Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
पार्टी एकता कार्यदलको प्रतिवेदन बन्दै
बिहीबार, फाल्गुण २४, २०७४ १८:०७:२४ | Comments

काठमाडौँ, २४ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ । 

केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन । संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको जानकारी दिए । 

पार्टी एकता संयोजन समितिको यही फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर यही फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो । वैचारिक कार्यदलको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छन् । दुवै कार्यदललाई यही फागुन २५ गतेभित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुनसक्ने बुझिएको छ । 

प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् । 

प्रतिकृया दिनुहोस