तरी
सम्झनाको कोसेली बोकेर
म फर्कि आउँदैछु

प्रतिकृया दिनुहोस