Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
अमेरिकाद्वारा नेपाललाई हालसम्मकै ठूलो सहयोग प्रदान
शुक्रबार, भाद्र ३०, २०७४ ००:००:०० | Comments

वासिंटन डीसी (अमेरिका) काठमाडौं, ३० भाद्र । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो दुई पक्षीय सहयोग उपलब्ध गराएको छ । अमेरिकाले एकैपटक ५० अर्बभन्दा बढी (५ सय मिलियन अमेरिकी डलर) उपलब्ध गराएको हो । उक्त सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका हुन् । 

अमेरिकाले दिने ५० अर्ब र नेपाल सरकारले राख्ने १३ अर्ब (१ सय ३० मिलियन अमेरिकी डलर) विद्युत्को प्रसारण लाइन र सडक मर्मतमा लगानी हुनेछ । गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा सहयोग गर्न अमेरिकी सरकारले स्थापना गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) अन्तर्गत नेपालले उक्त सहयोग पाएको हो । सम्झौताअनुसार पाँच वर्षमा काम गरिसक्नुपर्नेछ । एमसीसीको सूचीमा परेका मुलुकले ठूला पूर्वाधारका लागि कम्तीमा ६ देखि ६० अर्ब रुपैयाँसम्मको अनुदान सहायता पाउँछन् । अमेरिकी उपविदेशमन्त्री जोहन जे सुलिभानले नेपाललाई यो सहयोग गर्न पाएकामा खुसी व्यक्त गरेका छन् । उनले यो सम्झौतापछि दुई पक्षीय सम्बन्धको ७० वर्षमा बलियो यात्रा आरम्भ भएको बताए । 

असल शासन, आर्थिक स्वतन्त्रता र आफ्ना नागरिकमा लगानी गर्ने कार्यप्रति प्रतिबद्ध सरकारसँग मात्र एमसीसीले साझेदारी विकास अघि बढाउने गरेको छ । सहयोग लिने मुलुकको प्राथमिकता र तजबिजीमा परियोजना अघि बढ्ने भएकाले यसलाई ‘डोनर ड्रिभन’ नभई ‘कन्ट्री ड्रिभन’ सहयोगका रूपमा लिइएको बताए । उनले सहयोगका लागि अमेरिकी सरकारको सराहना पनि गरे  । उनले उक्त सहयोग योजनाबद्ध ढंगले उपयोग गरेर अघि बढ्न नेपालसरकार तयार रहेको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा ७२औं संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका आउनु चार दिनअघि यस्तो सम्झौता डीसीमा भएको हो । एमसीसीले अमेरिकी सहयोग नियोग यूएसएआईडीको भन्दा फरक शैलीमा उपलब्ध गराउनेछ । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको विभिन्न सूचांक राखेर त्यसमा उत्तीर्ण भएपछि मात्र सहायता दिने एमसीसीको अन्तिम निर्णय अमेरिकी कंग्रेसले पारित गरेर मात्र सम्झौता भए को हो ।एमसीसीबाट दक्षिण एसियाकै सबैभन्दा ठूलो सहयोग हो । 

अमेरिकी कंग्रेसको प्रतिपक्ष दलसहितको सहमतिमा अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ वर्षअघि स्थापना गरेको एमसीसी नेपालको विकासमा पर्याय हुने भएको छ । 

गत असारमा दुई देशका प्रतिनिधिहरू बसेर टुंगो लागेको हो । एमसीसीले तीन वर्षअघि नै नेपाललाई सूचीमा राख्दै २ सय मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता गरेको भए पनि लगातारको पहलमा यो बढेको हो । सन् २०१४ डिसेम्बरमा अमेरिकाले नेपाललाई सहयोग ‘रोस्टर’ मा राखेरै विभिन्न क्षेत्रबारे अध्ययन र छलफल गरेको थियो । जनतामा पहुँच र गरिबी निवारणका लागि प्रसारण लाइन र सडक सञ्जाल विस्तार नै रोजिएको हो ।

प्रतिकृया दिनुहोस