Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
मंगलबार, आश्विन २४, २०७४ ००:००:०० | Comments

 

 

काठमाडौँ, २४ असोज । मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्न र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन पहल गर्ने एनआरएनए मध्यपुर्वका उम्मेदवारहरुले साझा मुद्धा बनाएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन र महाधिबेशनले सन् २०१७–१९ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले मध्यपूर्वका उम्मेदवारहरुले कामदारको हक हितका विषयलाई प्रमुख एजेन्डा बनाएका छन् ।
बैदेशिक रोजगार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए मध्यपूर्वका उम्मेदवारहरुले श्रमिकमैत्री एनआरएन बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । 
एनआरएनए मध्यपूर्व संयोजक तथा सचिव पदका प्रत्याशी डिवी क्षेत्रीले मध्यपुर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए । उनले भने–‘ मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अव समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।’ 
कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजकका उम्मेदवार तथा एनआरएनए आइसीसी सदस्य राजेन्द्र कुमार (आर.के.) शर्माले मध्यपूर्वका श्रमिकको हकहीत र अधिकारका लागि प्याकेजमा योजना बनाएर नै काम गर्ने बताए । मध्यपूर्वमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउनका लागि र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन विशेष पहल गर्ने शर्माको भनाई छ । 

उनले अर्को प्रसंगमा कतारमा धेरै नेपालीले सरकारले तोके अनुसार तलव नपाउनुमा नेपाल सरकार समेत जिम्मेवार भएको बताए । उनले भने–‘सरकारले कतारमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक लागु गर्यो, तर कार्यन्यनको तर्फ ध्यान जान सकेन ।’
कार्यक्रममा मध्यपुर्व उपसंयोजकका उम्मेदवार प्रविन गुरुङले लामो समयदेखि आफु सामाजिक कार्यमा कृयाशिल हुदै आएको र अझ संगठनमा वसेर धेरै काम गर्नका लागि मध्यपुर्वको तर्फबाट उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताए । उनले भने–‘विदेशमा सिकेको सीप र पूँजीलाई एनआरएन अभियानमा लागाउन र एनआरएनलाई मध्यपूर्वमा सबैको बनाउनका लागि मेरो उम्मेदवारी हो ।’ 
कार्यक्रममा गैरआवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले (नबिन) सरकारले निःशुल्क भिसा र टिकटको निर्णय ल्याएपनि त्यो व्यवहारिक हुन नसकेको धारणा राख्दै कतारमा न्यूनतम पारिश्रमिक ६० प्रतिशत कम्पनीहरुले नदिने बताए । 
कार्यक्रममा पूर्व मध्यपूर्व संयोजक तथा उपाध्यक्ष पदका उम्मेदवार नरेन्द्र भाटले मध्यपूर्वका समस्या नेपालबाट नै शुरु हुने भएकाले नेपालमा नै बिशेष ध्यान दिन जरुरी गरेको बताए । 


अधिकांश नेपालीहरु वैदेशिक रोजगारमा रहेको मध्यपूर्वबाट ५ सय भन्दा बढि एनआरएनहरु विश्व सम्मेलनमा भाग लिन आउँदै छन् । मध्यपूर्वका धेरै भोटर भएकाले अहिले विश्वका एनआरएनहरुले मध्यपूर्वलाई आफ्नो पक्षमा लिन खोजिरहेको भएता पनि मध्यपूर्व आफै सबै पदमा नेतृत्व लिन कस्सिरहेको छ ।


 बैदेशिक रोजगार प्रत्रकार समाजका अध्यक्ष निरन्जन ज्ञवालीले मध्यपूर्वका सवै उम्मेदवारका आकांक्षीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको तर केहीसँग सम्पर्क हुन नसकेको जानकारी दिए । समाजका महासचिव हरी थापा र सचिव उद्वव भट्टराईले मध्यपूर्वका आवाजलाई संचारजगतमा उठाउँदै आएको जानकारी गराए । 

प्रतिकृया दिनुहोस