Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'तामाङहरुमा अझै राजनीतिक चेतनाको कमी छ'
मंगलबार, मंसिर ७, २०७३ १९:०९:३८ | Comments

परशुराम तामाङ, पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ

परशुराम तामाङ, नेपालका आदिवासी जनजाति आन्दोलनका एक अग्रज एवं निकै लोकप्रिय नेता हुन् । ताम्सालिङ राष्ट्रिय दल खोलेर राजनीतिकमा होमिएका तामाङ पछिल्लो समय विभिन्न राजनीतिक दलसँग सहकार्य गर्दै अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिसँग उनले नेतृत्व गरेको पार्टी एकीकरण गरेका छन् । 

उनी सन् १९५२ फेब्रुअरी १८ मा नेपालको सुदुरपुर्वी क्षेत्रको भोजपुर जिल्लाको बोखिम गाउँमा जन्मिएका हुन् । मानव अधिकार तथा प्रजातान्त्रिक अधिकारका अभियन्ता तामाङ नेपाल तथा एसियामै आदिवासी आन्दोलन मध्येका एक अग्रणी अग्रज पनि हुन् । विगत ३ दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय परशुरामले नेपालका तामाङ समुदायका संघसंस्थाहरुको पुर्नगठन एवं जनजातिहरुको संगठन तथा मानव अधिकार संस्थाहरुको स्थापनामा पु¥याउनुभएको महत्वपूर्ण योगदान स्मरणीय रहेको छ । 

प्रत्यक्ष र निरन्तर वकालतका कारण राष्ट्रिय मानव अधिकार आयोगको स्थापना गर्नका लागि समेत योगदान दिएका तामाङले समाजका विभिन्न क्षेत्रमा कार्यरत मानिसहरुको पेशा तथा समाजिक हितका विषयहरुको प्रवद्र्धन गर्न राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालहरुको स्थापना गरेका छन् । 

नेपालका आदिवासी जनजातिहरुका संस्थाहरु मध्येकै सबै भन्दा ठूलो नेपाल तामाङ घेदुङका पुर्व अध्यक्ष तामाङ समेत रहेका उनी हाल उक्त संस्थाका प्रमुख सल्लाहकार छन् । त्यसका साथै उनी अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष, मानव अधिकारका लागि आदिवासी राष्ट्रियता अभियानका अध्यक्ष, सेभ दि डेमोक्र्याटिक राइट्स मुभमेन्टका सदस्य तथा नेशनल इन्भेरोमेन्टल कोलिसन अफ इन्डिजेनियस पिपुल्स अर्गनिजेसन्स अफ नेपालका मुख्य सदस्यजस्ता संस्थाको जिम्मवारी सम्हाली आफनो कार्य कुशलता देखाईसकेका छन् ।  

सन् १९९० देखी सन् २००० सम्म तामाङले नेपाल आदिवासी जनजाति महासंघ—नेफिनको संस्थापक सदस्य तथा महासचिवको जिम्मेवारी निभाएका थिए । सन् १९९० बाट हालसम्म नेफिनमा सदस्यता लिएका आदिवासी जनजातिहरुको संगठनहरुको संख्या ८ बाट ५९ वटा पुगेको छ । सन् २००० मा तामाङकै नेतृत्वमा पहिलो अन्तराष्ट्रिय तामाङ सम्मेलन भएको थियो । 

अन्तर्राष्ट्रिय क्षेत्रमा तामाङले क्षेत्रिय कार्यकारी सदस्यको रुपमा एसिया इन्डिजेनियस प्याक्टमा सन् १९९६ देखि २००० सम्म जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, वेलायतको लण्डनस्थित अन्तर्राष्ट्रिय सञ्जाल सचिवालयमा महासचिवको रुपमा २००० देखि २००२ सम्म जिम्मेवारी वहन गरेका थिए । उनी हाल इन्टरनेशनल अलाएन्स अफ इन्डिजेनियस एण्ड ट्राइबल पिपुल्स आफ दि ट्रपिकल फरेष्टस्मा अन्तर्राष्ट्रिय समन्वय समितिमा सदस्य हुन । २००२ देखि २००४ सम्म संयुक्त राष्ट्रसंघमा आदिवासी जनजातिहरुको स्थायी फोरममा एसिया आदिवासी जनजाति सम्मेलनबाट तामाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले उक्त फोरममा सन् २००५ देखि २००७ सम्म दोश्रो कार्यकाल समेत सम्हाले । 

उनले कयौं राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठीहरुमा सहभागिता जनाएका छन् । तामाङले सन् १९९३ मा भियनामा भएको मानव अधिकारको विश्व सम्मेलन, पिपुल्स प्लान फर ट्वान्टिफष्ट सेन्चुरी, कन्भेन्सन अन वायोलजिकल डाइभर्सिटी वर्कसप अन ट्रेडिसनल नलेज १९९७, वर्किङ्ग ग्रुप अन इन्डिजिनियस पपुलेसन्स, वर्किङ्ग ग्रुप अफ ह्युमेन राईट्स कमिसन अन दि पसिवल इस्टाव्लिसमेन्ट अफ दि युएन फर्मानेन्ट फोरम अन इन्डिजेनियस पिपुल्स १९९८—२००० तथा इन्टरसेसनल वर्किङ्ग ग्रुप अन ड्राफ्ट युएन डिक्लारेसन अन दि राइट्स अफ इन्डिजेनियस पिपुल्सलगायतमा सहभागिता जनाएका छन् । 

पार्टिज टु कन्भेन्सन अन वायोलजिकल डाईभर्सिटि सम्मेलन, पार्टिज टु यनाइटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाईमेट चेन्ज सम्मेलन, वल्र्ड कन्फिरेन्स अगेन्स्ट रेसिजम, डर्वान २००१, वल्र्ड इन्टेलुक्चल प्रपर्टीको क्षेत्रिय सम्मेलन इरान लगायतमा पनि उनले भाग लिई सकेका छन् ।

असोका फेलो १९९०—१९९३, इन्टरनेशनल गेष्ट अफअनर्स १९९२, एकेडेमी स्कलर १९९४, राष्ट्रिय शिक्षा पुरस्कार १९९४, नेशनल डिकेड हिरो फर ह्युमेन राइट्स २०००, नेशनल तामाङ एमिनेन्ट पर्सनालिटि अनर्स २०००, लास्सो अवार्ड २००२ र अन्तर्राष्ट्रिरुपमा आदिवासी आन्दोलनको नेतृत्वदायी भूमिका निभाए वापत नेपाल आदिवासी महासंघबाट समेत विशेष सम्मान दिइएको थियो । तामाङले विभिन्न क्षेत्रका लेख तथा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ । उनका प्रकाशनहरुमा सभा सम्मेलनका दस्तावेज तथा आदिवासी जनजातिहरुका आधारभुत स्वतन्त्रतालगायतका लेख रचनाहरु समेटिएका छन् । 

उनका नेशनालिज्म एण्ड इन्डिजिनियस नेशनालिटिज, तामाङ नेशन, तामाङ दाहसंस्कार प्रचलनहरु, दि तामाङः फेस अफ नेपाल, तम्बा कइतेनः तामाङसेलो, तामाङ राष्ट्र तथा ल्होछार परम्परा, तामाङ हिलिङ इन दि हिमालयः एन इथ्नो—मेडिकल इस्टडिज, भारत—नेपाल व्यापार सम्बन्ध, भोजपुरमा धातु उद्योगबारे अध्ययन र वायोडाइभर्सिटिज, प्रोटेक्टेड एरियाज, एक्सेस एण्ड बेनिफिट सेयरिङजस्ता दर्जनौं पुस्तकहरु प्रकाशित छन् ।तामाङले एसिया, अमेरिका, अफ्रिका र युरोपका ३० भन्दा बढी मुलुकहरुको भ्रमण गर्दै राष्ट्रिय तथा अन्तार्राष्ट्रिय फोरमहरुमा आदिवासीका आवाजहरुलाई उठाउँदै आएका छन् । उनै तामाङसँग नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले गरेको कुराकानीको सारांशः

तपाईले नेतृत्व गरेको ताम्सालिङ राष्ट्रिय दल विभिन्न राजनीतिक पार्टीसँग समाहित गर्दै अहिले नयाँ शक्तिमा विलिन भो, होइन र ?

मैले संघीय जनमुक्ति पार्टी (तत्कालीन ताम्सालीङ–नेपाल राष्ट्रिय दल) को तर्फबाट  र डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको तर्फबाट दुइ दलबीच एकता गर्ने सहमतिपत्रमा २०७३ जेष्ठ २९ गते हस्ताक्षर गरेका हौं । संघीय जनमुक्ति पार्टीले उठाउँदैआएको निशर्त धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, पहिचान र स्वायत्ततासहितको संघीयता, बहुराष्ट्रिय राज्य र बहुलराष्ट्रवाद, समाजवादलाई नयाँ शक्ति नेपालले मान्ने र नयाँ शक्तिले उठाएको “विकास र समृद्धिको अजेण्डा र ५ स” को राजनीतिक कार्यदिशालाई मान्ने हाम्रो सहमति हो । संविधान र प्रदेशको नाम, संख्या र सीमानासम्बन्धी विवाद राज्य पुनःसंरचना आयोगको सिफारिसको आधारमा सम्बोधन हुनुपर्छ । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र जनतान्त्रिक समाजवाद÷बाम–लोकतन्त्रजस्ता विषयहरु निरन्तर छलफल गर्दै महाधिवेशनबाट टुंगो गर्ने पनि सहमति हो । हाम्रो पार्टीको शक्तिको आधार–जनजाति र दलित थियो भने नयाँ शक्तिको आधार – खसआर्य । तसर्थ यो विलयको कुरा होइन, विभाजित नेपाली समाजलाई राष्ट्रिय एकीकरणको अभियान चलाउदै सिंगो मुलुकको विकास र समृद्धिका लागि पार्टी एकता हो ।

भनेपछि किन तपाईको पार्टीले तामाङ समुदायको जनघनत्व भएको ताम्सालिङ क्षेत्रमा आफनो पकड जमाउन सकेन ?

हाम्रो तत्कालीन पार्टी जनतामा लोकप्रिय नै थियो । मात्र देशी विदेशी शक्तिहरुले पहिचानवादी दलहरुलाई हराउने “ग्राण्ड डिजाइन” अन्तर्गत धाधली र षडयन्त्र गरेर हामी (ताम्सालीङ÷संघीय गणतान्त्रिक समाजवादी पार्टी) लाई हराएका हुन्, संविधानसभाको निर्वाचनमा एकएक सीट त जितेका थियौं ।  राष्ट्रिय जनमुक्ति पार्टीसँग एकता भएपछि  हाम्रो संघीय जनमुक्ति पार्टीको तीन सीटको तागत थियो ।

सिंगो तामाङ समुदायको सम्रग अवस्थालाई अहिले तपाई कसरी मुल्याङकन गर्नुहुन्छ ?

तामाङहरु नेपाली समाजको खसआर्यभन्दा मात्र होइन, आदिवासीजनजाति कै अन्य समुहहरुसँग तुलना गर्दा सामाजिक, आर्थिक, राजनीतिक, सबै क्षेत्रमा पछाडि छन् । मानव विकास सूचांकका मानकहरु शिक्षा, स्वास्थ्ये र आम्दानी, सबै सूचकहरुमा दलित समुदायको हाराहारीमा रहेको देखिन्छ ।

विगतको दाँजोमा भन्दा अहिले तामाङ समुदायमा कस्तो परिर्वतन देख्नुहुन्छ ?

अहिले तामाङहरुमा सांस्कृतिक चेतना आएको छ तर राजनीतिक चेतना छैन । अधिकांश तामाङहरु काठमाडौको बैभव भोग गर्न पाउदैनन् तर हेर्ने ठाउँमा काठमाडौवरिपरी बसोबास गर्छन् । यसको demonstration effect  तामाङहरुको दैनिकीमा परेको छ । यो राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन र भूमण्डलीकरणको चेपुवा र चेतले तामाङहरुको चेत खोल्ने पक्का छ । यो समुदायले विकासमा छिटो take off  लिने  कुरामा म विश्वस्त छु ।

राजधानी काठमाडौं उपत्यका वरिपरिका जिल्लाहरुमा बाहुल्यता जमाएर बसेका तामाङहरु अहिलेसम्म किन हरेक क्षेत्रमा पिछडिनु परेको होला ?

अहिले तामाङहरुको मुख्य बसोबासको केन्द्र काठमाडौं वरिपरीका जिल्लाहरु नै हुन् । परप्राचीनकालदेखि हिमालय पर्वतमालाको केन्द्रीय खण्डको काठमाडौलगायतको नेपालको मध्य पहाडी भाग नै तामाङ जातिको पुर्खौली भूमि हो । यसको आफनै धर्म, भाषा, संस्कृति, जीवनशैली छन् जुन हिन्दु खसआर्य जातिको संस्कृतिको मूल्य र मान्यतासँग मेल खादैन । त्यसैले काठमाडौका शासक समुदायले यो जातिलाई कहिल्यै सजातीय ठानेन । यो समुदाय रणनैतिक महत्वको स्थानमा बस्ने भएकाले शासक वर्गका लागि यो समुदाय सधैं threat को रुपमा रह्यो । यही कारण शासक वर्गले तामाङ माथि दुइ धारे तलवार चलायोः एकातिर, जातीय विभेद (बिसं. १९१०जस्ता कानून) लाद्ने र अर्कोतिर, राज्यसत्ताको पहुँच र नियन्त्रणबाट निषेध गर्ने । त्यसैले इतिहासमा तामाङहरुले आफू माथिको दमनका बिरुद्ध दुई चोटी सशस्त्र विद्रोह पनि ग¥यो । यो बिद्रोहको निर्ममतापूर्वक दमन गरियो र धेरै तामाङहरुले पुर्खौली थलो नै छोडे । यो नै  थियो प्रमुख कारण । दोस्रो कारण थियो कालान्तरमा तामाङले आफनो स्थितिलाई भाग्यका रुपमा अन्तस्कृत गर्नु । अनि बाँच्ने रणनीतिका रुपमा कि त दरबारको चाकडि गर्ने कि त isolation मा बस्ने । त्यसले पछिल्लो कालमा खासगरी बहुदल आएपछि नेताको चाकडिका रुपमा निरन्तरता पायो । तामाङहरु अझै यो हरुवा मनोबिज्ञान (victim psychology) बाट मुक्त भएका छैनन् । जुन समुदाय आफनै थातथलोमा innovation मा बस्छ र नयाँ दुनियाले जन्माएका चुनौतीहरुसँग सामना गर्ने, जुझ्ने ष्ललयखबतष्यल गर्दैन त्यो समुदाय पछि पर्छ । यो पछि पर्नुको तेस्रो कारण हो भन्ने मलाई लाग्छ ।

 नेपाल तामाङ घेदुङको लामो समयसम्म नेतृत्व गर्नुभयो । किन घेदुङ सिंगो तामाङहरुको छाता संगठन बन्न सकेन ?

हो, तुलनात्मक रुपमा म लामै समयदेखि नेपाल तामाङ घेदुङमा जोडिएको छु । मेरो बुझाई के छ भने सबै तामाङहरु यसमा कुनै न कुनै तरिकाले जोडिएका छन् । जुन बेला म जोडिनु आइपुगे, त्यसवेला तामाङको राष्ट्रिय स्तरको देशभरी फैलिएको संगठन थिएन, सिंगो तामाङ जातिको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भाषिक, धार्मिक मुद्दा उठाउने भिजन र मिसन भएको तामाङ संस्था थिएन, र विभिन्न आस्थामा बाडिएका तामाङहरुलाई एक सूत्रमा ल्याउने कला र नेतृत्व थिएन । देशको राजनीतिक परिस्थिति, तामाङ समाज विकासको ऐतिहासिक आवश्यकता र विश्वमा विकास भएको ज्ञान, प्रविधि र संचारको चुनौतीले तामाङ समाजको विकास र तामाङ संस्थाको पुनर्निर्माणको काम मेरो पनि भागमा प¥यो । यसको पुनर्उत्थानमा योगदान गर्ने मलाई सौभाग्य मिल्यो र तामाङहरुले मेरो भिजन, मिसन र कार्य दक्षता हेरेर होला जिम्मेवारी पनि दिनुभयो । यसरी म संस्थागत रुपमा जोडिए । फरक यति हो म सिधै संस्थामा जोडिए अरु सबै तामाङहरु तामाङ घेदुङले उठान वा संचालन गरेको मुद्दा, संघर्ष र अभियानमा जोडिएका छन् । भिन्न अस्तित्व राख्ने तामाङ संस्था पनि ल्होछारमा जोडिन्छन् । अब संसारमा घेदुङको अभियानमा न जोडिएको तामाङ पाउनु दुर्लभ छ । यसतो प्रकृति र क्षेत्र भएको कुनै अर्को तामाङको संस्था छ भन्ने मलाई लागेको छैन । भन्नुस यो तामाङको छाता संगठन हो कि होइन ?

घेदुङमा परशुराम तामाङको परिवारवादको हावी कारण सबै तामाङको घेदुङ हुन सकेन भन्ने आरोप पनि छ नि ?
जहाँ सम्म परिवारवादको आरोप छ, यसमा कुनै सत्यता छैन । ०२९/०३० सालदेखि तामाङ जातिको विकासका गतिविधिहरु शुरु गरेका थियौं । यसबीचमा भोटे पिकनिक, बनभोज, पत्रिका प्रकाशन, तामाङ प्रथम सम्मेलन, तामाङ भाषा, संस्कृति तथा विकास समितिजस्ता संस्थाहरु मार्फत गतिविधि गरिए । तर वास्तबमा तामाङ संघसंस्थालाई एकीकृत गर्ने र घेदुङलाई पुनस्र्थापना गर्ने काम २०४५ मा भयो । यसको महाधिवेशन २०४७ मा गरियो । त्यसवेला देखि हालसम्म नेपाल तामाङ घेदुङले आठौं महाधिवेशन सम्पन्न गरिसकेको छ । तिन्मा ६२ जिल्ला सम्मका प्रतिनिधिहरुले प्रतिनिधित्व गरेका छन् । अहिले सम्ममा आठ पटक यसको नेतृत्वमा परिवर्तन भइसकेको छ । यो तामाङको एक मात्र लोकतान्त्रिक पद्धतिद्धारा संचालित राष्ट्रिय स्तरको संगठन हो । मैले घेदुङको सक्रिय नेतृत्व छोडेको १६ बर्ष भइसक्यो । खोइ, कहाँ परिवारवाद भयो ? आरोप लगाउनेहरले चलाएको  तामाङ संस्था, स्थापना गरेको दिनदेखि, कतिको त २० औं बर्षदेखि एकै व्यक्ति अध्यक्ष रहेका छन् । 

तपाइले घेदुङको नेतृत्व गर्दा तामाङ समुदायको हितका लागि के कस्ता कार्य गर्नुभयो त ?

आफूले आफनो कामको व्याख्या गर्नु कति राम्रो होला ? यो बिषयमा खोज, अनुसन्धान र लेखाजोखा गर्नु तपाईहरु कै जिम्मा छोड्नु उचित ठान्छु । यहाँ केही प्रमुख कामको संकेत सम्म गर्नु चाहन्छु : (१)  एकीकृत तामाङ संस्था घेदुङको पुनर्उत्थान गर्नु (२) तामाङ जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्नु (३) तामाङको महान पर्व ल्होछारलाई पहिलो पल्ट राजकीय मान्यता र सार्वजनिक विदा घोषणा गराउनु (४) तामाङलाई निजामति, प्रहरी, सैनिक सेवामा आरक्षणको व्यवस्था गर्नु (५) रेडियो नेपाल तथा मेट्रो एफएमबाट तामाङ भाषालगायत विभिन्न भाषामा समाचार तथा कार्यक्रम प्रसारण (६) तामाङ समाजको सुधारको लागि तामाङ संस्कार संस्कृति निर्देशिका निर्माण (७)  तामाङ भेष भूषाको निर्धारण (८) तामाङ पवित्र बनस्पति र जनावरको निर्णय जस्तो रुखमा बोधिचित्त बृक्ष, फुलमा कोकोम्हेन्दो र जनावरमा हाब्रे (रातो पाण्डा), (९)  आदिवासी जनजाति उत्थान प्रतिष्ठानको गठनमा भूमिका (१०)  नवौं योजनादेख जनजाति विकासको लागि गाविससम्म बजेटको व्यवस्था (११) नेपाल जनजाति महासंघको गठन (१२)  अन्तर्राष्ट्रिय तामाङ परिषदको गठन (१३)  तामाङ जातिका २० बर्षे विकास योजना निर्माण (१३)  मात्रृभाषामा शिक्षा शुरु र तामाङ भाषाको वर्ण र लिपिको पहिचान (१५)  राष्ट्रसंघीय आदिवासी मञ्चको गठनमा योगदान (१६)  आदिवासी जातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र पारीत गराउनुमा भूमिका, (१७)  तामाङ जातिको स्वशासन र स्वायत्तता (ताम्सालीङ)को अवधारणा ल्याउनु र संघीय ढाँचाको खाका प्रस्तुत, (१८) राष्ट्रसंघीय आदिवासी स्थायी मञ्चको पहिलो उपाध्यक्ष, आदि आदि । समष्टीमा भन्नु पर्दा तामाङ जातिलगायतको उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक र महिलाको पहिचान र अधिकार स्थापित गरियो । अब संघीय गणतन्त्र नेपालमा ताम्सालीङ स्वायत्त राज्यको निर्माणको काम बाँकी छ ।

जहाँ सम्म परिवारवादको आरोप छ, यसमा कुनै सत्यता छैन । ०२९÷०३० सालदेखि तामाङ जातिको विकासका गतिविधिहरु शुरु गरेका थियौं । यसबीचमा भोटे पिकनिक, बनभोज, पत्रिका प्रकाशन, तामाङ प्रथम सम्मेलन, तामाङ भाषा, संस्कृति तथा विकास समितिजस्ता संस्थाहरु मार्फत गतिविधि गरिए । तर वास्तबमा तामाङ संघसंस्थालाई एकीकृत गर्ने र घेदुङलाई पुनस्र्थापना गर्ने काम २०४५ मा भयो । यसको महाधिवेशन २०४७ मा गरियो । त्यसवेला देखि हालसम्म नेपाल तामाङ घेदुङले आठौं महाधिवेशन सम्पन्न गरिसकेको छ । तिन्मा ६२ जिल्ला सम्मका प्रतिनिधिहरुले प्रतिनिधित्व गरेका छन् । अहिले सम्ममा आठ पटक यसको नेतृत्वमा परिवर्तन भइसकेको छ । यो तामाङको एक मात्र लोकतान्त्रिक पद्धतिद्धारा संचालित राष्ट्रिय स्तरको संगठन हो । मैले घेदुङको सक्रिय नेतृत्व छोडेको १६ बर्ष भइसक्यो । खोइ, कहाँ परिवारवाद भयो ? आरोप लगाउनेहरले चलाएको  तामाङ संस्था, स्थापना गरेको दिनदेखि, कतिको त २०औं बर्षदेखि एकै व्यक्ति अध्यक्ष रहेका छन् । 

तामाङहरुको गाउँ बस्तीमा अहिले बल्ल ‘म तामाङ हुँ’ भन्ने मात्र भावना पलाएको तर राजनीतिक हिसाबले अहिलेसम्म सचेत र सजग नभएको आरोप पनि छ नि ?

यो भनाईमा सत्यता छ । राजनीति र लोकतन्त्रमा संख्याको महत्व हुन्छ । लोकतन्त्रमा बहुमतले नै शासन गर्दछ र त्यसलाई कानूनी मान्यता पनि हुन्छ । चेतनशील जनसंख्या बल हो तर चेतनाहीन सख्या बोझ मात्र हो । सन् २०११ को राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार तामाङको जनसंख्या १५,३९,८३० थियो । यो जनसंख्या भन्दा कम जनसंख्या भएको गिनी विसाउ, बहराइन, टिनीडाड र टाबागो, इस्टोनिया, मरिसियस, गिनी, इस्ट टिमोर, स्वाजील्याण्ड, कामोरस, जिवाउटी, फिजी, साइप्रस, भुटान, गुयना, मोन्टेनेग्रो, लक्जेम्बर्ग, सुरिनाम, भेटिकनजस्ता विश्वमा ४७ वटा राज्यहरु छन् ।  यसरी तुलना गर्दा तामाङको संख्या छुटै देश निर्माण गर्न र संचालन गर्न पर्याप्त जनसंख्या हो तर त्यो संख्याले ताम्सालीङ ल्याउनु सकेन । यो गम्भिर समीक्षाको बिषय होला तर यसको मुख्य कारण चाँही तामाङहरुमा राजनीतिक चेतनाकै कमि हो ।
 
विश्वभरि छरिएर रहेका तामाङहरुको संगठनहरुसँग घेदुङले कस्तो खालका सहकार्य गर्नुपर्दछ जस्तो लाग्दछ ?

नेपालमा जुनसुकै विचारमा आस्था राख्ने भए पनि सबै अटाउने संस्था, घेदङु नै हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना भएको तामाङको  संस्था पनि घेदुङ नै हो । मुद्दाका दृष्टिले स्पष्ट संस्था पनि घेदुङ नै हो । यसर्थ संसारभरीका तामाङ संस्थाहरुले संगठनात्मक रुपमा घेदुङको सदस्य लिएर सहसंस्थाका रुपमा जोडिने र सबै तामाङहरु आन्दोलनमा जोडिने नीति लिनु पर्दछ ।

नेपालमा जुनसुकै विचारमा आस्था राख्ने भए पनि सबै अटाउने संस्था, घेदङु नै हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना भएको तामाङको  संस्था पनि घेदुङ नै हो । मुद्दाका दृष्टिले स्पष्ट संस्था पनि घेदुङ नै हो । यसर्थ संसारभरीका तामाङ संस्थाहरुले संगठनात्मक रुपमा घेदुङको सदस्य लिएर सहसंस्थाका रुपमा जोडिने र सबै तामाङहरु आन्दोलनमा जोडिने नीति लिनु पर्दछ ।

अहिलेका तामाङ युवा पुस्तालाई आफनो भाषा, धर्म, संस्कार र संस्कृतिप्रति माया र लगाव बढाउन के गर्नु पर्ला ?

तामाङ संस्कृति ताम्बावाद, बोम्बोवाद, लामावाद र मूर्मिल्याण्डको क्रियात्मक अन्तरघुलनको परिणामका रुपमा विकसित संस्कृति हो । तामाङ भाषा यो हिमालय क्षेत्रका जनजातिलगायत तिब्बतीभाषाको माउभाषा, प्राकृत भाषा हो । तर आज तामाङको भाषा, धर्म, संस्कृति, संस्कार र पहिचान अझै तिब्बतीकरण, हिन्दुकरण, खसआर्यकरण, भूमण्डलीकरणको प्रभाव र प्रवाहबाट संकटमा परेको छ । यसलाई पहिचानको राजनीति र राष्ट्रिय मुक्ति आन्दोलनले मात्र संरक्षण र अभ्याशमा स्थापित गर्नु सक्छ । अब इतिहास सम्झेर प्रफुल्लित हुने वा निराश हुने मानसिकताबाट यसको विकास हुदैन । सबै अरुको संस्कृति राम्रो, सबै हाम्रो संस्कृति खराब भन्ने परावलम्बी सोचबाट पनि विकास हुँदैन ।  आफनो मौलिकताको पहिचान गर्ने र स्वतन्त्र रुपमा आफनै खालको मौलिक विकास गर्ने स्वाबलम्बी, innovative, सीर्जनशील युवाहरुको देश र तामाङ समाजलाई खाचो छ । बुद्ध धर्म त एउटै थियो तर कालान्तरमा जसरी नेवार बुद्धधर्म, तिब्बती लामाबुद्धधर्मको विकास भयो त्यसरी नै तामाङ बुद्धधर्म, तामाङ पात्रो, तामाङ संस्कृतिजस्ता नयाँ बस्तुको प्रवर्तक बन्नुस् – वुद्ध बन्नुस् । मेरो सल्लाह र शुभकामना यही हो युवा वर्गलाई ।

अन्त्यमा के आफना कुरा बताइदिनुहोस न ।

जुन जाति/राष्ट्रले आफ्नो इतिहास र भूगोल बिर्सन्छ, त्यो जाति/राष्ट्रले आफ्नो अस्तित्व पनि गुमाउँछ । तामाङ जातिको अस्तित्व, स्वाभिमान, पहिचान र समृद्धिको गन्तव्य हो – ताम्सालीङ । तसर्थ हाम्रो एक सूत्रीय अभिष्ट हो आत्मनिर्णयको अधिकारसहितको ताम्सालीङ स्वायत्त प्रदेशको स्थापना । मेरो शुभेक्षा छ यो यात्रामा तपाइँको खुट्टा नकामोस् ।  


 

प्रतिकृया दिनुहोस