Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
साहित्यकार इन्द्रबहादुर राई रहेनन्
बुधबार, फाल्गुण २३, २०७४ १०:१९:५७ | Comments

काठमाडौं । नेपाली साहित्यमा आयामेली आन्दोलन एवं लीला लेखनका अभियन्ता इन्द्रबहादुर राईको निधन भएको छ।

दार्जिलिंग निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो ।राईले वि।सं। २०२० को दशकमा वैरागी काइँला र ईश्वरवल्लभसँग मिलेर तेस्रो आयाम साहित्यिक अभियान चलाएका थिए । उनलाई नेपाली साहित्यमा लीला लेखनका प्रणेता समेत मानिन्छ ।

विशेष गरी आख्यान र समालोचना विधामा कलम चलाउने राईका ‘आज रमिता छ’ उपन्यास, ‘विपना कतिपय’, ‘कथास्था’, ‘कठपुतलीको मन’ कथासंग्रह, ‘लेखहरु र झ्याल’ निबन्धसंग्रह तथा समालोचनातर्फ ‘अर्थहरूको पछिल्तिर’, ‘नेपाली उपन्यासका आधारहरू’, ‘लीला प्रस्तावना’ लगायतका कृति प्रकाशित छन्।

‘नेपाली उपन्यासका आधारहरू’ पुस्तकका लागि उनले भारतमा सन् १९७५ को साहित्य अकादमी पुरस्कार पाएका थिए। यसका साथै उनलाई वि।सं। २०४५ मा जगदम्बाश्री पुरस्कार समेत प्रदान गरिएको थियो । राई वि।सं। १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर राईले दार्जिलिंगको सेंट जोसेफ कलेजमा प्राध्यापन पनि गरेका थिए ।

पछिल्ला वर्षहरुमा स्वास्थ्य समस्या खेपिरहेका राई उपचारका लागि गत वर्ष काठमाडौं समेत आएका थिए ।

प्रतिकृया दिनुहोस