Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
रुबिभ्यालीलाई नमुना गाउँपालिका बनाउँछु : प्रमुख चेरुङ तामाङ
सोमबार, आषाढ २६, २०७४ ००:००:०० | Comments


उत्तरी धादिङको साविकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) मिलेर अहिले रुबिभ्यालि गाउँपालिका बनेको छ । के हो रुबी भ्याली ? झट्ट नाम सुन्दा कुनै सहरजस्तो लाग्छ । यो तिब्बतसँग जोडिएको दुर्गम तर, मनोरम हिमाली क्षेत्र हो ।

स्थानीय तह पुनर्संरचनामा साविकका लापा, तिप्लिङ र सेर्तुङ गाविसलाई जोडेर रुबिभ्याली गाउँपालिका बनाइएको हो । यस क्षेत्रमा बहुमूल्य धातु रुबी पाइने भएकाले नाम रुबी भ्याली राखिएको हो । रुबी भ्यालीको कुल जनसंख्या ९ हजार ५६५ छ, यो ४ सय १ वर्ग किलोमिटरमा भूगोलमा फैलिएको छ । यस गाउँपालिकामा ६ वटा वडा छन् ।

दुर्गम भए पनि रुबी भ्याली रमणीय छ । पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गणेश हिमालको ट्रेकिङ रुट पनि यहीँ पर्दछ । कस्तुरी, रेडपाण्डा र डाँफे लगायत विभिन्न लापउन्मुख जिवजन्तुहरु यहाँ देख्न पाइन्छ । करिब २०० मेघावाट विद्युत उत्पादन क्षमता रहेकोमा केही जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । रुबी भ्याली बौद्ध धर्माबलम्वी बहुल क्षेत्र हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका प्रमुखमा विजयी भएका चेरुङ तामाङले निर्वाचन जितेसँगै गाउँको पर्यटन विकासमा विशेष जोड दिने बताएका छन् । उनका बुबा प्रधानपञ्च र गाविस अध्यक्ष बनिसकेका व्यक्ति हुन् । चेरुङलाई राजनीतिमा खासै चासो थिएन । उनी भन्छन्– आफ्नो जन्मभूमि अर्थात गाउँठाउँको विकासको लागि मैले पनि केही गर्ने मौका पाउँछुकी भनि आफू राजनीतिमा होमिएको बताए । पारिवारिक वातावरणले पनि राजनीतिमा होमिन बाध्य तुल्यायो ।’ 

‘धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका पर्यटनको इपिसेन्टर पनि हो’, तामाङले भने – ‘यहाँका हिमालहरुले अझै एक्सपोजर पाउन सकेका छैनन् । मेरो उद्देश्य नै रुबिभ्याली लगायत समग्र धादिङ जिल्लालाई पर्यटनको प्रमुख गन्तव्य बनाउने हो ।’

पर्यटकीय विकासका लागि प्रमुख समस्या नै पूर्वाधारको विकास भएकाले त्यसको विकासमा अहोरात्र खटिने तामाङको प्रतिवद्धता छ । उनले आगामी पाँच वर्षभित्रमा नगरपालिका बनाउन मिल्ने संरचना तयार पार्ने योजना पनि सुनाए । गाउँपालिका प्रमुख तामाङले जडिबुटी प्रशोधन केन्द्रलगायत गाउँपालिका क्षेत्रका किसानहरुलाई सिँचाइको उचित व्यवस्था गरी वैज्ञानिक कृषिप्रणालीमा जोड दिने बताए । 

पशुपालन क्षेत्रको विकास गरी कृषकलाई सहुलियत एवं अनुदानको व्यवस्था गर्ने तामाङको योजना रहेको छ । स्वास्थ्य उपचारको लागि तामाङले बिरामीको पीडालाई ध्यानमा राखी गाउँमै सक्दो उपचारको व्यवस्था गर्ने बताए। उनले भने, ‘सुत्केरी महिला, विभिन्न प्रकारका गम्भीर विरामीहरु उपचार नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य छन् । त्यसको निवारणका लागि पनि दिनरात नभनी खटिनेछु ।’ शिक्षाको गुणस्तरतामा विकास गरी स्वरोजगारमूलक एवं प्रविधिमैत्री शिक्षाप्रणालीमा जोड दिनका लागि दिलोज्यानले लाग्ने तामाङको भनाई छ । 

उनले गाउँपालिकाभित्र खेल मैदान नै नभएकाले सुविधा सम्पन्न मैदान निर्माण गरी खेलकुदको विकासमा जोड दिने, शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्ने पनि बताए । 
तामाङले युवा जनशक्तिको पलायनलाई रोक्नका लागि गाउँपालिका पहाडी इलाका भएकाले मझौला उद्योग कलकारखानाको निर्माण गरी स्वरोजगार बनाउने योजना रहेका बताए । खानेपानीको अभावलाई विशेष अध्ययन गरि हरेक वडामा खानेपानीको व्यवस्था गरिने पनि बताए । उनले पाँच वर्षमा साना जलविद्युतको उत्पादनमा जोड दिइने र धुवाँरहित गाउँपालिका निर्माण गर्ने योजनासमेत बताए ।
उनले अन्तमा थपे आफूलाई गाउँठाउँको विकासको लागि सम्पूर्ण राजनीतिक दलहरुले पनि साथ दिने र अगामी दिनहरुमा सहकार्यका साथ अघि बढेर जाने बताए ।

प्रस्तुतिः योगेन्द्र तामाङ

प्रतिकृया दिनुहोस