Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन
बिहीबार, साउन १२, २०७४ ००:००:०० | Comments

सुजता गोले तामाङ -

मलाई सानै उमेरदेखि समाज सेवा गर्ने मन थियो । मेरो ममी बितेको एक वर्ष मात्रै भयो । ममीले सुसाइड गरेपछि मानसिक रुपमा विक्षिप्त भएकी थिएँ । ममीको मृत्युपछि म १७ दिनसम्म मेन्टल अस्पताल बसेँ । 

काठमाडौं आएको एक वर्ष मात्रै भयो । कक्षा आठसम्म दोलखामै पढेकी हुँ । घरमा दुःखद घटना घटेपछि बुवाले मलाई पढ्नका लागि काठमाडौं ल्याउनुभयो । म घरमा हुँदा पनि अरुको दुःख पीडा हेर्न सक्दिनथेँ । अरुको दुःखलाई आफ्नै दुःखजस्तो ठान्थे । आफ्नोभन्दा अरुको पीडामा मेरो आँखाबाट आँशु आउँथ्यो । 

म बौद्धस्थित महेन्द्र बौद्ध विद्यालयमा कक्षा नौमा अध्ययन गर्दछु । आइतबारको दिन थियो । एक्स्ट्रा क्लास पनि थियो ।  साथीहरुसँग म घर फर्कँदै थिएँ । बौद्ध स्तुपाको चारैतर्फ जलमग्न थियो ।  हामी जाँदै थियौँ, बाटो ढलजस्तै थियो । एकजना बुवा ह्विल चेयरमा हुनुहुन्थ्यो । उहाँले ह्विल चेयर अगाडि

म उहाँलाई सहयोग गर्न गएँ । उहाँलाई तान्न खोजेँ ।  उहाँले पर्दैन भन्नुभयो ।  मलाई उहाँ आफै बाटो तर्न सक्नुहुन्न जस्तो लाग्यो । मैले जिद्धी गरेर नै उहाँलाई बाटो तारिदिएँ ।  मलाई त्यहाँ फोटोपत्रकार थिए भन्ने थाहा थिएन । 

म चर्चामा आउनका लागि केही काम गर्दिन । मलाई विद्यालय र घरको वातावरणले समाजसेवाको भावना जगाएको हो ।  शिक्षकले त एउटा बाटो देखाइदिने मात्रै हो । कस्तो बाटो हिँड्ने भन्ने त विद्यार्थीले नै रोज्ने हो । सबै विद्यार्थीले त्यसो त गर्दैनन् । कोही विद्यालयमा आएर हल्ला मात्रै गरेर बस्दछन् । 

मैले सहयोग गरेकाले मेरो चर्चा भयो भनेर म मख्ख पर्दिन । यो त केही होइन, मलाई ठूला ठूला समाजसेवाको काम गर्नु छ । सुजताले यस्तो काम गर्‍यो भनेर अरुले पनि यस्तै काम गर्नु पर्छ भन्ने छैन ।  सबैले एउटै काम गर्नु पर्छ भन्ने छैन । 

हाम्रो देशमा धनी गरिब बिचमा एकदमै विभेद गरिन्छ । गाउँ–गाउँमा कति मान्छे दुःख पाइरहेका छन् । विभिन्न समस्याले पीडित छन् ।  त्यहाँ न त राज्यको कुनै निकायको आँखा पुग्छ, न त मिडियाको नै ध्यान पुग्छ । पढेर विद्या आर्जन गरेर कोही ठूलो हुँदैन । प्रमाणपत्रमा राम्रो नम्बर ल्याएर मात्रै केही हुँदैन, मान्छेको चरित्र राम्रो हुनुपर्‍यो । 

चारित्रिक प्रमाणपत्र चाहिँ राम्रो हुन आवश्यक छ । हामीले एक अर्कासँग दुःख बाँड्यौ भने मात्र देश अगाडि बढ्न सक्दछ । सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्ने हो भने देश समृद्ध हुन्छ । 

तर दुःखको कुरा, नेपालीहरुमा गफ मात्रै गर्ने बानी रहेको छ । काम कम गर्ने, कुरा बढी गर्ने बानी छ हाम्रोमा । आइतबार पनि त्यो बुवालाई बाटो काट्न समस्या भएको थियो । तर सबै रमिता हेरेर बसिरहेका थिए । सबैले उहाँको दुःखमा रमाइलो मानिरहेका थिए । मान्छेहरु सबल दुर्बल, धनी र गरिब, माथिल्लो जात र तल्लो जात भनेर भेदभाव गर्दछन् । त्यो एकदमै नराम्रो कुरा हो । त्यसैले गर्दा पनि हामी पछि परेका हौँ । 

म भविष्यमा शिक्षिका बन्न चाहन्छु । म बिहे गर्ने सोचमा छैन । म अनाथ बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्न चाहन्छु । म कोही पनि आमा बुवाको जस्तो माया पाउनबाट वञ्चित नहोस भन्ने चाहन्छु । म आफै पनि ठूलो पीडाबाट गुज्रिएँ । तर के गर्नु भैसकेको चिजलाई रोक्न सकिन्न र रोएर कराएर के नै पो हुन्छ र ? ममीको मायामा पागल नै भएको हो । पछि मैले आफूलाई सम्हालेँ । मैले ममी गुमाएको पीडालाई बिर्सेर आफूलाई सकारात्मक बाटोमा हिँडाउने निर्णय गरेँ । 

खै म अरुको दुःख देख्नै सक्दिन । म कुनै कामको लागि हिँडिरहेको छु भने पनि बिर्सन्छु । हिजो मात्रै त्यस्तै भयो । बाटोमा हिँडिरहेको थिएँ । पानी परिरहेको थियो । एकजना दाइ बाटोमै सुतिरहनुभएको थियो । नजिकै गएर सोधेँ । उहाँ बिरामी हुनुहुँदोरहेछ । मसँग त मोबाइल थिएन । बाटोमा दुईजना दाइ आउनुभयो । उहाँहरुलाई त्यो बिरामी दाइको आफन्तलाई खबर गरिदिन आग्रह गरेँ । 

हामी सबैले यस्तै सोच्ने हो भने देश अगाडि बढ्छ । हामीले विद्या आर्जन गरेर मात्रै हुँदैन । आफूले प्राप्त गरेको विद्यालाई हामीले समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्दछ । आफूलाई बदल्दै, परिवार समाज र समग्र देशको विकास र परिवर्तन गर्न सकिन्छ ।  

(आइतबार वर्षाका कारण जलमग्न भएको बौद्ध स्तुपानजिक अपांगता भएका एक व्यक्तिलाई उद्धार गरेपछि महेन्द्र बौद्ध माविका विद्यार्थी सुजता गोले तामाङ चर्चामा आइन् । उनीसँग उज्यालोका उपेन्द्रराज पाण्डेयले गरेको कुराकानिमा आधारित ।) 

प्रतिकृया दिनुहोस