Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
'तामाङ समाजलाई मानव सभ्यताको अग्रपंक्तिमा उभ्याउन कोसिस गर्नेछु'
बिहीबार, मंसिर २३, २०७३ २१:११:०४ | Comments

नेपालको राजधानी काठमाडौंसँग जोडिएको काभ्रे जिल्लाका अधिकांश गाउँहरु अझैं अति दुर्गम र अविकसित छन् । त्यहाँको जीवनस्तर उस्तै अत्यासलाग्दो र पीडादायी छ अझै पनि । काभ्रेका दुर्गम गाउँहरुको कथा अमेरिकाको जनजीवनमा अभ्यस्त हुनेहरुका लागि कल्पनाभन्दा पनि वाहिरको कुरा हुनसक्छ । उत्तर दोङ, काभ्रेको त्यस्तै दुर्गममध्येको एक तिमाल गाउँको तामाङ बस्तीमा जन्मेका व्यक्ति हुन् । 

अध्ययनप्रतिको रुचि र कडा मेहनत गर्ने वानीका कारण उत्तर दोङले विद्यार्थी जीवनमा असफलता व्यहोर्नु परेन बरु स्नातक अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट एकाउण्टिंग र अडिटिंग विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफलसमेत भए । हाल अमेरिकाको सरकारी ओहदामा कार्यरत र सामाजिक सेवाका लागि तामाङ सोसाइटी अफ ग्रेटर वासिङटन डिसीको अधिवेशनबाट भखर्रै सर्वसम्मत अध्यक्ष निर्वाचित भएका उत्तरको जीवन नेपालमा मात्र होइन अमेरिका आएपछि पनि निकै संघर्षपूर्ण रह्यो । युवा अवस्थाका उत्तरको अहिलेसम्मको जीवन युवा विद्यार्थीहरुका वास्तवमै प्रेरणादायी र सबैका लागि अनुकरणीय छ ।

आफ्नो जन्मथलो र त्यहाँंको समाजमा इज्जतिलो जीवन जिउँदाजिउँदै अझ सुविधासम्पन्न जीवनको कामनासहित सन् २००२ को डिसेम्बर महिनामा अमेरिका आएका उत्तरका शुरुवाती दिनहरु अत्यन्त संघर्षपूर्ण थिए । त्रिभुवन विश्वविद्यालयबाट एकाउण्टिंग र अडिटिंगमा प्रथम श्रेणीमा प्रथम भई नेपाली समाजमा राम्रो छाप छोड्न सफल भएका उनले त्रिभुवन विश्वविद्यालयबाटै स्नातकोत्तर (एमबीए) गरेका थिए । तर, त्यो अध्ययनले मात्र अमेरिकाको शुरुवाती दिनहरुमा दैनिक जीवन निर्वाह सहज गराउन सक्ने थिएन । उनले दिनको १६ घण्टासम्म काम गरे । 

आर्थिक अवस्थाका कारण तत्काल मुख्य शहर क्षेत्रमा बसोवास गर्न सकिने थिएन त्यसैले सवअर्वन क्षेत्रमा डेरा गर्नु र त्यहाँबाट सार्वजनिक यातायात पाउन नसकिने भएका कारण काममा जानका लागि दैनिक २ घण्टाको पैदल यात्रा गर्नु उत्तरको रुटिन नै बनेको थियो । 

नेपालमै अध्यापन पेशामा सम्मनित जीवन विताएका उनका लागि हिउँदका चिसा दिनहरुमा हिऊ पन्छाउंदै दैनिक घण्टौं लगाएर हिड्दै काममा जाने र डेरामा फर्कने कार्य वास्तवमै पीडादायी थिए । तर, जीवनको यो रोजाई आफ्नो थियो र जसरी पनि सफलतातर्फ लम्किनुवाहेक अरु उपाय पनि थिएन । उनले दैनिक आठ—आठ घण्टाका दरले दुई सिफ्ट काम गरेर बाँकी आठ घण्टाको समय खाना र आरामका लागि छुट्याएका थिए । 

अहिले सम्झंदा आफैंलाई गर्व लाग्ने ती दिनहरुबारे उत्तर भन्छन्,‘मेरो संघर्ष पनि अमेरिका आउने सर्वसाधारण अरु नेपालीको भन्दा भिन्न छैन, दिनमा १६ घन्टाको दुई सिफ्टसम्म काम गरें, मोटर किन्ने क्षमता नभएसम्म हिउँदको जाडोमा हिऊसँग खेल्दै दिनमा २—३ घन्टाको पैदल यात्रा गर्नुपरेको थियो । 

परिश्रमीलाई सधैं दुःखले घेर्दैन भनिएझैं उत्तरलाई आफू कार्यरत कम्पनीले नै थप अध्ययनको सुविधा उसकै खर्चमा दिन तयार भयो । यो मौकामा त्यही प्रोजेक्ट म्यानेजमेण्टमा एमबीए गर्न सफल भए । उनी भन्छन्, ‘अध्ययनको शिलशिलामा म आफुलाई अलि भाग्यमानी ठान्छु, कम्पनीको खर्चमा फुलटाइम काम र फुलटाइम पढाइ गरेर मैंले थप मेहनत गरे । सायद अमेरिकामा धेरै कमैले यस्तो मौका पाएका होलान् ।’

उनका आपा(वुवा) ले सधैं संगत गुनाको फल हुन्छ है भनेर सम्झाइरहन्थे वास्तवमा उनको संगत पनि उनको अध्ययनका लागि प्रेरणादायी बन्यो । यसका लागि उनले सधैं सम्झने नाम हो—श्रवणज्योति कंसाकार । प्रवीणता प्रमाणपत्र तहमा विश्वविद्यालय टप गर्न सफल भएका कंसाकारको संगत र प्रेरणाले उत्तरका लागि अध्ययनका लागि उर्जा दिने गर्दथ्यो । उनी कंसाकारलाई सम्झदै भन्छन्, ‘मेरो जीवनमा कंसाकारजीको संगतले पढाइमा कडाभन्दा कडा तरिकाले मिहेनत गर्ने प्रेरणा मिल्यो जसका लागि म सधैं आभारी छु ।’

नेपालमा छँदा गणित, तथ्यांक, लेखा र बित्तसम्बन्धी बिषयहरु अध्यापन गरेका उनले नेपालको बैङ्किङ क्षेत्रमा पनि करीब ४ वर्ष जति काम गरे । अमेरिकामा आएपछि फुड चेन म्यानेजमेन्टलगायत रिटेल बिजनेसमा काम गरेका उनी करीब १० वर्ष यता सरकारी लेखा, सूचना, प्रविधिलगायत सुरक्षासम्बन्धी परियोजनाहरु र कर्पोरेट फाइनान्सियल प्लानिङमा काम गर्दै आएको छन् ।  

सामाजिक सेवातर्फ उनको सहभागिता पहिलेदेखिकै हो । नेपालमा छँदा पनि आफ्नो समुदायको हितका लागि तामाङ विद्यार्थी समुहको तदर्थ समितिको सदस्य र पछि कार्य समितिको कोषाध्यक्षको पदमा रहेर करीब ३—४ वर्षसम्म काम गरेका उनले अमेरिका आएपछि पनि यो समुदायको हितमार्फत सम्पूर्ण नेपालीको उन्नतिका लागि समाज सेवामा समय दिन छाडेका छैनन् । उनी तामाङ सोसाइटी अफ ग्रेटर वासिङटन नामक संस्थासंग शुरुवातदेखि नै संलग्न थिए । सो संस्थामा सहसचिव र सचिवको भूमिकामा प्रत्यक्षरुपमा सङ्लग्न भएर काम गरेको अनुभव सम्हालेका उनी यसपटक संस्थाको सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

संस्थाको नेतृत्व सम्हाले पछिका उनका प्राथमिकता के के हुन् त ? उनी भन्छन्— ‘तत्कालका लागि मेरो प्राथमिकता संस्थाभित्रै नेतृत्व बिकास गरी नयाँ पुस्तालाई बढीभन्दा बढी सहभागी गराई संस्थाको जग बलियो बनाउने हो । त्यसैगरी तामाङ भाषा, धर्म, रीतिरिवाज, परम्परा र संस्कृतिबारे स्वयं आफै र आफ्नो समाजलाइ प्रष्ट बुझ्ने र बुझाउन प्रयास गर्ने योजना बनाएको छु ।’ उनले नेपालमा पिछडिएको तामाङ समाजलाई मानव सभ्यताको अग्रपंक्तिमा उभ्याउन कोसिस गर्ने अति उच्च र महत्वाकांक्षी योजना पनि बुनेका छन् । 

अमेरिकामा पनि क्यालिफोर्निया, वासिङटन डिसी र न्यूयोर्क राज्यभित्रका ३ वटा छुट्टै सामाजिक संस्थाको रुपमा तामाङहरु क्रियाशील छन् । साझा उद्देश्यका लागि यी संस्थाबीच सहकार्य र एकतामा समस्या नदेख्ने उनी पिछडिएको वर्गको उत्थानबाट संसारभर रहेको नेपाली समाजलाई योगदान दिन चाहन्छन् ।

हाल सपरिवार अमेरिकामै बसोबास भएका उत्तरको परिवार यहां पनि शिक्षित परिवारमा पर्छ । उनकी जेठी बहिनी बिमलाले अमेरिकामै डाक्टर अफ फार्मेसी गरेर यतै कार्यरत छन् भने भाइ पेमा सिभिल इन्जिनियरको मास्टर्स डिग्री र  माइली बहिनी चमलाले माइक्रो बायोलोजीमा पिएचडी गरेका छन् । त्यसैगरी कान्छी बहिनी कमलाले नेपालमा चाटर्ड एकाउन्टेन्ट गरी अमेरिकाबाट एमबिएको अध्ययन पूरा गरेकी छन् ।

प्रस्तुतिःमानछिरिङ तामाङ

प्रतिकृया दिनुहोस