Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
'अबको ३ महिनाभित्र छैठौ महाधिवेशन सम्पन्न हुनेछ'
शुक्रबार, पौष १४, २०७४ २३:२७:०९ | Comments

लुईसाङ वाईवा तामाङ, अध्यक्ष, आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)
 
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गरेका व्यक्तित्व हुन् – लुईसाङ वाईवा तामाङ ।  नेपालको आदिवासी आन्दोलनमा दुइ दशक बिताइसकेका तामाङ नेपाली डायस्पोरामा एक प्रभावशाली व्यक्तित्वको रुपमा चिनिन्छन् । न्युयोर्क शहरमा 'नेपाल डे परेड'जस्तो नेपाली पहिचानको गरिमामय कार्यक्रमको सुत्रधार गर्ने व्यक्तित्व हुन् तामाङ । त्यसै गरेर न्युयोर्कजस्तो व्यस्त शहरमा तीन दिनसम्म 'नेपाल आदिवासी चलचित्र महोत्सव' प्रथम पटक आयोजना गरेर सफल नेतृत्व प्रदान गरिसकेका तामाङ फिप्नाको छैठौ महाधिवेशनबाट विवादमा मुछिएका छन् । फिप्नाको छैठौ महाधिवेशन स्थगित भएपछि तामाङ विवादमा तानिएका हुन् । फिप्नाका वर्तमान अध्यक्ष वाईवा तामाङसँग फिप्नाको छैठौ महाधिवेशन स्थगित सम्बन्धि नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले गरेको कुराकानीको सारांशः                  

फिप्नाको छैठौ महाधिवेशन किन स्थगित गर्नु भयो ?
निर्वाचन अयोगले महाधिवेशन स्थगित गरेको हो । प्रत्यक्ष रुपमा वर्तमान कार्य समितिको यसमा कुनै हात छैन । सदस्यता नविकरण सम्बन्धी विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले यथास्थितिमा निर्वाचन सम्पन्न गर्न नसक्ने जनाएपछि कार्य समिति तथा फिप्नाका अगुवाहरुको सल्लाहमा महाधिवेशन स्थगित गरिएको हो ।

कुन-कुन संस्थाको सदस्यताकोबारेमा विवाद भएको हो ?
युनाईटेड किरात राई ओर्गनाइजेसन र ढोक्प्या किदुगकोबारेमा बन्दसत्र भित्र विवाद भएको हो । तर युनाईटेड किराँत राई ओर्गनाइजेसनको प्रतिनिधित्वको कुरालाई लिएर विवाद भएको हो भने ढोक्प्या किदुगको भने संस्था दर्ता सम्बन्धी समस्या आएको हो । पहिलो पटक कुनै पनि संस्थाले फिप्नाको सदस्यता लिनुपर्दा फिप्नाको राष्ट्रिय महाधिवेशन हुनु भन्दा ९० दिन अगावै संस्था दर्ता हुनुपर्ने प्रावधान विधानमा स्पष्ट उल्लेख छ तर ढोक्प्या किदुगको दर्ता ९० दिनभित्र नपरेकोले विवाद सृजना भएको हो । विधि विधानलाई आत्मसाथ गरेको भए प्रतिनिधि साथीहरुले यस्तो विवाद गर्न नमिल्ने हो ।  

ढोक्प्या किदुग एक वर्षदेखि फिप्नामा क्रियाशील सदस्यता भएर पनि किन नपाएको ? 
विधि विधानले संस्था दर्ता समय सीमाभित्र भएको छ की छैन त्यो हेरिने हो । कहिलेदेखि क्रियाशील छ या छैन त्यो दर्ता प्रक्रियाभित्र पर्दैन । फिप्नामा पहिलो पटक संस्था दर्ता गर्नुपर्दा ९० दिनको समय सीमा लागू हुन्छ । जुन संस्थाले त्यो प्रक्रिया पुरा गर्छ त्यसले स्वतः सदस्यता प्राप्त गर्छ । हेर्नुस् तपाई १० वर्ष अमेरिका बस्नु भयो भन्दैमा अमेरिकी ग्रीनकार्ड पाउनु हुन्न र दाबी गर्न पनि मिल्दैन । त्यसैले प्रक्रियाभित्र पस्नु पर्छ अनि मात्र अधिकार प्राप्त हुन्छ । ढोक्प्या किदुगको समस्या पनि यस्तै किसिमको हो । 

वर्तमान कार्य समिति एवं निर्वाचन आयोग भंग गरिएको सूचनासहितको फिप्ना सभामुखको विज्ञप्ति सामाजिक संजालमा हस्ताक्षरसहित व्यापक छ नि, के  भंग भएको हो त ?
हेर्नुस्, महाधिवेशन स्थगित भएको घोषणापछि केही उत्तेजित समुह खास गरेर भन्नुपर्दा विधि विधानलाई नबुझेकाहरुबाट त्यस्तो गल्ति भएको हो । फिप्ना सभामुख यसको शिकार बन्नु भयो जुन दुर्भाग्यपूर्ण छ । सभामुखजस्तो पदीय जिम्मेवारी लिएका व्यक्तिले के गर्न मिल्छ र के मिल्दैन त्यो बुझ्न सक्नुपर्थ्यो । संस्थाको विधि विधानलाई मान्दिन भन्ने समुहको उत्तेजना थियो त्यो प्रतिक्रिया । कार्यकारिणी समितिलाई कुनै पनि उत्तेजित भीडले अवमुल्यन गर्न सक्दैन । लहडबाजीले विधि विधान स्थापित हुदैन । 

सामान्यतया निर्वाचन प्रक्रियामा प्रवेश गर्दै गर्दा बहालवाला कार्यसमिति भंग गरिन्छ । तर फिप्नाको सन्दर्भमा त्यो अभ्यास लागू हुदैन किन भने बहालवाला कार्यसमिति डिसेम्बरको अन्तिमसम्म कार्यरत रहन्छ र नयाँ वर्षको पहिलो दिनदेखि मात्र नयाँ नेतृत्वले सपथ लिने र पदभार सम्हाल्ने चलन र विधि विधान नै छ फिप्नामा । त्यसैले नयाँ नेतृत्व चयन होस् वा नहोस् बहालवाला कार्य समिति बन्दसत्रभित्र नै भंग हुन्न हाम्रो सन्दर्भमा ।  जसरी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन अमेरिकामा सम्पन्न हुन्छ र जनवरीमा मात्र पदभार सुम्पिने चलन छ त्यस्तै किसिमको अभ्यास फिप्नामा पनि छ ।   

१२ वटा संस्थाको सहमति छ भनेर हस्तक्षरसहितको सामाजिक संजालमा प्रचारबाजी छ नि ?
संस्थाको नाम लेख्दैमा त्यो प्रमाणित हुदैन । छैठौ महाधिवेशनमा दर्ता भएका संस्था नै १२ वटा छन् । कसरी हस्ताक्षर गर्ने संस्था बहुमतमा छ भन्ने ? त्यो त शतप्रतिशत नै भइगयो नि । अर्को कुरा हामीलाई राम्ररी थाहा छ की त्यो कागजको टुक्रामा हस्ताक्षर गर्नेहरु आधा भन्दा बढी पर्यवेक्षकहरु हुन् । संस्थाको प्रतिनिधित्व गर्छन् भन्नु गलत हो र उनीहरुले भ्रम सृजना गरेका मात्र हुन् । विधि विधानलाई आत्मसाथ गर्ने हो भने संस्थाको मूल्य, मान्यतालाई सम्मान गर्न सक्नुपर्छ नत्र भने अराजकता मच्चाउन संस्था चाहिन्न ।

त्यसो हो भने वर्तमान कार्य समिति भंग भएको छैन ? 
(हाँस्दै...) हेर्नुस् १० जना मान्छे डाईभरसिटी प्लाजामा उभिएर राष्ट्रपति डोनाल्ड ट्रंपको आलोचना गर्दै 'हि ईज नट माई प्रेसिडेन्ट' भन्दैमा त्यो मान्य हुन्छ र ? लहडबाजीले विधि विधान स्थापित हुन्न । रमाइलोको लागि केही समय होहोल्ला गर्नु फरक कुरा हो ।

बन्दसत्रमा निर्वाचन प्रक्रिया शुरु हुनु भन्दा अगाडि नै कार्य समिति भंग गरिन्छ, होइन र ?
सामान्यतया निर्वाचन प्रक्रियामा प्रवेश गर्दै गर्दा बहालवाला कार्यसमिति भंग गरिन्छ । तर फिप्नाको सन्दर्भमा त्यो अभ्यास लागू हुदैन किन भने बहालवाला कार्यसमिति डिसेम्बरको अन्तिमसम्म कार्यरत रहन्छ र नयाँ वर्षको पहिलो दिनदेखि मात्र नयाँ नेतृत्वले सपथ लिने र पदभार सम्हाल्ने चलन र विधि विधान नै छ फिप्नामा । त्यसैले नयाँ नेतृत्व चयन होस् वा नहोस् बहालवाला कार्य समिति बन्दसत्रभित्र नै भंग हुन्न हाम्रो सन्दर्भमा ।  जसरी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन अमेरिकामा सम्पन्न हुन्छ र जनवरीमा मात्र पदभार सुम्पिने चलन छ त्यस्तै किसिमको अभ्यास फिप्नामा पनि छ ।   

अब महाधिवेशन कहिले हुन्छ त ?
तीन महिनाभित्र महाधिवेशन आयोजना गर्ने भनेर वर्तमान कार्य समितिले तयारी गर्दैछ । त्यसको लागि डिसेम्बर २७ मा बसेको कार्य समितिको बैठकले वर्तमान कार्य समितिको कार्य अवधि तीन महिनाको लागि थप गरिसकको छ ।
 
अन्त्यमा बिपक्षी साथीहरुलाई केहि भन्नु हुन्छ ?
उहाँहरु कोहि पनि विपक्षी होइन । हामी एकै पक्षका हौँ । साथीहरुलाई मेरो के अनुरोध छ भने विधि विधानमा रहेर हामीले काम गर्यौं भने त्यो संस्थागत हितको लागि हुनेछ । एउटा परिवेशमा उत्पन्न भएको आक्रोश र आवेगलाई नियन्त्रण गरेर संस्थाको बृहत्तर हितको निम्ति सम्बेदनशील भएर सोची दिन हुन मेरो अनुरोध छ । यो संस्था तपाई हामी सबैको हो । हामी सबै मिलेर यसलाई संरक्षण गर्नुपर्छ । आज हामी जे गर्छौ त्यो भोलिको लागि नजिर हो । त्यसैले गलत नजिर हामी कसैबाट स्थापित नहोस् ।                                      
 

प्रतिकृया दिनुहोस