Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
केट स्टेन्ली हत्या प्रकरणः अवैध आप्रवासन र अपराध
शुक्रबार, मंसिर १५, २०७४ १८:३०:२६ | Comments

हिमाल कोइराला
१ डिसेम्बर, काठमाडौं । हत्या अभियोगको सुनुवाईका क्रममा एक मेक्सिकन अवैध आप्रवासीलाई सनफ्रान्सिस्को शहरको एक अदालतले निर्दोष रहेको फैसला गरेपछि अमेरिकामा अवैध आप्रवासनबारे बहस फेरि सतहमा आएको छ । सनफ्रान्सिस्कोको एक अदालतले बिहीबार क्याथरिन स्टिन्लेको हत्यामा संलग्न रहेको अभियोग लागेका मेक्सिकन अवैध आप्रवासी निर्दोष रहेको फैसला सुनाएको थियो ।

४५ वर्षीय मेक्सिकन आप्रवासी होजे इनेस गार्सिया जारेटेलाई ‘बन्दुकले आक्रमण गरेको’ अभियोगमा पनि निर्दोष साबित गरिएको थियो । जारेटेलाई बन्दुक राखेको अभियोगमा मात्रै दोषी साबित गरिएको थियो । उनको सुनुवाई ५ सातासम्म चलेको थियो । यस अभियोगमा उनलाई १६ महिनादेखि ३ वर्षसम्म जेलसजाय सुनाउन सक्ने जनाइएको छ । सुनुवाईको पर्खाइका क्रममै उनले २ वर्षसम्म जेलजीवन बिताइसकेका छन् । उनलाई सजाय सुनाइने मिति भने अझै तोकिएको छैन ।

सन् २०१५ को जुलाई महिनामा भएको स्टेन्लीको हत्यापछि अभियुक्त अवैध अप्रवासी विरुद्ध आक्रमकताका साथ प्रस्तुत हुने वा नहुने तथा यस विषयमा स्थानीय कानून कार्यान्वयन निकायको भूमिका कस्तो हुने भन्ने विषयमा कडा बहस सुरु भएको थियो । हत्याका अभियुक्त जारेटे स्टेन्लीको हत्या हुनुअघि अमेरिकाबाट ५ पटकसम्म देशनिकालामा समेत परेकाले यस बहसले तीब्रता पाएको थियो ।

‘६ दिनको अदालती बहसपछि यस फैसला आएको हो, यस फैसलाबारे प्रश्न उठाउनु जायज हुन्न ।’ सन फ्रान्सिस्को शहरका सार्वजनिक वकिल जेफ अडइचीले अदालतको फैसला सकिएलगत्तै भने । ‘‘स्टेन्लीको हत्या भएको पहिलो दिनदेखि नै घटनाका विषयमा ठूलो दुष्प्रचार सुरु गरिएको थियो । त्यसपछि राष्ट्रपतिको उम्मेद्वारका रुपमा डोनाल्ड ट्रम्प आए र उनले यसलाई जानाजान गरिएको हत्या भनेर गलत जानकारी फैलाए ।’

न्युयोर्क टाइम्स पत्रिकालाई टलिफोनमार्फत् दिएको अन्तर्वार्ताका क्रममा सन फ्रान्सिस्को जिल्ला न्यायाधीवक्ता कार्यालयका उप न्यायाधिवक्ता जर्ज गास्कोनले भने – ‘‘अदालतबाट यस्तो फैसला आउला भनेर हामीले अपेक्षा गरेका थिएनौँ ।’

‘अभियोजनकर्ता तथा अभियुक्तको पक्षका वकिलहरुले यस विषयमा निकै बहस गरेका थिए ।’ गस्कोनले भने, ‘‘पछि अन्तिम फैसला सुनाउने जिम्मा अदालतको थियो । अदालतले सुनाएको फैसलाको हामी सम्मान गर्छौँ ।’

अदालतको फैसलापछि हत्या गरिएकी क्याथरिन स्टेन्लीका बुवाले सन फ्रान्सिस्को क्रोनिकललाई भने – ‘‘हामी स्तब्ध छौँ, अदालतको यस फैसलाबाट हामीलाई दुःखित तथा अश्चर्यचकित छौँ ।’

अमेरिकाको आप्रवासन तथा भन्सार निकायले एक विज्ञप्ती जारी गर्दै यस मुद्धा सकिएपछि अभियुक्त गार्सिया जारेटेलाई आफ्नो नियन्त्रणमा लिएर देश निकाला गरिने जनाएको छ ।अनुदार आप्रवासन नीति लिँदै आएका अमेरिकी महान्यायाधीवक्ता जेफ सेसेन्सले सन फ्रान्सिस्को शहरको स्यान्चुरी पोलिसी अर्थात् आप्रवासनको मामलामा संघीय सरकारसँग सहकार्य नगर्ने नीति लिएका शहरहरुको अनुदान रोक्का गर्ने चेतावनी दिँदैका आएका छन् ।

‘यसलाई वर्णन गर्ने हामीसँग अर्को शब्दै छैन ।’ उनले भने, न्याय त दिइयो तर हामीलाई चित्त बुझेको छैन ।’ सन् २०१५ मा भएको स्टेन्लीको हत्यालाई तत्कालिन समयमा राष्ट्रपतिका उम्मेद्वार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा अवैध आप्रवासन विरुद्धको आफ्नो नीति बिकाउन चर्को प्रयोग गरेका थिए ।

बिहीबार नै राष्ट्रपति ट्रम्पले ट्विट गर्दै लेखेका छन्, – ‘केट स्टन्लीको हत्या अभियोगमा लज्जास्पद फैसला १ हाम्रो मुलुकका नगरिकहरु किन अवैध आप्रवासनमाथि क्रुद्ध छन् भन्ने कुरामा कुनै आश्चर्य छैन ।’

अमेरिकाको आप्रवासन तथा भन्सार निकायले एक विज्ञप्ती जारी गर्दै यस मुद्धा सकिएपछि अभियुक्त गार्सिया जारेटेलाई आफ्नो नियन्त्रणमा लिएर देश निकाला गरिने जनाएको छ ।
अनुदार आप्रवासन नीति लिँदै आएका अमेरिकी महान्यायाधीवक्ता जेफ सेसेन्सले सन फ्रान्सिस्को शहरको स्यान्चुरी पोलिसी अर्थात् आप्रवासनको मामलामा संघीय सरकारसँग सहकार्य नगर्ने नीति लिएका शहरहरुको अनुदान रोक्का गर्ने चेतावनी दिँदैका आएका छन् । उनले पनि अदालतको फैसलापछि विज्ञप्ती जारी गरेका छन् ।

‘अपराधी आप्रवासीलाई संरक्षण गर्ने सन फ्रान्सिस्को शहरको निर्णयका कारण केट स्टेन्लीको रोकथाम गर्न सकिने हृदयविदारक निधन भएका हो ।’ सेसेन्सले भने, ‘‘मुलुकका सबै न्यायपालिकाले अपराधी अवैध आप्रवासीलाई भन्दा आफ्ना नागरिकको सुरक्षा चासोलाई प्राथमिकता दिउन् भन्ने विषयमा अमेरिकाको जस्टिस डिपार्टमेन्टले काम गर्दै जानेछ । म मुलुकका सबै समुदायका नेताहरुलाई यस घटनाबाट पाठ सिक्दै आफ्ना नागरिकको सुरक्षाका लागि अवैध आप्रवासीका मामलामा संघीय निकायसँग सहकार्य गर्न आह्वान गर्दछु ।’
यस फैसला सुनाउने जुरीका सदस्यहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न अस्वीकार गरेको अदालतकी प्रवक्ताले बताइन् ।

केट भनेर बोलाइने ३२ वर्षीय स्टेन्ली चिकित्सकीय सामानको व्यापार गर्थिन् । सन फ्रान्सिस्कोको पायर १४ पुलमा हिडिरहेका बेला गोली लागेकी उनको आफ्नै बुवाको काखमा निधन भएको थियो । अभियुक्त गार्सिया जारेटेले गोली प्रहार गरेको स्वीकार गरेका थिए तर, झुक्कीएर दुर्घटनाबश गोली चलेको जारेटेको जिकिर थियो ।
अदालतमा प्रस्तुत गरिएका प्रमाणमा स्टेन्लीलाई लागेको गोली कतै ठोक्किएर आएको देखिएको थियो ।

स्टेन्लीको हत्या हुँदाका समय अभियुक्त जारेटे सुकुम्बासीका रुपमा रहेका थिए भने उनीमाथि यसअघि नै धेरै आपराधीक अभियोग पनि लागेका थिए । हत्या भएको केबल एक महिनाअघि मात्रै उनी जेलबाट मुक्त भएका थिए । यस घटनालाई ट्रम्पले आफ्नो राष्ट्रपतीय चुनावको अभियानका क्रममा बढाईँचढाईँ गरेर प्रस्तुत गरेका थिए ।

सन् २०१६ को अगस्टमा आप्रवासनबारे दिएको महत्वपूर्ण सम्बोधनका क्रममा ट्रम्पले ‘अमेरिकी राजनीतिज्ञले मुलुकका सीमालाई सुुरक्षित बनाउने तथा मुलुकमा कानून कार्यान्वयन गर्ने दायित्व पूरा गर्न असफल भएका कारण अनगिन्ती निर्दोष अमेरिकीले ज्यान गुमाउनु परेको’ तर्क गरेका थिए ।

त्यसबेला ट्रम्पले ‘असफल नीतिका कारण मारिएका’ मानिसहरुको नाम पनि लिएका थिए । त्यसमध्ये एउटा नाम क्याथरिन स्टेन्लीको पनि थियो । त्यसबेला ट्रम्पले स्टेन्लीलाई ‘‘सन फ्रान्सिस्को स्यान्चुरी शहरमा पाँच पटक देशनिकालामा परेको अवैध आप्रवासीले मारेको’’ बताएको थिए ।

‘... र उनीहरुलाई थाहा थियो, (जारेटे) राम्रो मान्छे थिएन...’ ट्रम्पले भनेका थिए । धेरै पीडितका परिवार जस्तै स्टेन्लीको परिवारले भने घटनाबाट राजनीतिक फइदा लिएन । स्टेन्लीको परिवार निकै लामो समयदेखि सञ्चार माध्यमबाट पन्छिँदै आएको छ । तर, उनीहरुको अनुभवबाट राजनीतिक नेताले आफ्नो फइदाका लागि प्रयोग गरेको महसुस गर्दै आएका छन् ।
‘डोनल्ड ट्रम्पका लागि हामी उनलाई ठ्याक्कै चाहिनेजस्तै थियौँ – सुन्दर केटी, सन फ्रान्सिस्को शहर, अवैध आप्रवासी, दशौँ लाख पटक पक्राउ परेको, हिंसात्मक अपराध, आदी, आदी, आदी...’’ स्टेन्लीकी आमा लिज सुलिभानले सन फ्रान्सिस्को क्रोनिकल अखबारलाई भनिन्, ‘‘हामी ट्रम्पलाई जस्तो चाहिने उस्तै मसला थियौँ ।’

जुनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले ‘केट्स ल’ नामक विधेयक पास गरेको थियो । यस विधेयक अनुसार देश निकालामा परी फेरी अवैध रुपमा भित्रिएको आप्रवासीलाई कडा सजाय दिने व्यवस्था गरिएको थियो । दुई साता पछि यस विधेयक सिनेटमा पुगेर थन्कियो ।

यता अभियुक्त जारेटेको रक्षामा मुद्धा लडिरहेका वकिल भने अपराध र उनको आप्रवासन अवस्थाको तुलना गर्नु असान्दर्भिक हुने तर्क गर्छन् । ‘यसमा सबै स्पष्ट छ, उनले हत्या गरेको हुन् भने प्रमाणित हुनुपर्छ ।’’ जारेटेको पक्षधर वकिल म्याट गोन्जालेजले एक अन्तरवार्ताका क्रममा भने, ‘‘तपाई उसलाई उ अवैध आप्रवासी भएकै कारण जबरजस्ती दोषि साबित गर्न पाउनुहुन्न ।’
यद्यपी बिल ओरेयली, अन कउलटर लगायतका केहि अुदार विश्लेषकले भने अदालती फैसलाको विरोध गरेका छन् । ‘अवैध आप्रवासीले केट स्टेन्लीका हत्या गरेको भन्नेमा अदालत पनि स्पष्ट छ ।’ कउल्टरले ट्विट गरेकी छिन्, ‘यदि हाम्रो सीमानामा पर्खाल हुन्थ्यो भने उनी अझै जीवित नै हुन्थिन् ।’
 

प्रतिकृया दिनुहोस