काठमाडौं, २५ पुस । सोमबार त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेर आज सर्वोच्च अदालतमा हाजिर गराइएका डाक्टर गोविन्द केसीले बयान दिएका छन् ।
बयानका क्रममा उनले अदालतको नभई न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै विरोध गरेको बताएका छन् । दिउँसो २ बजेपछि अवहेलनासम्बन्धी मुद्दामा उनको बयान सुरु भएको थियो ।
उनले पराजुलीले दुईटा नागरिकता राखेको, उमेर सच्याएर जागिर खाएको, पदीय मर्यादा नाघेको, भ्रष्ट छबी भएकोलगायतका आरोप लगाउँदै उनीमाथि नै महाभियोग लगाइनुपर्ने बयान दिएको अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।
बयानपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा अवहेलना मुद्दामा बहस हुनेछ ।
केसीका पक्षमा भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने बताइएको छ ।
त्यसैगरी केसीको विपक्षमा रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने छन् ।