Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
'जातिय भेदभावको जालोलाई च्यात्नु नै तामाङहरुको प्रमुख चुनौती हो'
शनिबार, मंसिर ४, २०७३ १०:४५:०० | Comments

डेभिड हाल्वर्ग, प्राध्यापक तथा मानवशास्त्री
र्कोनेल विश्वविद्यालय, न्यूयोर्क

डेभिड हाल्वर्ग, अमेरिकाको न्यूयोर्कमा रहेको इथिकास्थित र्कोनेल विश्वविद्यालयका मानवशास्त्री तथा प्रध्यापक हुन् । उनले नेपालका तिब्बती—बर्मेली भाषी अन्तर्गतका तामाङ आदिवासी जनजातिका बारेमा लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । 

सन् १९७५ देखि लगातार तामाङ समुदायसँग नजिकिएर उनले उनीहरुको भाषा, धर्म, संस्कार, संस्कृति, इतिहासलगायतका वियषमा दर्जनौ लेखरचना, कार्यपत्र तथा पुस्तकहरु प्रकाशित गरिसकेका छन् । स्पष्टरुपमा नेपाली र तामाङ बोल्ने प्राध्यापक हाल्वर्गले निरन्तररुपमा जारी जातिय भेद्भावको जालोलाई च्यात्नु नै अहिलेका तामाङहरुको प्रमुख चुनौती रहेको बताउँछन् । प्राध्यापक हाल्वर्गसँग तामाङ समुदायको विविधि विषयमा नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले गरेको कुराकानीको सारांशः 

तपाई आजकल के गर्दै हुनुहुन्छ? 
म र्कोनेल विश्वविद्यालयमा प्राध्यापककोरुपमा काम गरिरहेको छु । यसका साथै विद्यावारिधी गरिरहेका विद्यार्थीहरुको सुपरिवेक्षण पनि गर्दैछु । राणाकालदेखि हालसम्म नेपालका तामाङ समुदायको अवस्थाको बारेमा मैले लेखिरहेको पुस्तकको पाण्डुलिपिलाई पुनः निरन्तरता दिँदैछु । 

तामाङहरुको जातीय इतिहास सम्बन्धी पुस्तक लेखिरहेको छु । म र मेरी धर्मपत्नी क्याथरिन एस मार्च मिलेर स्थानीय गाउँलेका अनुभव र पुरातात्विक अभिलेखहरुका आधारमा बलजफ्ती श्रम शिविरमा लगाउने तत्कालिन राज्य प्रणालीको खोजी गरी पुनः उजागर प्रयास गरिरहेका छौं । यस्तो खालको सामन्ती व्यवस्था तामाङ समुदायमाथि सन् १९६० सम्म नै व्याप्त थियो जसको परिणामले पनि हालको समसामयिक नेपालको अवस्थाको बारेको बुझाईमा ठुलो महत्व राख्दछ । 

तामाङहरुको सामाजिक संस्कार र सामुदायिक व्यवस्था सम्बन्धी अध्ययनको दायराबाट अझ फराकिलो बनाएर राज्यको निर्माण, राजनीति र संस्कृति, सामाजिक उत्पत्ति तथा समाजिक हिंसामा मात्र केन्द्रित नबनाएर हिमाली क्षेत्रको मानवीय इतिहासकै खोजी गर्न प्रेरित गरेको छ । यस्तै, दक्षिण एसियाको बहुर्राष्ट्रिय सामाजिक सम्बन्धहरु एवं मानवीय शक्ति तथा विशेषरुपमा अदृष्य दैवी शक्तिहरुका बारेमा पनि अध्ययन गर्न सहयोग पुग्यो । 

नेपालमा जातीय पहिचानका आधारमा भईरहेका राजनीतिक विकासक्रमहरुलाई नजिकबाट नियालिरहेको छु । त्यस्तै, सशस्त्र माओवादी द्धन्द्धकालमा तामाङ समुदायमा पारेका असरहरु र उनीहरुको संस्कार विकासक्रमहरुका बारेमा पनि म अध्ययन गरिरहेको छु । मानवीय विज्ञान अन्तर्गत ज्ञानको उत्पादन तथा खोजीका लागि जातीय पद्धति सम्मिलित सैद्धान्तिक शास्त्रप्रति मेरो दृढ लगाव छ । नेपालमा मसँग काम गर्ने अनुसन्धानकर्ता र त्यहाँका शैक्षिक संस्थाहरुसँग पनि म अत्यन्तै नजिक रहेर काम गरिरहेको छु । वितेको १० वर्षमा हामीले त्रिभुवन विश्वविद्यालयसँग साझा कार्यक्रम बनाएका छौं । 

नेपालका भुकम्प प्रभावित क्षेत्रको अवलोकन गरिसकेपछि त्यहाँका तामाङ समुदायलाई भविष्यमा पनि आउन सक्ने प्रकोपहरुबाट सुरक्षित रहन कस्तो प्रशिक्षण दिनुभयो ? 
मैले प्रत्यक्षरुपमा त त्यस्तो केही गर्न सकिन तर स्थानीयरुपमा उपलब्ध स्रोत समानहरुको उपयोग गरेर भुकम्प प्रतिरोधी संरचनाहरु निर्माण गर्ने काममा स्थानीय समुदायलाई म पुर्ण सहयोग गर्दछु ।

भुकम्पले स्थानीय तामाङ समुदायलाई कस्तो असर पारेको छ ? 

भुकम्पले ताम्सालिङ क्षेत्रमा त विध्वंस नै छ । इतिहासबाटै शोषित पीडित भएका तामाङहरु भर्खरै व्युँतिदै गर्दा आएको भुकम्पले घरबारी नै ध्वस्त बनाईदिएपछि फेरि उही पछाडी धकेलिएका छन् । स्थानीय समुदायहरु अझै पनि सरकारी सहयोगको प्रतिक्षा गरिरहेका छन्, त्यसको कुनै छाँटकाँट छैन् । नेपालको राज्यप्रणलीभित्र उच्च वर्गका मानिसको वर्चस्व भएकाले तामाङ, आदिवासी जनजाति, मधेसी, दलितलगायतका अन्य समुदायलाई नेपाली समुदायकै सदस्यहरुको रुपमा अझै पनि नहेरिएको गुनासो बढी छ । 

राजधानी वरिपरिका जिल्लाहरुमा बहुसंख्यक रुपले बसोबास गरिरहे पनि तामाङहरु हरेक क्षेत्रमा पिछडिनु परेको होला ?
जातिवादी सामन्ती मानसिकताले माथिल्लो वर्गका सदस्यले मुख्य क्षेत्रमा तामाङहरुलाई सहभागी गराएका छैनन् । यथार्थमा नेपालको सरकारी क्षेत्रमा यहाँ राज्यले नै तामाङ समुदायलाई पछाडि पारिरहेको छ । स्थानीय समुदायको सशक्तिकरण गराउने प्रभावकारी संघीय संरचना नै उत्तम विकल्प हो । 

तामाङहरुको कुन विषयमा तपाईले अध्ययन गर्नुभयो ? 
सुरुमा उनीहरुको समाजिक संरचना, संस्कार तथा विभिन्न मान्यताहरुबारे अध्ययन गरेको थिए । काठमाण्डौं उपत्यकाकोे उत्तरपश्चिमी भेगमा रहेका तामाङ समुदायबीच प्रचलित दास प्रथा (रकम) को बारेमा अध्ययन गरेको थिँए । हालसालै मैले आदिवासी जनजातिहरुको उदयको बारेमा अध्ययन गरेको थिँए । यसले तामाङ जातिको समग्र समृद्धिमा अन्तरसम्बन्ध राख्दछ । 

यिनीहरुको सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक पक्षमा कस्तो परिवर्तन पाउनुभएको छ ? 
सन् १९७५ देखि १९७७ सम्म नुवाकोट जिल्लाको मनकामना  गाविसको मानेगाङमा म पहिलोपटक बस्दा उच्च माध्यामिक विद्यालयसम्म मात्र अध्ययन गरेका धेरै कम मानिसहरु थिए । विद्यालय शिक्षा र साक्षरता त केवल आदर्श मात्रै थियो । 

अहिले आएर मानिसहरु शहरतर्फ बसाईसराई, भारत तथा खाडी मुलुकहरुमा काम गर्न जाने क्रमले समाजिक तथा आर्थिक क्षेत्रमा निकै ठूलो अन्तर ल्याएको छ । मानेगाङमा १८ देखि ६० बर्ष उमेर समुहका ६० प्रतिशत मानिसहरु गाउँमै छैनन् । तामाङहरुको संस्कारमा समेत धेरै परिवर्तन भएको छ । पहिले फुपु—मामाबीचको विहेको चलन विस्तारै कम हुँदै गएको छ । वौद्धमार्गीहरु अझ परिष्कृतरुपमा बढ्दैछन् भने दैवी शक्ति—झारफुकको प्रचलन अत्याधिक कम छ । पुराना तामाङ सेलो र म्हेन्दोमाया भाकाहरुहरु लोप भएका छन् । कयौं प्रचलित संस्कार र परम्पराहरु त्यागिएका वा परिवर्तन भएका छन् । 

अहिले तामाङ समुदायमाथि देखिएका प्रमुख चुनौतीहरु के—के हुन? 
निरन्तररुपमा जारी जातिय भेद्भावको जालोलाई च्यात्नु नै तामाङहरुको प्रमुख चुनौती देख्दछु । 

४२ बर्षसम्म तामाङ समुदायको लामो अध्ययनको क्रममा उनीहरुको कुन पक्षले तपाईलाई प्रभावित पा¥यो ?
तामाङहरुको इमान्दारिता, उदारता, सामुहिक भावना र आत्मिय स्वागतले निकै प्रभावित  पारेको छ । 

अन्त्यमा...
त्यस्ता कयौं विषयहरु छन् । जुन ती सबै पक्षहरु मेरो प्रकाशोन्मुख पुस्तकमा समेट्ने प्रयास गर्नेछु । 

प्रतिकृया दिनुहोस