Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
डाक्टर बन्ने सपना बोकेका जीवा यसरी बने अर्बपति व्यापारी
शनिबार, पौष १६, २०७३ ०४:१९:३६ | Comments

-शुकदेव चापागाईं
काठमाडौं । चितवन जिल्लाको दक्षिण भुभागमा रहेको राप्ती खोला पारी एक दुर्गम गाउँ थियो । जुन दुर्गम गाउँको नाउँ हो पदमपुर । जहाँ हरेक वर्षको वर्षाको याममा राप्ती खोलाले अन्न उब्जाउने खेत लैजान्थ्यो । बाढीले उब्जिएको अन्न पनि सखाप पाथ्र्यो । अर्कोतिर वनजंगलको छेउमै रहेको उक्त गाउँमा जंगली हात्ती, बाघ, भालु र गैंडाको आक्रमण ज्यादै थियो । कतिले त ज्यान पनि गुमाउँथे । बाटोघाटो मान्छेकै पैदलले बन्दथ्यो । डुंगाबाटै खोला तरी बजार पुग्नु पथ्र्यो । बत्तीको त कुरै नगरौं । टुकीकै भरमा रात कटाउनु पथ्र्यो । त्यही टुकीकै उज्यालोबाट आज उनी विश्वभरी चम्किएका छन् । 

हो, पक्कै पनि धेरै नेपालीहरुको संघर्ष यस्तै टुकीहरुबाटै भएको छ । त्यो टुकीले उज्यालो नदिएको भए सायद आज जीवा लामिछानेको जीवनमा यति धेरै उज्यालो आउने थिएन । तिनै जीवा लामिछाने जन्मिएको ठाउँ हो पदमपुर । पदमपुरबाट रसिया सम्मको यात्रामा उनले धेरै आरोह अवरोह पार गरेका छन् । बिजुली नभएको ठाउँमा जन्मिएका जीवा लामिछाने आज मुलुकलाई उज्यालो दिन ठूलठूला जलविद्युत आयोजनामा लगानी गरेका छन् । यति मात्रै होईन सामाजिक सेवामा उनको योगदान बिर्सिन नसकिने खालको छ । 

खेमलाल र हरिकला लामिछानेको कोखबाट सन् १९६७ फेब्रुअरी १३ अर्थात् विं. सं २०२३ साल फागुन १ गते जीवा लामिछानेको जन्म चौथो सन्तानको रुपमा भएको हो । निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मिएका जीवाको शिक्षा दीक्षा चितवनकै सरकारी विद्यालयमा भएको हो । उनको प्रारम्भिक शिक्षा कक्षा ७ सम्म चितवनको भीमोदय निम्न माध्यमिक विद्यालयमा भएको थियो भने त्यसपछि उनी कक्षा ८, ९ र १० चितवनकै रत्ननगर टाँडीमा अवस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययन गरे । 

वि.सं २०४० साल अर्थात् सन् १९८३ मा उनी एसएलसी प्रथम श्रेणीमा पास गर्न सफल भए । एसएलसी पास गरेपछि उनको अध्ययन पूल्चोकस्थित ईन्जिनियरिङ अध्ययन संस्थान (कलेज) मा भयो । पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तहमा उनी प्रथम श्रेणीमै पास गर्न सफल भए । त्यसपछि उनी सन् १९८६ मा छात्रवृत्ति प्राप्त गरी सोभियत युनियन रसियामा ईन्जिनियरिङ साईन्स विषय अध्ययन गर्न रुस पुगे । खासमा त डाक्टर बन्ने धोको थियो उनको तर उनी ईन्जिनियरिङ पढ्न लागे । 

रसियाको नोभोमोस्कोभ्सीस्थित मेन्डेलिभ केमिकल टेक्नोलोजी ईन्ष्टिच्युटमा उनी रसियन भाषा पढ्न भर्ना भए । उनी एक वर्ष रसियन भाषा पढिसकेपछि मस्को स्टेट युनिभर्सिटी अफ सिभिल ईन्जिनियरिङ कलेजमा भर्ना भए । सन् १९९२ मा उनले सोही युनिभर्सिटीबाट मास्टर डिग्री अर्थात् स्नातकोत्तरको डिग्री प्राप्त गरे । 

वि.सं २०४० साल अर्थात् सन् १९८३ मा उनी एसएलसी प्रथम श्रेणीमा पास गर्न सफल भए । एसएलसी पास गरेपछि उनको अध्ययन पूल्चोकस्थित ईन्जिनियरिङ अध्ययन संस्थान (कलेज) मा भयो । पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तहमा उनी प्रथम श्रेणीमै पास गर्न सफल भए । त्यसपछि उनी सन् १९८६ मा छात्रवृत्ति प्राप्त गरी सोभियत युनियन रसियामा ईन्जिनियरिङ साईन्स विषय अध्ययन गर्न रुस पुगे । खासमा त डाक्टर बन्ने धोको थियो उनको तर उनी ईन्जिनियरिङ पढ्न लागे ।

सन् १९९१ मा सोभियत युनियनको विघटनसँगै रसियामा खुला बजार अर्थतन्त्रको सुरुवात हुन थाल्यो । सुरुमा लामिछानेले ग्रोसरी पसल र क्याफे चलाए । त्यसपछि सन् १९९२ मै लामिछानेले मस्कोमा ईलेक्ट्रोनिक्स सामानहरुको व्यापार सुरु गरे । उनको कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरुको आधिकारिक बिक्रेता भई बिक्री गर्न सुरु ग¥यो । 

सामान्य विद्यार्थी जीवनबाट स्थापित व्यापारीसम्मको फड्को मार्ने नेपालीहरुको व्यापारिक सञ्जाल बनाउने श्रेय भने जीवा लामिछानेलगायत केही अग्रज नेपालीले पाउँदै आएका छन् । प्रवासी बसाईमा त्यहाँ नेपाली त्यसरी चम्किनुमा एउटै मात्र कारण छ– तत्कालीन सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोभले सन् १९८५ मा ल्याएको ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ नामक सुधार नीति । खास भन्ने हो भने चिनियाँ नेता देङ स्याओ पिङको मोडलसँग मिल्दो जुल्दो आर्थिक नीति ।

त्यतिखेर रुसले विदेशी विद्यार्थीलाई बहुर्राष्ट्रिय कम्पनीका ईलेक्ट्रोनिक उत्पादन व्यक्तिगत प्रयोजनका लागि आयात गर्न छुट दिन्थ्यो । यहीे छुटको फाइदा उठाउँदै इन्जिनियरिङ पढ्दै गरेका जीवा छुट्टीमा पश्चिमा मुलुक जाने र फर्कंदा कम्प्युटर आदि ‘कन्जुमर इलेक्ट्रोनिक सामान’ ल्याएर बेच्नतिर लागे ।

घरबाट मस्को जाँदा जीवासँग जम्माजम्मी १ सय ५० अमेरिकी डलर रहेछ । सहपाठीसँग हजार डलर सापटी लिएर पहिलो व्यावसायिक यात्रामा निस्केछन्, उनी जर्मनी । रुसको त्यतिबेलाको अवस्था कस्तो थियो भने, जति पुँजी लिएर व्यावसायिक यात्रामा निस्क्यो, एक–दुई सातामै त्यो पुँजी तेब्बर हुन्थ्यो । रुसमै बनेका अनाकर्षक विद्युतीय सामग्री मात्रै उपभोग गर्न बाध्य थिए, उपभोक्ता । जापान, जर्मनी, अमेरिका, सिंगापुर लगायत मुलुकमा बनेका कम्प्युटर, क्यामरा, टेलिभिजन, डेक लगायत विद्युतीय उपकरण लोकप्रिय थिए । 

रुस पश्चिमी मुलुकसँग हातहतियार र आणविक शक्तिमा प्रतिस्पर्धा गर्ने हैसियत त राख्थ्यो तर जनताका दैनिक उपभोग्य सामान उत्पादनमा त्यति अक्कल थिएन रुससँग । ७३ वर्षे साम्यवादी व्यवस्था पतनपछि बदलिँदो बजारमा वस्तुको व्यापार गर्न जीवासँग बिज–पँुजीको समस्या भएन । उनले व्यक्तिगत व्यापारलाई संस्थागत बनाउन रसियन साझेदारसँग मिलेर टेक्नोल्यान्ड प्राइभेट कम्पनी खोले । सिंगापुर, दुबई, फिनल्यान्ड, जापानलगायत मुलुकबाट विद्युतीय सामान आयात गरी रुसका विभिन्न सहरमा बिक्रीवितरण गथ्र्याे त्यसले ।

यसमध्ये अधिकांश ब्रान्डको रसियामा राष्ट्रिय बिक्रेता अहिले पनि उनकै कम्पनी छ । बहुराष्ट्रिय कम्पनी र रसियाका उपभोक्ताको विश्वास जितेपछि जीवाले मस्कोमा १० वटा इलेक्ट्रोनिक रिटेल पसल पनि चलाए । त्यसलाई बेचेर रुसी बजारमा होलसेल डिस्ट्रिब्युसनमा संलग्न भए । 

मस्कोमा उनको व्यापारले धेरै उचाई लिईसकेको थियो । यसै दौरान सन् १९९६ मा उनले चिकित्सा पेशामा आबद्ध मेडिकल डक्टर विन्दिता लामिछानेसँग विवाह गरे । त्यतिबेला उनको मागी विवाह भएको थियो । लामिछानेका दुई छोराहरु छन् जेठोको नाम अनुराग र कान्छोको नाम अनुकृत हो । विवाहपछि झन् उनको श्रीमतीले उनलाई व्यापारमा सघाईन् ।  

उनले मस्कोमा मात्रै आफ्नो व्यवसाय सीमित राखेनन् । उनले नेपालमा पनि धेरै क्षेत्रमा लगानी गरेका छन् । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशक थिए । नेपालमा उनले मिडियाबाहेक हस्पिटल, कलेज, सिमेन्ट र हाईड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

उनी मेडिकेयर हस्पिटल, एक्मी ईन्जिनियरिङ कलेज, अग्नि सिमेन्ट र सानिमा हाईड्रोपावर कम्पनीका पनि सञ्चालक हुन् । त्यस्तै उनको सोपान मल्टिपल लिमिटेड र सानिमा हाईड्रो एण्ड ईन्जिनियरिङ कम्पनी पनि छ । यस बाहेक उनी सानिमा बैंकको अध्यक्ष पनि हुन् । त्यसैगरी उनी दुबईस्थित नेक्टर ईन्टरनेशनल एफजेडसिओ कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् ।

उनको अर्को महत्वपूर्ण काम भनेको विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध बनाई संगठन विस्तार गर्नु हो । जसलाई गैरआवासीय नेपाली संघ अर्थात् एनआरएन भनिन्छ । लामिछाने र रसियामै रहेर व्यवसाय गरेका अर्का सफल व्यक्तित्व डा. उपेन्द्र महतोको पहलमा एनआरएनको जन्म भएको हो । लामिछाने अहिले एनआरएनका प्रमुख संरक्षक छन् । यसअघि उनी सन् २०११ मा गैरआवासीय नेपाली संघका अध्यक्ष थिए । यो संघ अहिले विश्वका ६५ वटा राष्ट्रहरुमा विस्तार भएको छ । यो संगठन सन् २००३ मा स्थापना भएको हो । 

लामिछानेको व्यवसाय रुस र नेपालमा मात्रै नभई युरोपको जर्मनीमा समेत रहेको छ । जर्मनीको फ्र्यांकफर्टमा उनले होटल व्यवसाय सञ्चालन गरेका छन् । सन् २०१२ मा उनले जर्मनीमा एलपी ईन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर होटल व्यवसायमा हात हालेका हुन् । 

उनी जति समय दिएर व्यवसायमा लागेका छन् त्यो भन्दा बढी योगदान उनको समाजसेवामा पनि उत्तिकै छ । समाज सेवाका लागि उनले आफ्नो बुवा आमाको सम्झनामा खेमलाल हरिकला लामिछाने प्रतिष्ठान नामको समेत सामाजिक संस्था सञ्चालन गरेका छन् । उनी उक्त प्रतिष्ठानका संरक्षक पनि हुन् । त्यसैगरी उनी रसिया नेपाल चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीको आजीवन सदस्य र रत्ननगर चेम्बर अफ कमर्स ईण्डष्ट्रीको सल्लाहकार हुन् । सन् २०११ देखि २०१३ सम्म लामिछानेलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने सन् २०११ मै उनलाई नेपाल ईन्भेष्टमेन्ट बोर्डको सदस्यमा नियुक्त गरिएको थियो ।

सानैदेखि लामिछाने पढाईमा अब्बल भएकाले उनले पढाईसँगै व्यवसायमा हात हाले । जुन कुराको सफलताले उनी अहिले भोग गरिरहेका छन् । व्यवसायमा लगनशीलता, मेहनत र ईमान्दारिता तीनै चिज आवश्यक रहेको उनको सफलताबाट बुझ्न सकिन्छ । व्यवसायको सफलताबाट उनले समाजमा धेरै योगदान दिएका छन् । त्यो योगदानको कुनै मूल्य छैन । 

लामिछानेले जीवनमा व्यवसाय र समाज सेवा मात्रै गरेनन् । उनको अर्को लुकेको पाटो भनेको साहित्यिक सिर्जना पनि हो । नेपाली भाषा, संस्कृति र साहित्यलाई नजिकबाट बुझेका लामिछानेले यसको प्रबद्र्धन र उत्थानमा उत्तिकै योगदान समेत दिएका छन् । नेपाली साहित्यलाई उनले विभिन्न देशहरुमा प्रबद्र्धन गरिरहेका छन् । 

व्यस्त जीवनका केही समय र आर्जित सम्पत्तिको केही हिस्सा साहित्य सेवामा पनि खर्चेका छन्, उनले । खेमलाल–हरिकला प्रतिष्ठानले हरेक वर्ष लेखकहरुलाई प्रोत्साहनस्वरुप ‘पद्मश्री साहित्य सम्मान’ दिँदै आएको छ । यसबाहेक शिक्षा, स्वास्थ्य आदि सेवा क्षेत्रमा पनि उनको संलग्नता छ । 

साहित्यमा गहिरो रुचि र आस्था राख्ने जीवा कृति प्रकाशनमा पनि लागेका छन् । हालसालै उनले सरसर्ती संसार नामको नियात्रा साहित्यिक रचना सार्वजनिक गरेर साहित्यको क्षेत्रमा ठूलै गुन लगाएका छन् । समकालीन नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनका लागि नेपाली साहित्यिक कृति अंग्रेजीमा र केही नेपाली कृति रुसी भाषामा अनुवाद गराउने ऐतिहासिक कार्यमा उनको योगदानलाई भुल्न सकिंदैन । उनको रुचि भनेको देश विदेश घुम्ने, इमेलबाटै नयाँनयाँ कृतिको जानकारी लिने र उक्त कृति अथवा पुस्तक पढिहाल्ने हो ।


 

प्रतिकृया दिनुहोस