Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
नेपालको विकासको मूल पानीमा छ
बुधबार, कार्तिक ८, २०७४ ००:००:०० | Comments

 

 

नेपाललाई बाहिरी संसारमाझ चिनाउन भूमिका खेलेका भूगोलविद् टोनी हेगनकी छोरी डा. क्याट्रिन हेगन पेसाले हाडरोगविज्ञ हुन् तर बुबाको काम र रुचिले डोर्याउँदै उनलाई समाज विज्ञानको क्षेत्रमा ल्याइपुर्यायो । क्याट्रिन हेगन हिजोआज टोनी हेगन फाउन्डेसनकी अध्यक्ष छिन्, जसले नेपालसहित स्विजरल्यान्डमा समेत विभिन्न काम गर्ने गर्छ । उनै क्याट्रिन नेपाल आएको सन्दर्भ पारेर  नरेश ज्ञवालीले गरेको अन्तरवार्ताको सार :

कुरा सुरु गरौँ टोनी हेगनको फोटो प्रदर्शनीबाट, यो प्रदर्शनी किन राखिएको थियो ?
भूगर्भीय सर्भेको अतिरिक्त टोनी हेगनले नेपालको सुदूर क्षेत्रमा दस हजार किलोमिटरको यात्रा गर्दा उहाँले धेरै फोटोहरू लिनुभएको थियो । उहाँ नेपालको कुना–कुना घुम्ने, अध्ययन गर्ने पहिलो विदेशी हो । त्यसरी गाउँमा फोटो खिच्ने विदेशी पनि उहाँ नै पहिलो हो । आजसम्म ती विभिन्न ठाउँहरू फेरिइसकेका छन् । त्यसैले यो फोटो प्रदर्शनी सांस्कृतिक सम्पदा हुन सक्छन् । यसबाट तपाईंले सन् १९५० ताकाको नेपाल कस्तो थियो भनेर जान्न बुझ्न सक्नुहुन्छ । यो वर्ष मेरो बुबाको सय वर्षको जन्मोत्सव हो । त्यसैले नेपाल कला परिषदमा हामीले ठूलो प्रदर्शनी राखेका थियौँ । त्यहाँ राखिएका धेरै फोटाहरू अहिलेसम्म कतै नदेखाइएका पनि छन् । त्यो नेपाल आर्ट काउन्सिलमा नौ दिनसम्म चल्यो । 

फोटो लिइएको समय तपाईं पनि नेपाल हुनुहुन्थ्यो । त्यो बेलाको र अहिलेको नेपालमा के भिन्नता देख्नु हुन्छ ? केही परिवर्तनहरूबारे उल्लेख गर्न सक्नु हुन्छ ?
नेपालमा धेरै परिवर्तन भएको छ । तर परिवर्तन यहाँ मात्रै होइन, संसारका सबै ठाउँहरूमा भएका छन् । जब म सानो थिएँ, मेरो देश स्विजरल्यान्डको गाउँमा पनि राम्रो सडकथिएन । हाम्रो घर पनि सानो थियो । त्यो केही जस्तो लाग्दैन्थ्यो तर आज त्यहाँ व्यापक परिवर्तन छ । निश्चित रूपमा नेपालमा झनै ठूला परिवर्तन भएका हुन सक्छन् । किनभने सन् ५० को दशकको नेपाली समाज बाहिरका मानिसहरूका लागि बन्द समाज थियो । यहाँ सडक, एयरपोर्ट केही थिएन । मेरो बुबा ५० को दशकमा नेपाल आउँदा टे«नमा रक्सौल हुँदै हिँड्दै चन्द्रागिरी भञ्याङको बाटो हुँदै काठमाडौँ आउनुभएको थियो । त्यसको एक वर्षपछि मात्र काठमाडौंमा एयरपोर्ट बनेको हो । मलाई लाग्छ तपाईंको देश यो ६० वर्षमा मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो । त्यसैले यहाँ विकासको, आधुनिकताको विष्फोट नै भएझैँ लाग्छ । त्यसैले विस्तारै विस्तारै विकास पथमा लम्केको हाम्रो देशमा भन्दा यहाँ धेरै असमानाता देखिन्छ । मलाई लागेको सबैभन्दा ठूलो परिवर्तन त यहाँ मिडिया, मोबाइल र इन्टरनेट जस्ता कुरामा भएको देखिन्छ ।
 
सन् ५० को दशकमा तपाईं बुबासँग नेपाल आउँदाका केही सम्झनाहरू ?
म पहिलो पटक नेपाल सन् १९५२ मा आएको हो तर त्यसबेला म धेरै सानी थिएँ । त्यसैले मलाई त्यसबेलाको धेरै कुरा थाहा छैन ।
 
एउटा फोटोमा तपाईंको पूरै परिवार कुनै डाँडोमा बसेर बिहानको खाजा खाई घाम तापिरहेको जस्तो देखिन्छ, त्यो फोटोबारे केही बताइदिनु न ?
त्यो सन् १९५३ को फोटो हो । जति बेला हाम्रो पूरै परिवार नेपाल आएको थियो । त्यतिबेला भर्खर हामी हात्तीवनमा आएका थियौँ । 

के त्यतिबेला तपाईंको परिवारमा धेरैजसो कुरा नेपालबारे हुन्थ्यो ?
म त्यतिबेला निकै सानी भएको हुनाले मैले ती सबै कुराहरूमा खासै रुचि राखिनँ । सन् १९६२ मा बुबाले नेपाल छाड्नुभयो । त्यसपछि भने नेपालबारे हाम्रो घरमा धेरै कुरा हुन थालेको मलाई सम्झना छ । बुबा बङ्लादेश, सियाम (हाल थाइल्यान्ड) मा काम गरेर फर्केपछि मेरो भेट बाक्लियो । ती दिनहरूमा म आफ्नै तवरले छुट्टै रहन थालिसकेकाले बुवासँग निकै पातलो भेट हुन्थ्यो । वास्तवमा ममा नेपालबारेको रुचि सन् ९० को दशकमा बुबासँग नजिकबाट संवाद हुन थालेदेखि हो । म उहाँलाई भेट्न बारम्बार नेपाल आइरहन्थेँ । भेटमा हामी यहाँका समस्याबारे घन्टौँ गफिन्थ्यौँ । बुबा मेरा लागि नेपालबारेको इन्साक्लोपिडिया नै हो । त्यसैले आजका दिनमा पनि उहाँका खोज र अध्ययनका सबै सामग्रीहरू मेरो घरमा छन् । मेरो जीवनमा उहाँको अस्तित्व झनै गाढा भएर गढेको छ । 

त्यसो भए उहाँले नेपालबारे कस्ता कुरा बढी गर्नु हुन्थ्यो ? जस्तै नेपालको विकासका समस्या, योजना, आयाम अथवा यहाँको प्राकृतिक सौन्दर्य केका बारेमा धेरै कुरा गर्नुहुन्थ्यो ?
त्यतिबेला उहाँ नेपालमा साना जलविद्युत परियोजनको महत्वकाबारे बढी कुरा गर्नु हुन्थ्यो । उहाँ अरुण जस्तो ठूला परियोजनाको विपक्षमा हुनुहुन्थ्यो । उहाँ यस्तो परियोजना धेरै महँगो पर्ने र यसले उत्पादन गर्ने विद्युत सबै भारत निर्यात गरिने हुँदा यसले स्थानीयलाई केही फाइदा नहुने मत राख्नु हुन्थ्यो । यस्तो परियोजनाको आडमा नेपाल भारतमाथि झनै परनिर्भर हुने उहाँको विश्वास थियो । त्यसैले उहाँ त्यसबेला अरुण परियोजनालाई मनै पराउनु हुँदैन्थ्यो । नेपाललाई साना जलविद्युत आयोजनाले नै फाइदा हुने उहाँको दरिलो विश्वास थियो ।  

उहाँ साना मात्रै होइन मझौला आकारको जलविद्युत परियोजना पनि सञ्चालन गरिनु पर्ने मत राख्नु हुन्थ्यो । त्यसैले उहाँले कर्णाली, भेरी क्षेत्रमा केही जलविद्युत आयोजनाको योजनाको थालनी गर्नुभयो । उहाँको कुराको अर्को पाटो भनेको किसानप्रति गरिएको बेवास्ता हुन्थ्यो । त्यसो त नेपालमा मात्र होइन संसारभरी किसानहरूले गरेको कामको अवमूल्यन भइरहेको थियो । उहाँको धेरै कुरा त्यसमा केन्द्रित हुन्थे । यहाँका किसानहरूले आफ्नो उब्जनीको उचित मूल्य नपाएको तर त्यही भारतीय किसानको उब्जनी किन्नुपर्ने अवस्थाको बारेमा पनि उहाँ निकै गम्भीर तवरले सोच्ने गर्नु हुन्थ्यो भन्ने लाग्छ ।

तपाईं हाडजोर्नी विशेषज्ञका रूपमा बुबाको किसानप्रतिको यो प्रेमलाई कसरी लिनु हुन्छ ?
किसानहरू सधैँजसो र सबैजसो देशमा बेवास्तामा परेका छन् । तपाईं भारतमा पनि यही समस्या देख्नुहुन्छ । उद्योगहरू विकासित हुँदै गएका छन् तर उद्योग जतिकै महत्वको खेतीकिसानीप्रति ठूलो बेवास्ता गरिएको छ । यदि यसै गरी हामीले किसानप्रति बेवास्ता देखाउने हो भने भविष्यमा पिउनलाई पुग्दो पानी र पर्याप्त खाना हुनेछैन । त्यसैले यो कुरालाई तपाईंले ख्याल गर्नुपर्छ भन्ने धारणा उहाँको थियो । उहाँ नेपालको सन्दर्भमा जहिलै के भन्नु हुन्थ्यो भने नेपाल पानीको प्रचुरताका हिसाबले एउटा सम्पन्न राष्ट्र हो । नेपाल एसियाली राष्ट्रहरूकै लागि पानीको ठूलो मुहान हो । हामीले यसको संरक्षणमा ध्यान दिनुपर्छ । आफ्नो जीवनको अन्तिमकालमा उहाँ जङ्लको संरक्षण र विस्तारमा ध्यान दिनुपर्ने कुरा दोहर्याइ रहनुहुन्थ्यो । 

एउटा भिडियोमा हामीले टोनी हेगन नेपालका गाउँहरूको सयौँ किलोमिटरको यात्रामा रहेको देख्न सकिन्छ । त्यहाँ एउटा दृश्य निकै रोचक छ, जहाँ उहाँले आफ्ना सहयोगीहरू बिरामी परेमा खुल्ला हातले विभिन्न खाले अपरेसन आफैले गरेको देखिन्छ । त्यो दृश्यको केही आलोचना पनि भयो कि कसरी उहाँले खुल्ला र फोहोर हातले अपरेसन गर्नुभयो भनेर । त्यो दृश्यका बारे तपाईंको सोचाई के छ?
आजको दिनमा तपाईं त्यसरी केही पनि गर्न सक्नु हुन्न । किनभने आज तपाईंसँग धेरै सुविधाहरू छन् । तर त्यति बेला त उहाँ निकै नै दुर्गम गाउँहरूमा हुनुहुन्थ्यो र त्यहाँ कुनै सुविधा थिएनन् । यदि त्यहाँ केही अप्ठेरै पर्ने गरी ‘इन्फेक्सन’ भएको छ भने तपाईंले त्यो भाग काटिदिए मात्र पनि त्यसले केही निकास पाउँछ । आज यी सबै कामहरूका लागि हेल्थपोस्ट छ । हातमा लगाउने ‘ग्लब्स्’ छ । तर जतिबेला उहाँ यात्रामा हुनुहुन्थ्यो हामी सजिलै बुझ्न सक्छौँ कि मानिसहरूसँग त्यसतिबेला निकै थोरै सामग्री हुन्थे । त्यसैले मलाई लाग्छ उहाँले आफूले सकेको जति त्यतिबेला गर्नुभयो । 

हो पक्कै पनि आज पहिलेको तुलनामा अवस्था निकै फेरिएको छ । 
पूर्णतः भिन्न छ । 

तपाईंले यो बदलाबलाई कसरी हेर्न भएको छ ? नेपालका दुर्गम गाउँहरूमा गरिबका लागि आज औषधिमूलोको अवस्था फेरिएको छ कि अझै फलामका चिउरा चपाउनु सरह छ ?
आजको अवस्थामा निकै सुधार भइसकेको छ तर पनि अझै दुर्गम गाउँहरूमा यो अवस्था निकै गाह्रो छ । मलाई लाग्छ यहाँ धेरै असमानता छ । काठमाडौँका ठूला निजी अस्पतालहरू महँगा छन् र गरिबको पहुँचभन्दा बाहिर छन् । काठमाडौँ बाहिरका अस्पताल साना छन् र यी दुवैबीचको गुणस्तरमा धेरै भन्दा धेरै भिन्नता छ । यो असमानताका बीच सरकारले सुदूरक्षेत्रमा डाक्टर पठाउन सकेको छैन । त्यसैले मैले स्वास्थ्यको क्षेत्रमा अझै पनि समस्या देखेकी छु । 

टोनी हेगन जति बेला अध्ययनका लागि यात्राका क्रममा हुनुहुन्थ्यो विभिन्न टिप्पणी भए तर पछि उहाँको कामको उचित मूल्याङ्कन पनि गरियो । आजका दिनमा टोनी ​हेगनलाई नेपालको अन्वेषण गर्ने पहिलो विदेशी व्यक्तिका रूपमा लिइन्छ । तपार्इं आफैले चाहिँ हिजोआज कस्ता टिप्पणी पाउनुहुन्छ ?
धेरै मान्छेहरू टोनी हेगनलाई नेपाललाई बाहिरी संसारसँग परिचित गराउने व्यक्तिको रूपमा कुरा गर्छन् । उहाँले खिचेको फोटोग्राफीको कुरा गर्छन् । यो एउटा पक्ष हो । तर मलाई लाग्छ उनको सबैभन्दा महत्वपूर्ण काम उहाँले संयुक्त राष्ट्रका लागि लेखेको पहिलो रिर्पोट थियो, जुन भूगर्भबारे होइन कि विकास परियोजनाबारे थियो । उहाँले यहाँ आएको केही समयमै के महशुस गर्नुभयो भने यहाँका मानिसहरूको सुरिक्षित आवागमनका लागि सबैभन्दा महत्वपूर्ण कुरा झोलुङ्गे पुल हो । त्यसैले धेरै झोलुङ्गे पुलको परियोजना स्विस सहयोग सञ्चालनमा आए । त्यसपछि उहाँले ‘चीज फ्याक्ट्री’को महत्वबारे कुरा गर्नुभयो ।
 
तपाईंले नेपालमा विकासको अवधारणा उहाँबाट आयो भन्न खोज्नु भएको हो ?
हो ।

तपाईंलाई विकासको त्यो अवधारणाले नेपालमा अझै काम गरिरहेको झैँ लाग्छ ?
हो, यो अवधारणाले अहिले धेरैभन्दा धेरै काम गरिरहेको जस्तो मलाई महसुस हुन्छ । सन् १९६२ जतिबेला मेरो बुबाले नेपाल छाड्नुभयो थोरै भए पनि नेपालीहरू बेखुस थिए । किनभने भूगर्भविदका रूपमा उहाँले यहाँ तेल नरहेको बताउनुभयो । उहाँले यहाँ बहुमूल्य धातुको खानी नभएको स्पष्ट पार्नुभयो । उहाँले यो देशको सम्पन्नता पानीमा मात्र देख्नुभयो । नेपालीहरूले उहाँलाई विश्वास गरेनन् । उहाँ राम्रो भूगर्भविद नभएको भनियो । केही अरू भूगर्भविद् आउने र तिनले तेल पत्ता लगाई छाडनेछन् भनियो । उनीहरूले पनि यहाँ केही तेल रहेको तर त्यसलाई निकाल्न निक्कै महँगो पर्ने कुरा बताए । त्यसरी निकालिएको तेलले खर्च धान्न नसकिने समेत बताए । 

हेगनले नेपालको पानी नै सबैभन्दा महत्वपूर्ण रहेको र यसको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको तपाईंको भनाइ होइन त ?
निश्चय पनि यहाँको जलविद्युत धेरै महत्वपूर्ण छ । त्यसका लागि तपाईंसँग पानी छ । उहाँ सडक निर्माणको विरोधी होइन । उहाँ हरित सडकको पक्षमा हुनुहुन्थ्यो जसले जनतालाई रोजगारी देओस । उहाँ सडकले मानिसहरूलाई रोजगारी दिनुपर्छ भन्ने मत राख्नु हुन्थ्यो । सडकलाई रोजगारीसँग कसरी जोड्ने भन्ने कुरा उहाँको थियो । तर धेरै वर्षपछि ग्रामीण क्षेत्रमा सडक पुगेपछि त्यहाँका मान्छेले काम नपाएपछि सडक मान्छेहरूलाई काठमाडौँ र ठूला सहरहरूमा बोक्ने साध्यका रूपमा मात्र प्रयोग भयो र यो सही तरिका होइन । मान्छेहरूले आफ्नै ठाउँमा उत्पादन कार्य गर्न पाउनु महत्वपूर्ण हो । मैले यहाँ पाइने स्याउ कहाँका हुन् भनेर सोध्दा चीन र कास्मिरका हुन् भन्ने सुन्दा विल्कुलै चिन्तित हुन्छु । यहाँको स्याउ किन छैन भनेर सोध्दा यातायात अझै सहज छैन भन्ने जवाफ पाउँछु । तर यो गलत विधि हो । 

तपाईं अर्थोपेडिक सर्जन तर विकासका मुद्दामा निकै चाँसो राख्नु हुन्छ, यसमा कसरी रुचि पैदा भयो ?
म प्रशस्त घुम्छु । प्रशस्त पदयात्रा गर्छु । म गाउँ गाउँमा घुमेकी छु । मेडिसिन एउटा कुरा हो तर मेरो बुबाको सबै सामग्री मेडिसिनसँग सम्बन्धित छैनन् । यी सामग्रीमा काम गरिरहँदा ममा चाख पैदा भयो । 

त्यसो भए यो टोनी हेगनले गरेका कामसँग सम्बन्धित छ ?
हो ।

अन्त्यमा टोनी हेगन फाउन्डेसनबारे कुरा गरौँन । हिजोआज यो संस्थाले के काम गर्दैछ ?
हामीसँग केही परियोजना छन् । मेरो बुबाको अन्तिम चाहना भनेको नेपालको संसदको कार्यलाई सघाउने, त्यसैले हामीले केही काम गरिरहेका छौँ । अर्को पक्ष टोनी हेगन फाउन्डेसन स्विजरल्यान्डमा पनि छ । अब हामी केही नेपालीलाई स्विजरल्यान्डमा कोर्स गर्न फेलोसिप दिनेबारे समेत विचार गरिरहेका छौँ । जस्तै विगतमा हामीले नेपालमै पनि अनुसन्धानका लागि फेलोसिप दिने गथ्र्याैँ । मलाईं अझै पनि सम्झना छ बुबाले जातीय अल्पसङ्ख्यकलाई विशेष ध्यान दिनुपर्छ है भन्नु हुन्थ्यो । त्यसैले हामीले यसमा काम गर्न खोजिरहेका छौँ । 

प्रतिकृया दिनुहोस