Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
ट्रम्प किमको पत्रको पर्खाइमा रहने
शुक्रबार, जेठ १८, २०७५ १६:१४:५६ | Comments

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १ जुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन् । 

सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्रलेखी तत्कालका लागि सम्भव नभएको जनाएका थिए । तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो । 

दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन् । एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने, 'म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ पर्खीरहेको छु । उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्नेछन् ।' 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताए । 

प्रतिकृया दिनुहोस