Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
‘रुबी भ्यालीलाई नेपालकै मोडल स्ट्यान्डर्ड ट्रेकिङ क्षेत्रको रुपमा स्थापित गर्नुपर्दछ'
बिहीबार, मंसिर २३, २०७३ १९:२४:५२ | Comments

तेजबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष
गणेश हिमाल पर्यटन विकास समिति

धादिङ जिल्लाको उत्तरी क्षेत्र सेर्तुङ गाविस वडा ४ मा जन्मिएका तेजबहादुर गुरुङ पर्यटन क्षेत्रमा निकै आसलाग्दा एवं लोकप्रिय पर्यटन व्यवसायी हुन् । नेपालको पर्यटन व्यवसायीहरुको ठूलो संस्था ट्रेकिङ एजेन्सीज अफ एसोसिएसन नेपाल टानका प्रथम उपाध्यक्षजस्तो जिम्मेवार पदमा रहेर आफनो कार्य क्षमता प्रदर्शन गरिरहेका छन् । 

स्पष्टवक्ता एवं मिलनसार गुरुङले दर्जनौ सामाजिक संघसंस्थामा पनि उक्तिकै सक्रिय छन् । उनी गणेश हिमाल पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष समेत हुन् । समितिको शुरुवात ठीक पाँच बर्ष अगाडि धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित आर्थिक र शैक्षिक रुपमा पिछडिएको ४ गाबिस सेर्तुङ, तिप्लिङ, लापा र झार्लाङका युवाहरुबाट शुरुवात भएको गुरुङ बताउँदछन ।

यो समितिको यही आउँदो पुष ८ गते साधारण सभा हुँदैछ । यसैको सेरोफेरोमा समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुरुङसँग नेपाली बुलेटिनका प्रतिनिधिले गरिएको कुराकानीको सारांशः

गणेश हिमाल पर्यटन विकास समितिको यस पटकको साधारण सभाको आकर्षण के छ त ?
गणेश हिमाल पर्यटन बिकास समितिको पाँचौं साधारण सभा यही पुष ९ गते शनिबार भव्यताकासाथ हुँदैछ । यो साधारण सभाले आगामी नयाँ कार्यसमितिको चयन गर्नेछ । रुबी भ्यालीको पर्यटन प्रबद्र्धनमा समितिको महत्वपूर्ण भूमिका रहने भएकोले यो क्षेत्रको पर्यटन बिकासको भबिष्य कस्तो नेतृत्व आउने भन्नेले नै निर्धारण गर्नेछ । त्यसैले, यो साधारण सभा बिशेष र निकै महत्वपूर्ण हुनेछ ।

यस साधारण सभाले बिगत ५ बर्षमा गरेको प्रबद्र्धनात्मक गतिविधिलाई सार्वजनिक गर्नेछ भने आगामी ०७३ र ०७४ को नीति तथा कार्यक्रम ल्याउनेछ । समितिको वरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङको संयोजकत्वमा तयार भएको ऐतिहासिक र पहिलो 'स्मारिका'को लोकार्पण हुनेछ ।

गणेश हिमाल पर्यटन विकास समितिको शुरुवात कसरी भयो र किन यसको गठन भयो ?
गणेश हिमाल पर्यटन बिकास समितिको शुरुवात ठीक पाँच बर्ष अगाडि धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित आर्थिक र शैक्षिक रुपमा पिछडिएको ४ गाबिस सेर्तुङ, तिप्लिङ, लापा र झार्लाङका युवाहरुबाट भएको हो । यो क्षेत्र न सरकारको न त राजनैतिक नेताहरुको न धादिङको पर्यटन ब्यबसायीहरुको नजरमा पर्यो । बत्ती मूनिको अँध्यारो तर प्राकृतिक र सांस्कृतिक आकर्षणले धनी 'यो क्षेत्र भोटेहरु बस्ने र असुरक्षित छ' भन्ने नकरात्मक दुष्प्रचार मात्रै गरियो ।

यसैलाई चिर्दै अब सबै युवाहरु एक भई आफ्नो गाउँठाउँ आफै बनाऊ भन्ने उद्देश्य पुरा गर्न पर्यटन बिकास र प्रबद्र्धनबाट सम्भव छ भन्ने हेतुले यो संस्थाको जन्म भएको हो । परिणामले बिस्तारबिस्तार देखाउँदै गईरहेको छ ।

समितिमा रहेर तपाईले के कस्ता जिम्मेवारी निर्वाह गर्नुभयो त ?
संस्थाको  शुरुवातमै  यसको नेतृत्व लिनुपर्छ भन्ने युवा साथीहरुको दवाव आए पनि मेरै प्रस्तावमा आदरणीय दाजु कुलबहादुर गुरुङ जो हाल पनि संस्थाको अध्यक्ष हुनुहुन्छ, उहाँलाई नेतृत्व दियौ र म उपाध्यक्षमा रही कार्य सम्पादन गर्दै आएको छु । 

खासगरी संस्थाको कार्यालय व्यवस्थापन, संस्थाको विधान तयारी, उपसमितिहरु गठन, रुबी भ्याली क्षेत्रको सम्भाव्यता सर्वेक्षण, स्थानीय राजनैतिक प्रतिनिधिहरुसँग सुरक्षाको प्रतिबद्दता, बिभिन्न पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमहरुको संयोजनात्मक भूमिका, टान, एनटिभिलगायत विभिन्न सरोकार संस्थाहरुसँग पहलकदमी, सामथ्र्य र  टानद्वारा सहयोगार्थ गणेश हिमाल मनास्लु परियोजनामा संस्थाकोतर्फबाट संयोजकको भूमिका, ऐतिहासिक र पहिलो रुबी भ्याली स्मारिकाको संयोजन, काठमाडौंबासी रुबी भ्याली भुकम्प पीडितहरुलाई राहत वितरणको संयोजनकारी भूमिकाजस्ता दर्जनौं जिम्मेवार सफलतापुर्वक सम्पन्न गरेको छु ।

समितिले पर्यटन प्रबद्र्धनका लागि धादिङ जिल्लामा के कस्ता कार्यहरु गरे ?
यो समितिले बिगत ५ बर्षमा गरेका कार्यहरु पर्यटन प्रबर्दन सम्बन्धी जनचेतनामुलक कार्यक्रम, पर्यटकहरुको सुरक्षा सम्बन्धी स्थानीय राजनैतिक प्रतिनिधिहरुसँग अन्तक्रिया तथा प्रतिबद्दता, अंग्रेजी भाषा, घरबास र दिगो पर्यटन सम्बन्धी स्था नियहरुलाई तालिम, सामर्थ र टानसँग सहकार्य गरी पर्यटन पूर्वधार निर्माण, टानसँगको सहकार्यमा रुबी भ्याली क्षेत्रको सम्भाब्यता अध्ययन, धादिङ जिल्लाका पत्रकारहरुसँग रुबी भ्याली पर्यटन प्रबर्दन सम्बन्धी अन्तर्कृयात्मक कार्यक्रम र धादिङको पर्यटन आकर्षण, लेख, रचना, धादिङको पर्यटन व्यवसायीहरुको सूची  र व्यवसायीहरुको बिचारसहितको संग्रहित पहिलो स्मरिका प्रकाशोन्मुख छ ।

अब गणेश हिमाल पर्यटन विकास समितिलाई कसरी अगाडि बढाउनुपर्दछ ?
यो समितिलाई अझै सक्रिय र ठोस योजनासहित वार्षिक क्यालेन्डर बनाएर परिमाण र परिणाममुखी कार्यमा अगाडि बढाउनुपर्छ । केन्द्रिय कार्यसमितिलाई विभिन्न विभाग बनाई योजना तर्जुमा गर्नको लागि बिभागीय जिम्मेवारी दिनुपर्छ । 

यस्तै, उपसमितिहरु जिल्लाभरी गठन गरी आआफ्नो क्षेत्रको पर्यटकीय सम्भायता बिभागमा जानकारी गर्न ल्याउनुपर्छ । उक्त सम्भावना र योजनाहरु धादिङको पर्यटन व्यवसायीहरुको माझ छलफल गरी जिल्ला बिकास कार्यालय, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्बतारोहण संघ (एनएमए)  र टानजस्ता संघ संस्थाहरुमा वार्षिक कार्यक्रममा पार्न पहल तथा दबाब सिर्जना गर्नुपर्छ । 

रुबी भ्याली क्षेत्रलाई बिकास र प्रबद्र्धन गर्नको निम्ति विज्ञहरुलाई मास्टर प्लान बनाउन लगाई योजनाबद्द रुपमा अगाडि बढ्नुपर्दछ । रुबी भ्यालीलाई संरक्षित क्षेत्र घोषणा गरी अन्नपूर्णको  मोडलमा यहाँको बन्यजन्तु, बन जंगललाई संरक्षण,  प्रबद्र्धन र आकर्षणको रुपमा दिगो पर्यटनको लागि सरकारसँग पहल गर्नुपर्छ । 

यो क्षेत्रमा जाने पर्यटकहरुलाई प्रवेश शुल्क लगाई कम्तिमा यसबाट उठेको ३० प्रतिशत रकम यसै क्षेत्रको व्यवस्थापन र प्रबद्र्धनमा लगानी गर्नुपर्छ । हाल अन्यत्र पदयात्रा क्षेत्रमा लाग्ने टिम्स, यो क्षेत्रमा पनि लगाउनुपर्छ र यसबाट उठेको १५ प्रतिशत यही क्षेत्रको पर्यटन प्रबर्दनमा खर्चिनुपर्छ । यसैगरी हाल नेपाल पर्वातारोहण संघले आरोहण गराई रहेको पाल्दोर पिकको रोयल्टी पनि अरु क्षेत्रको स्थानीयले पाउने रकमजस्तै यो क्षेत्रले पनि प्रबद्र्धन गर्न रोयल्टीको केही रकम प्रबद्र्धनको लागि पाउने ब्यबस्था गर्न  पहल गर्नुपर्छ ।

खासगरी संस्थाको कार्यालय व्यवस्थापन, संस्थाको विधान तयारी, उपसमितिहरु गठन, रुबी भ्याली क्षेत्रको सम्भाव्यता सर्वेक्षण , स्थानीय राजनैतिक प्रतिनिधिहरुसँग सुरक्षाको प्रतिबद्दता, बिभिन्न पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमहरुको संयोजनात्मक भूमिका, टान, एनटिभिलगायत विभिन्न सरोकार संस्थाहरुसँग पहलकदमी, सामथ्र्य र  टानद्वारा सहयोगार्थ गणेश हिमाल मनास्लु परियोजनामा संस्थाकोतर्फबाट संयोजकको भूमिका, ऐतिहासिक र पहिलो रुबी भ्याली स्मारिकाको संयोजन, काठमाडौंबासी रुबी भ्याली भुकम्प पीडितहरुलाई राहत वितरणको संयोजनकारी भूमिकाजस्ता दर्जनौं जिम्मेवार सफलतापुर्वक सम्पन्न गरेको छु ।

रुबी भ्यालीलाई सुरुमा एउटै मात्र ट्रेकिङ रुट  ६/७ दिनको निर्धारण गरी स्थापित गर्नुपर्छ र क्रमशः अन्य रुटहरुको प्रबद्र्धन गर्नुपर्छ । यो क्षेत्रमा लज  निर्माण गर्नको लागि स्थानीय तथा प्राइभेट कम्पनीहरुलाई उत्साहित गर्नुपर्छ । यसमा आर्थिक, प्राविधिक र मार्केटिङको सहयोगको लागि सामथ्र्य, टान र नेपाल सरकारको सहयोगको लागि पहल गर्नुपर्छ । यो क्षेत्र सांस्कृतिक दृष्टिकोणले पर्यटकहरुको लागि प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने भएकोले ऐतिहासिक थलोहरुको संरक्षण र सम्बद्र्धन, सांस्कृतिक परम्परा र लोक संस्कृतिको संग्राहलय र रोधीघर निर्माणको लागि पहल गर्नुपर्छ ।

मोटर बाटोले पदमार्ग बिनास भई पर्यटन सम्भावना नै खतरामा पर्न सक्ने भएकोले बैकल्पिक रुपमा निर्माण गर्न पहल गर्न अत्यन्त जरुरी छ । अन्त्यमा हालसम्म गरेका राम्रा गतिविधिहरुलाई निरन्तरता दिदै संस्थालाई थप उचाइमा पुर्याउन र रुबी भ्यालीलाइ नेपालकै मोडल स्ट्यान्डर्ड ट्रेकिङ क्षेत्रको रुपमा स्थापित गर्न कुनै पनि कसर बाँकी राख्नु हुन्न ।

समितिभित्र बढी राजनीति हावी भयो भन्ने आरोप छ नि ?
म संस्थाभित्र राजनीति हुनु हुँदैन भन्ने मान्यता राख्छु । सहकार्य, सहअस्तित्व र सौहाद्रताबाट मात्रै पर्यटनको सम्बद्र्धन सम्भव छ भन्ने विश्वास गर्छु । 

कार्यकर्ताहरुको घेराबाट र पार्टीको निर्देशनमा हैन आमुल जनता र ब्यबसायीहरुको बलमा मात्रै संस्थागत रुपमा हामीले सोचेंको रुबी भ्याली साँच्चैको पर्यटन गन्तव्य बन्न सम्भव छ । त्यसकारण जुनसुकै व्यक्ति जुनसुकै पार्टीको होस् तर संस्थाभित्र रहेर जिम्मेवारी निर्बाह गर्दा बिशुद्ध समाजसेवी वा गणेश हिमाल पार्टी हुनुपर्छ भनेर भन्छु ।

अन्त्यमा....
अन्त्यमा, धादिङको लागि, रुबी भ्याली क्षेत्रको लागि एक चोटि नेत्रित्व गरेर अझै यो क्षेत्रलाई पर्यटन प्रबर्धनको लागि उचों बनाउने आकांक्षा पुरा गर्न सबैको सहयोग हुनेछ भन्ने आग्रह र अपेक्षासहित बिदा हुन्छु । जय रुबी भ्याली

प्रतिकृया दिनुहोस