Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
आज तिम्रो यादमा आमा
सोमबार, फाल्गुण २३, २०७३ ०४:३३:१८ | Comments
पूनम थिङ्ग, न्युयोर्क

वर्षौंदेखि कोर्दै मेट्दै गर्ने क्रम जारी छ आमा 
किनकि आजसम्म तिमीलाई परिभाषित गर्ने मिठो शब्दहरुको खोजीमा थिए 
र आज पनि छु 
कहिले लाग्यो प्यारी आमा भनु त 
कहिले लाग्यो मायाको खानी भनु
तर 
सधै यी मेरो प्रशंसाहरु अधुरो झैँ लाग्थ्यो 
सायद होलान पनि मेरो माया ममता अलि खस्रो 
मलाई थाहा छ आमा आज पनि म तिम्रो लागि त्यही कान्छी छोरी हुँ 
त्यही सानी छोरी हुँ 
मेरो घुर्कीमा तिमी डराए झैँ गरि मेरो ईच्छाहरु पुरा हुँदा म दंग
त्यो आकसी रंगको फरक लगाएर तिम्रो निधारको रातो टिका चोरी लगाउँदा म यति राम्री देखिए रे तिम्रो त्यो उमंगको सिमा 
हुन्थ्यो भने आकाश भन्दा माथि उड्थ्यो होला आमा 
त्यति बेला सानी अबुझ थिए
आमा तिमी सँगै म हाँस्न सकिन 
तिमी धेरै पटक एक्लै हाँस्यौ होला आमा 
आज म पनि त एक्लै हाँस्दै छु 
चितवन मेला घुम्न जाँदा त्यो ९ सयको डिङ्गो जुत्तामा मन बस्दा तिम्रो सारी छेउबाट एक एक गरी पैसा गनेको आज जस्तो लाग्छ आमा 
मेरो हरेक खुशी तिम्रो लागी कति संघर्ष थिए होलान आज थोपा थोपा बनेर खस्छ आमा 
खै म भन्न सक्दिन यो खुशी हो कि दुःख हो


जे हो मैले वर्णन गर्न नसक्ने मेरो अनुभूति हो यो आमा 
तिम्रो हातको ठेलाले सायद तिमीलाई कहिले बिझाएनन् तर 
मलाई कहिले कहिँ चुस्स छुँदा मेरो आईया सँगै तिम्रो मुटु झस्किएर तिम्रो पिडा टुक्रा टुक्रा भएर खसेको 
त्यो कुरा मैले आज, अहिले बुझ्दै छु आमा 
आज म मेरी छोरीको सानो हात समाउँदै गर्दा तिमीलाई सम्झन्छु 
म पनि त्यस्तै सानी हुँदी हुँ नि आमा
ममताले छोपेर अनि छातीमा टाँसेर ति नाजुक माया जोगाउँदै गर्दा तिमीलाई सम्झन्छु 
पहिलो पटक स्कुल गएको दिन तिम्रो आँखा रसाएर सप्को ले आँखा पुस्दै ५ रुपियाँ दिएको सम्झन्छु 
तिम्रो काखको न्यानो ५ रुपियाँले त्यो दिन अवश्य भुलायो तर मेरो आँखा तिमीलाई नै खोज्थे आमा 
त्यसो त आमा म तिमी हरपल सम्झेको हुन्छु 
राती सिरानीमा तिम्रो याद कम हुन्छ किन कि म आफै स्वयम् आमा हुँ 
कमजोर देखाउन कहाँ मिल्यो र आमा
जाडोको बेला सिरक तान्दै बिहानीको निन्द्रा मार्दै गर्दा तिम्रो चियाको बास्नाले निन्द्रा खुल्थ्यो आमा 
आमा त्यो चिया बिरानो भाको छ 
चिया बनाउने तिम्रो हात निकै टाढा भाको छ 
तर तिम्रो तिर्सना बाँकी छ अझै आमा 
तिम्रो अनेक थरिको उखान टुक्का पनि त कहाँ कम थिए र 
दुखमा सुखमा आमाको उखान टुक्का ठ्याक्क आउँथ्यो 
त्यही कारण हो कि क्या हो आमा म आजकल अलि अलि लेख्छु 
म अनि मलाई बुझ्ने आमा निकै टाढा छन्
त्यसैले मेरो दुःख सुख यहि शब्दसँग साट्छु 
हो सत्य हो आमा धेरै वर्ष भयो कोर्दै मेट्दै गरेको 
तर तिमी लाई नजिकबाट छुने शब्दहरु अझै भेटेको छैन 
तिम्रो धित मेट्ने कुनै तस्वीर बनेको नै छैन

प्रतिकृया दिनुहोस