Wednesday, August 22 , 2018| बुधबार, भाद्र ६, २०७५ |
मेरो देश रोएको छ
बिहीबार, साउन २४, २०७५ ०९:२६:०९ | Comments

-सलामसिंह लामा

मेरो देश आज
तराईमा रोएको छ
पहाडमा रोएको छ
हिमालमा रोएको छ
नेता भन्ने जन्तुलाई सरापी
भञ्ज्याङ अनि थुम्का-थुम्का
बारी अनि कन्ला-कन्ला
डाको छोडेर रोएको छ

मेरो देश आज
अनाउ, कुटो, कोदाली समाएर
ठेला उठेका परिश्रमी हातहरु सुमसमाउँदै
रोपाइको जाते अनि
कन्लाको शिउहरुमा फाली सोज्याउँदै
सुक्क-सुक्क सुनकोशिको दोबानमा रोएको छ
मेरो देश आज
हिमालको फेदमा रोएको छ
तराईको लह-लह फाँटहरुमा रोएको छ

बाह्र हजार नेपालीको रगतको होली खेली
अर्बौको महलमा बसेर
देशलाई भुमरीमा फसाएको देख्दा
आफ्नै छोराको कट्टुको इजार सम्हाल्ने नसक्नेले
देशको बागडोर समाएको देख्दा
मेरो देश आज
तराईमा रोएको छ
पहाडमा रोएको छ
हिमालमा रोएको छ

रोधीमा दोहोरी गाउन छाडियो
दशैं-तिहारमा जमरा सँगै
फन्के पिङ घुम्न छोडियो
आली र डाली छाडेर
देश बनाउने युवा हातहरु
कतार, दुबइ, खाडी भासियो
मेरो देश आज
लन्डन,ट्योक्यो, यूकेमा रुँदैछ
अम्रिका, अस्ट्रेलियाको शहरहरुमा  रुँदैछ
हे भ्रस्ट नेताहरु हो
तिमीहरुको आचक्ली सहन नसकेर
मेरो देश आज
संसारको कुना-कुना  रुदैछ

रोधीमा दोहोरी गाउन छाडियो
दशैं-तिहारमा जमरा सँगै
फन्के पिङ घुम्न छोडियो
आली र डाली छाडेर
देश बनाउने युवा हातहरु
कतार, दुबइ, खाडी भासियो
मेरो देश आज
लन्डन,ट्योक्यो, यूकेमा रुँदैछ
अम्रिका, अस्ट्रेलियाको शहरहरुमा  रुँदैछ

महंगीलाई सगरमाथा पुय्रयौं
युवा शक्तिलाई विदेश उडायौ
देशलाई खोक्रो बनाई
महल ठडायौं
देश बिकासको दिवा-स्वप्न खोक्ने
हे भ्रस्ट नेताहरु
छातीमा हात राखेर भन त ?
देश तिमीहरुले भुत्र बनायौ  ?

प्रतिकृया दिनुहोस