Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
कर्मचारी काज सरुवामा आयोगले दिएन सहमति
बिहीबार, मंसिर ७, २०७४ ००:००:०० | Comments

काठमाडौं, मंसिर ७ । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको काज सरुवा गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टाभित्र सरुवाको सक्कल फाइल आयोगमा ल्याउन निर्देशन दिएको छ ।

 गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखेर पठाएको भन्दै आयोगले त्यसमा सहमति नदिने निर्णय गरेको जनाएको छ । 

गृह मन्त्रालयले काज सरुवा गरेका रा.प. द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना कर्मचारी नुवाकोट, भोजपुर र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइसकेकाले सरकारको निर्णयमा आयोगले सहमति नदिएको हो । 

निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचारसंहिता २०७२ मा स्पष्ट रहेको छ । 

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा सरकारले गत मंसिर ४ गते ६ जना कर्मचारीको काज सरुवापछि आयोगको सहमतिका लागि पत्र पठाएको उल्लेख छ । सरकारले निर्वाचन आचारसंहिता लागु भैसकेको अवस्थामा  कर्मचारी सरुवा गरेको भन्दै व्यापक आलोचना भएको थियो ।  

प्रतिकृया दिनुहोस