Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
आफ्नो गुमेको इतिहासको लागि आवाज बुलन्द पार्नुपर्दछ
शनिबार, माघ १५, २०७३ २२:०४:०४ | Comments

-मानछिरिङ तामाङ

नेपालका तामाङ समुदायको चित्रण एक वाक्यमा भन्ने हो भने ‘अभिभावक गुमाएका अनाथ बालक’को जस्तै छ । नेपालका आदिवासी जनजातिको इतिहास बोकेको तामाङ समुदाय राजनीतिक परिवर्तनपछि पनि लगभग अस्तित्वविहीन अवस्थामै छन् भन्दा अन्यथा नहोला । बहुसंख्यक भएर पनि आफ्नो अस्तित्व जोगाउनै संघर्ष गरिरहेको तामाङको ठूलो समुदाय एक्काइसौं शताब्दीमा पनि उही ढुंगेयुगको झझल्को आउने जिन्दगी बाँच्न बाध्य छन् । आदिवासी जनजाति समुदायका गुरुङ, शेर्पा, मगर, राई, लिम्बुलगायतको तुलनामा तामाङहरु अझै पनि हरेक क्षेत्रमा पछि परेका देखिन्छन् ।

तामाङ समुदाय कतिका लागि प्रयोगका वस्तु बनेको छ र बौद्धिकता, नैतिकता, इमान्दारिता सबैमा क्षमता भएर पनि आफ्नो पहिचानको किला गाड्न असमर्थ बनेको छ । समयको परिवर्तनसँगै तामाङ समुदायको उत्थानको लागि केही कार्य पनि भइरहेका छन् । राज्यका निकायमा न्यून भएपनि उनीहरुको महत्वपूर्ण उपस्थिति देखिएको छ । विश्वका धेरै मुलुकमा तामाङहरु संगठित रुपमै आफ्नो अस्तित्वको लडाइलाई तीव्रता दिइरहेका छन् ।

आफ्नो सभ्यता, संस्कृति, रीतिरिवाजलाई जुनसुकै मुलुकमा भएपनि जोगाउन सफल भएका छन् । तामाङको मौलिकतालाई विश्वमै चिनाउन विभिन्न अध्यययन अनुसन्धान पनि भएका छन् । सयौं पुस्ताको अध्ययन अनुसन्धानको केन्द्रसमेत रहेको तामाङ समुदायमा सन्तोषजनकरुपमा नभएपनि केही परिवर्तनका संकेत भने देखिइसकेका छन् । तर, परिवर्तनको बाटोमा तामाङ समुदायमाझ अझै धेरै तगाराहरु छन् ।

विगतमा शासकको बलमिच्याँईको शिकार भएको तामाङ आज फेरि नेताको राजनीति गर्ने गोटीको रुपमा प्रयोग भइरहेको छ । तामाङभित्रका केही स्वार्थीे नेताको पुच्छर समातेर वैतरणी तर्ने सोचले तामाङ समुदाय कुन दिशातिर जाँदैछ भन्ने प्रश्न खडा गरेको छ । राणा र शाहजस्ता शासक, कांग्रेस, एमाले, माओवादी हुँदै आज मधेसी दलले समेत आफ्नो निहीत स्वार्थको लागि तामाङलाई बली चढाउने प्रयास गरिरहेको छ र यस काममा तामाङभित्रका तिनै सामन्ती चिन्तन बोकका नेताहरुको सक्रिय भूमिका रहेको छ । राज्यको कुदृष्टि, राजनीतिक दलको व्यवहार, तामाङ–तामाङबीच नै वैमनश्यता र वैरभावका कारण उनीहरुको भविष्यमाथि संकट सृजना गरेको छ ।

इतिहासले विर्सिएको, राज्यले हेपेको, शासकको बुटमुनि पिल्सिएको विगतको इतिहासबाट पाठ सिकेर तामाङ समुदायले आफ्नो गुमेको इतिहास लेखाउन सर्वप्रथम आफैभित्रका कमीकमजोरी सच्याउनुपर्छ । गुमिएको श्रेष्ठतालाई सत्यतामा परिणत गर्नका लागि विगतको भूललाई सच्याउने तर्फ लाग्नु पर्दछ । आफ्नो भाग्यको निर्माण आफै गर्न प्रतिज्ञा गरेर अघि बढ्नु नै आजको आवश्यकता हो । अब फुटेर होइन जुटेर लाग्नुपर्छ र राजनीतिक स्वार्थभन्दा माथि उठेर समुदायको उत्थानका लागि काम हुनुपर्छ ।

देश विदेशमा रहेका तामाङहरुले आ–आफ्नो क्षेत्रबाट समुदायको हितका लागि सामाजिक भावना बोकेर हिँड्नुपर्छ न कि राजनीतिक प्रभावबाट लालायित भएर । तामाङले तामाङभित्र शत्रु खोज्ने नभई शत्रुताको विउ रोप्नेलाई पहिचान गरि त्यस्ताको दुसित मनसायलाई निस्तेज पार्नुपर्छ । विश्वभर छरिएर रहेका तामाङ समुदायबीच एक हौं भन्ने नारालाई व्यवहारमा उतार्न एकतालाई आत्मासाथ गरौं । ल्होछारको शुभकामना ।
 

प्रतिकृया दिनुहोस