Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
भारतीय सेना अन्ततः दोक्लमबाट पछि हट्यो
सोमबार, भाद्र १२, २०७४ ००:००:०० | Comments

काठमाडौं, १२ भदौ । भारतले अन्ततः दोक्लम क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेको छ। चीनसँगको साढे दुई महिना लामो तनाव अन्त्य गर्दै ब्रिक्स सम्मेलनमा भाग लिन जाने केही दिनअघि भारतले आफ्ना सेना हटाउने निर्णय गरेको हो।

दोक्लम क्षेत्र चीन र भुटान दुवैले आफ्नो भूमि भन्दै आएका छन्। दोक्लममा सेना पीएलएले सडक निर्माण गर्न थालेपछि भुटान र भारतबीचको सीमा पार भारतीय सेना दोक्लम क्षेत्र गएका थिए। भारतले भुटानको अनुरोधमा आफ्ना सेना त्यहाँ गएको जनाएपनि भुटानले त्यसबारे प्रस्टसँग बोलेको छैन।

आफ्नो सीमा क्षेत्र नाघेर भारतीय सेना दोक्लम आएकोमा कडा विरोध गर्दै चीनले चेतावनी दिदैं आएको थियो।

यसैबीच चीन र भारतबीच दोक्लम तनावलाई लिएर भएका धेरै वार्ताहरुमा भारतले दुवै देशका सैनिक केही पछि हट्ने प्रस्ताव राखेको भएपनि चीनले त्यसलाई सिधै अस्वीकार गरेको थियो।

भारत अन्ततः दोक्लमबाट एकतर्फीरूपमा आफ्ना सेना हटाउन बाध्य भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै भारतीय सेना आफ्नो सीमा क्षेत्रभित्र फर्किसकेको जनाएको छ।

आफ्ना सेनाले भने दोक्लम क्षेत्रमा गस्ती गरिरहने चिनियाँ अधिकारीले बताएका पनि रोयर्टसमा उल्लेख छ।

प्रतिकृया दिनुहोस