Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
निर्माणाधीन गुम्बाको लागि अमेरिकाबाट २ लाख रुपैयाँ सहयोग
मंगलबार, बैशाख १८, २०७५ १६:५४:३७ | Comments

नेपाली बुलेटिन संवाददाता
१८ वैशाख,  काठमाडौं

अमेरिकाको कनेक्टिकट राज्यका सफल युवा व्यवसायी तथा समाजसेवी चुण्डी बल तामाङले पोखराको बैदाममा निर्माणाधीन गुम्बालाई नगद २ लाख रुपैयाँ सहयोग गरेको छ । 

२५६२औ बुद्ध जयन्तीको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा नेपाल भ्रमणमा रहेका नेपाल तामाङ युवा घेदुङ कास्कीका संस्थापक सचिव एवं तामाङ समाज अमेरिकाका निवर्तमान महासचिव अमर तामाङले बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङलाई हस्तान्तरण गरे ।  

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अमर तामाङले वैदाम तामाङ  समाजले सकारात्मक ईच्छा शक्ति र इमान्दारिताले गर्दा आज छोटो समयमा आफ्नो स्वामित्वमा गुम्बा बनाउन सक्नु सिँगो  तामाङ समुदायका लागि गर्विलो महसुस भएको बताए । तामाङले पोखराको अति नै व्यस्त बस्ती पर्यटक आउने स्थान लेकसाइड  बैदाममा निर्माणको अन्तिम चरण पुगेको गुम्बाले त्यस क्षेत्रका स्थानीय वासिन्दा तथा पर्यटकहरुको लागि आकर्षक केन्द्र विन्दु हुने समेत बताए । 

वैदाम  तामाङ समाजका अध्यक्ष  ज्याक तामाङले गुम्बा निर्माणका लागि सहयोग  गर्नु हुने अमेरिका निवासी चुण्डी बललाई सात समुन्द्र पारी रहेर पनि सहयोग गर्नु भएकोमा खुशी ब्यक्त गर्दै धन्यवादसहित आभार प्रकट गरे । बैदाम तामाङ समाजको आयोजनामा भएको उक्त कार्यक्रममा लामा गुरुहरुद्वारा धार्मिक पूजा पाठ गरिएको थियो ।

प्रतिकृया दिनुहोस