Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'साहित्यिक पत्रकारितालाई मूलधारमा ल्याउनैपर्छ'
बुधबार, मंसिर १, २०७३ ०२:०२:५२ | Comments
गोपीकृष्ण ढुंगाना, पत्रकार

पत्रकारितामा तपाईको प्रवेश ?
शिक्षक मासिक पत्रिकामा २०५९ सालमा स्वयंसेवक बनेर केही महिना काम गरें । त्यसपछि ‘एक्काइसौं शताब्दी’ साप्ताहिकमा नजानेरै फिचर लेख्थें । सायद पत्रकारिताको सुरूवात यही थियो । छ महिनामा छोड्नुप¥यो । साहित्यिक मित्र प्रकाश सिलवालले ‘हिमालय टाइम्स’ मा प्रुफरिडर पद खाली छ भनेपछि त्यहाँ करिब एक वर्ष काम गरें ।

कसरी पत्रकार बन्नुभयो ?
अंग्रेजीमा एमएड पढ्न २०५६ सालमा कीर्तिपुर पुग्दा सुरेश हाचेकालीसँग भेट भयो । उनकै प्रेरणाले साहित्य लेख्ने मैले त्यस्तै विधा खोज्नेक्रममा पत्रकारिता रोज्न पुगें । साथी स्कुल कलेज पढाउन गाउँतिर गए । प्रुफरिडरहुँदा नेपाल प्रेस इन्स्टिच्यूटमा पत्रकारिताको डिप्लोमा गरें । तालिम अवधिमै अन्नपूर्ण पोष्टमा खुल्यो । ‘ट्रेनी जर्नालिस्ट’ का रूपमा २०६१ सालमा प्रवेश गरें । डेढ वर्षदेखि शैली परिशिष्टांकको संयोजकको भूमिका निभाइरहेको छु ।


पत्रकारिता पेशाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
साहित्य सिर्जना फुर्सदको र पत्रकारिता हतारको साहित्य भएकाले दुवै शब्द सिर्जनासँग सम्बन्धित छन् । साथीसँगै लागेको भए बढीमा गाउँमा प्लसटुमा चिफ भएर बस्थें होला । काभ्रेको दुर्गममा पुगें पनि तर छनोटमा परिनँ सायद मलाई राजधानीमा बसेर पत्रकार नै बन्नु थियो । अन्नपूर्ण पोष्टमा परिशिष्टांकहरू प्रकाशन हुन थालेपछि मलाई यिनले उर्वर बनाए । शब्दमा अघाउँजी खेल्न पाएको छु ।

यो पेशामा कत्तिको पैसा कमाउनुभयो ?
मलाई अहिले पैसा होइन, करिअर बनाउनु छ । पत्रकारिताको झन्डै एक दसकको अवधिमा राजधानीमा बसेर विविध क्षेत्र र तिनमा संलग्न मानिस अनि विश्व समाज चिहाउन र नियाल्न पाएँ । अर्बौं हुनेलाई पनि पैसा नपुगेको पनि देखें । म सकारात्मक सोच राख्ने र सन्तुष्टि लिन सक्नेलाई भएकाले दुई छाक खान, लाउन र बस्न शुद्ध कमाइले पुगेकै छ ।

एउटा प्रतिष्ठित दैनिक अखबारमा काम गरिरहनुभएको छ, शुभलाभको अवसर कति आउँछन् ?
म यस्तो शुभलाभमा विश्वास गर्दिनँ । किनकी यो दीगो श्रोत होइन । यो श्रोतको खोजी गरेको भए केही कमाउँथें होला तर यता ध्यान नदिएर होला पछि लाग्नेहरू छैनन् ।

राम्रो लेखेवापत पैसा लिनुभएको छ कि छैन ?
राम्रो लेख्नु मेरो पत्रकारिता पेशाको धर्म हो, त्यो लेखेवापत पैसा लिनु भनेको पेशाको मर्मविपरित हो । मलाई अन्नपूर्ण पोष्टले नियमित तलब र भत्ता खुवाएकै छ ।

पत्रकारले ब्ल्याकमेल गर्छन् भनिन्छ नि, तपाईको बुझाई कस्तो छ ?
गर्नेहरू पनि छन् । मलाई थाहा छ, शुद्ध कमाईमा बाँच्नेहरू धेरै धनी बन्न सक्दैनन् । धनको भन्दा मनको संसारमा रमाउने भएकाले ब्ल्याकमेल गरेर समाचार लेख्नु छैन । प्लस टु र स्नातक तहलाई पत्रकारिता पढाउँछु, त्यसैले बौद्धिक क्षेत्रमा रहेर बेइमानी गर्नु छैन ।

नेपाली पत्रकारिता विश्वसनीय र मर्यादित बन्न सकेको छैन, किन ?
लेखेवापत पैसा माग्ने र ब्ल्याकमेल गर्नेहरू हुञ्जेल पत्रकारिता पेशा मर्यादित र विश्वसनीय हुँदैन । समाजप्रति उत्तरदायी हुने र करिअर बनाउनेको बहुमत हुने हो भने बल्ल यो पेशा विश्वसनीय र मर्यादित हुन्छ । यसैले मैले पुनः आमसञ्चार तथा पत्रकारिताको डिग्री लिएँ । त्यसका लागि सरकारले पनि वातावरण बनाउनुपर्छ । अनुभवले मात्र चल्दै आएको यो क्षेत्र अब पत्रकारितामा स्नातकोत्तर तह उत्तीर्णहरूको विवेक पनि मिसिनुपर्छ ।

दैनिक पत्रिकामा काम गर्ने पत्रकारले साना लगानीमा काम गर्ने पत्रकारलाई मान्छे गन्दैनन् भन्ने कुरा कति साँचो हो ?
म ‘समदर्शी’ भावको मान्छे । पियन होस् वा पाले दाइ, म उनीहरूलाई सम्मान गर्छु । तर यो समाज त्यही मान्छे शक्तिमा हुँदा उसलाई पूजा गर्छ तर स्वरविहीनहुँदा फर्केर पनि हेर्दैन । पद वा पैसाले मात्र मान्छे मान्छे हुँदैन । बुझ्नुपर्ने कुरा, समयभन्दा अगाडि कोही पुग्न सक्दैन र भाग्यभन्दा बढी कसैले पाउँदैन ।

प्रसंग मोडौं, तपाईका सौख के के हुन् ?
नयाँ नयाँ ठाउँ र देशको भ्रमण गर्ने अनि साहित्य सिर्जना गर्ने । सफा र आफूलाई खुल्ने पहिरन लगाउनु पनि ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
केही वर्ष भयो फुर्सद कस्तो हुन्छ ? थाहा छैन । मलाई एक मिनेट पनि विनाकारण खाली बस्न पनि मन लाग्दैन । लाग्छ, २४ घण्टा लम्बिएर ३० घण्टाको दिन भइदिए हुन्थ्यो ।

जीवनमा के गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ?
मरेर जाने चोला हो हाम्रो । त्यसैले मरेर गएपछि पनि सबैले सम्झिरहने कुनै त्यस्तो कीर्तिमानी काम गर्न पाए हुन्थ्यो ।

तपाईको कमजोरी के हो ?
अरूलाई चाँडै विश्वास गर्नु ।

सबल पक्ष पनि होलान् नि ?
होलान् । यो त अरूले भन्ने कुरा हो । भन्नैपर्छ भने म सबैलाई सकारात्मक दृष्टिले हेर्छु । सकेसम्म अरूलाई दुःख नदिउँ, अपमान नगरौं, अरूको दुर्गतीको कामना नगरौं, भलो चिताउन नसके पनि कुभलो नचिताउँ भन्ने लाग्छ । सके मित्र बन्ने र बढाउने प्रयत्नमा हुन्छु नसके पनि शत्रु नबनौं भन्ने लाग्छ ।

यस्तो कोमल मनबाट के कस्ता साहित्य सिर्जना हुन्छन् होला ?
सुमधुर सुगम संगीतका लागि चाहिने सुकोमल शब्द सिर्जना गर्छु । सकारात्मक सन्देश दिने गीत, गजल, नियात्रा, कथा, कविता, एकांकी र बालसाहित्यमा विशेष सिर्जना गर्दै आएको छु । आफूले बुझेको संसार साहित्यका माध्यमबाट अरूलाई बुझाउने प्रयत्नमा सिर्जना गर्छु ।

पत्रकार गीतकार पनि बन्न सक्छ भन्ने उदाहरण तपाई पनि एक हो, कसरी आकर्षित हुनुभयो ?
ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भनेझैं इच्छाशक्ति र रूची भएको काम मानिसले जसरी पनि गर्दोरहेछ । खासगरि क्याम्पस पढ्न थाल्दा रेडियो नेपालमात्र सुन्न पाइन्थ्यो । बज्ने सबै नेपाली र हिन्दी गीतका शब्द र धून सबै कण्ठस्थ थिए । लाग्थ्यो, यस्तै गीत लेख्न पाए...। यसरी नै रेडियोबाट बजाउन पाए...। गीतकार गोपीकृष्ण ढुंगाना भनेको सुन्न पाए...। भाग्यले पनि साथ दिएको छ, सुन्न पाउन थालेको छु ।

कतिबेला कस्ता गीत रच्नुभएको छ ?
साहित्यमा लागेपछि गजल लेख्न सिकें । प्रविणता प्रमाण पत्र तह पढ्दाको पुरानो सपना स्नातकोत्तर तह पढ्ने क्रममा बल्झिएर आयो । अब गीत लेख्नैपर्छ भनेर लागें । समयले साथ दियो । जतिबेला फुर्सदमा थिएँ, लेख्न आउँदैनथ्यो । अहिले व्यस्त छु, शब्दहरू जुर्मुराएर दिमागभरि छरप्रस्ट हुन्छन् । सम्हाल्ने कोशिसमा गीत बन्छन् । कहिले राजधानीको व्यस्त सडकमा मोटरसाइकल चलाइरहेको बेला फुर्छ । पछिल्लो उदाहरण, ‘बुलाकीमै खुलेकी छ्यौ किन चाहियो हार, शिरदेखि पाउसम्म सौन्दर्य धार । किन माग्छ्यौ किन माग्छ्यौ सोह्र श्रृंगार, किन माग्छ्यौ सोह्र श्रृंगार माया...।’

भनेपछि रोमान्टिक गीत लेख्नुहुन्छ ?
अन्जु पन्तले गाएको र विजय खालिङले संगीत भरेको ‘काँडेढुंग्री ल्याइदिए मायाले, ओत दिन्थें वैंशालु छायाले । मनडालीमा फूल ए मनडालीमा फूल, पानीसरि सुक्दैन मायाको मूल...’ बोलको गीत मन पराएर सन्तोष दुमीले यस्तै ठेट शब्द भएको आधुनिक गीत मागेका थिए, के लेख्ने भन्दै सोच्दै के थिएँ बुलाकीमै... फुर्यो । मैले ‘सेन्टिमेन्टल सङ्ग’ पनि उत्तिकै लेखिरहेको हुन्छु, ‘रूनु हुन्न भन्ने तिम्ले रूवाएर गयौ, आफू तरी मलाई भेलमा डुबाएर गयौं, डुबाएर गयौं...।’

कस्तो कुरा वा सन्दर्भले गीत लेख्न प्रेरित गर्छन् ?
कस्तो बेला लेख्नुहुन्छ भन्ने कुरो उठेको थियो, म खासगरि रातको अन्तिम प्रहरतिर जब सुनसान समय हुन्छ र म एक्लो हुन्छु त्यतिबेला लेख्छु । कतैबाट हस्तक्षेप नहुने भएकाले शब्दहरू सलल बगेर आउँछन् । लेख्ने बेला सम्बन्धित विधाका सिर्जना पढिरहनुपर्छ अथवा कुनै सन्दर्भ वा घटनाक्रमले दिमागमा ‘हिट’ गर्नुपर्छ । गामबेंसीको गीत लेख्न अफर आएपछि त्यो साउनको महिनामा म सम्झनामा खेत रोपेको आफ्नो गाउँ पुगें । र लेखें, ‘बेसी खेत झर कान्छी, बेसी खेत झर कान्छी आउँछु म नि जोत्न, धानसँगै मनभरि मायाप्रिति रोप्न...।’

गजलबाट साहित्य र त्यसैले डोहोयाएर पत्रकारितामा आएँ भन्नुभयो, एउटा गजलको नमूना पनि भन्दिनुहुन्छ कि ?
अन्नपूर्ण पोष्ट प्रवेश गर्नुअघि मैले ५० वटा गजल संकलन गरेर २०६० सालमा ‘मौनताका रातहरू’ नामक पहिलो कृति प्रकाशन गरें । त्यसपछि अन्नपूर्ण पोष्टमा पत्रकारिता गर्न थालें, म पत्रकारिताको सैद्धान्तिक ज्ञान हाँसिल नगरी दैनिक अखबारमा पसेको मान्छेलाई केही वर्ष ‘हाउगुजी’ भयो तर रोजेको पेशा भएकाले निरन्तर सक्रिय भएर लागिरहें । सायद त्यो सक्रियताले साहित्यलाई निस्क्रिय बनाइदियो । जब पत्रकारितालाई आफ्नो वशमा पारें तब अचेल केही वर्षदेखि पुनः साहित्यलाई पनि सँगसँगै अघि बढाउँदैछु । यसलाई म परिणाममा बाहिर ल्याउँदैछु, अर्को गजल संग्रहको रूपमा । ‘आफैंभित्र’ नामक उक्त कृतिको पहिलो गजल ः
दुःख रोपी सुखी सपना कति बुन्छ्यौ आमा ?
मेरा लागि जिन्दगीमा कति रून्छ्यौ आमा ?

आहा..., हतारको साहित्य लेख्नेका फुर्सदको साहित्यमा यति राम्रो कलम ? गोपीकृष्ण ढुंगानाको यो अभिव्यक्ति क्षमता पत्रकार मित्र कतिलाई थाहा छ ?
राम्रो लेख्नु, छाप्नु वा रेकर्डिङ गरेर बज्नु र तीमध्ये कुनै गीत वा कृतिले गीतकार वा लेखकलाई ‘ब्रेक’ गर्नु फरक कुरा हुन् । कुनै गीत ‘हिट’ हुन्छन् तर शब्दमा दम हुँदैन र कालजयी बन्दैनन् । कतिपय गीत स्तरीय हुन्छन् तर पनि मिडियामा धेरै बज्दैनन् । म गीतलेखन क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन, र गीत पनि ‘क्लिक’ भएको अवस्था होइन, त्यसैले धेरै पत्रकारमित्रलाई यो थाहा नहुन सक्छ । फेरी गायकजति गीतकारको नाम अगाडि आउँदैन । मैले यसबारे एउटा रिपोर्टिङ गरेको थिएँ, ‘उज्याला गीत अँध्यारोमा गीतकार’ ।

बालसाहित्य पनि लेख्छु भन्नुभएको थियो, के कति लेख्नुभएको छ ?
मित्र हरिहर तिमिल्सिनाले ‘रूम टु रिड’ नामक संस्थाले बालसाहित्य लेखनको तालिम दिँदैछ भनेर लैजानुभयो । लेख्न विषयवस्तु पर्याप्त भएको र लेखिरहेको मलाई केवल ‘बहाना’ चाहिएको थियो, बालबालिका मन पराउने र मनोविज्ञान पढिसकेको मलाई चाहनामा बहाना थपिएपछि लेख्न कुनै कठिन भएन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘रूम टु रिड’ ले ‘फुच्चे हात्ती’ बालकथाकृति छाप्दैछ । सातवटा कथा समेटेर ‘कमिलाको डाक्टर’ बालकथा संग्रहको पाण्डुलिपी साझा प्रकाशनमा बुझाएको छु । बोर्डिङ स्कुलको कक्षा छको ‘सोसल साइन्स’ मा एउटा कथा र कक्षा तीनमा एउटा गीत विद्यार्थीले पढिरहेका छन् । ‘आमाको माया’, ‘कारको कल्पना’ जस्ता एकांकी समेटेर बालएकांकी कृति तयार पार्दैछु ।

कविता पनि उत्तिकै सशक्त छन् भन्ने सुनेको छु, कति सत्य हो ?
आमा !
तिमी युग बाँचिरहेकी छ्यौ
तिमी हिमाल हाँसिरहेकी छ्यौ 
बाँच, अझै लाख बाँच,
हाँस, अझै कञ्चन हाँस, किनकि
तिम्रो आभाको उज्यालोमा पनि
आँैसी बाँच्न अभिसप्त छन् तिम्रा सन्तानहरू ।
‘आमा, सन्तान र सुख’ शीर्षकको कविताको पहिलो अंश हो यो । यस्तै जीवन र जगतसँग सम्बन्धित रहेर आफू र आफूसँग सम्बन्धित मूर्त र अमूर्त विषयलाई जोडेर फरक धारको कविता कृति लेखिरहेको छु, ‘मभित्रको म’ । माथिको कविता कात्तिकको गरिमा अंकमा पढ्न पाउनुहुनेछ । ‘मभित्रको म’ कृति संभवत नयाँ वर्षको उपहार हुनेछ ।

साहित्यिक लेखनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहिले साहित्य र पत्रकारिता दुवै रहरले लेखें । जन्मँदै कोही पोख्त भएर जन्मँदैन । दुई तीन वर्षयता गीत, कविता वा कुनै अन्य लेखन सबैभन्दा पहिले आफैंलाई चित्तबुझ्दो हुनुपर्छ । पत्रकारिता हतारको लेखन भएकाले र समयमै बुझाउनै पर्ने भएकाले कहिलेकाँही चित्त नबुझी पनि छाप्नु परेको छ । त्यसो त गीत पनि कसैकसैले ‘तुरून्त’ भनेर माग्छन्, हार्न नसक्ने ठाउँमा व्यस्तताबाट बचेर लेख्दा भनेजस्तो सिर्जना हुन्न । तर पनि खासगरि गीत लामो समयसम्म बाँचिरहने भएकाले आफू ‘सन्तुष्ट’ भएपछिमात्र रेकर्डिङका लागि दिन्छु ।

किन ? साहित्यमा त्यस्तो के छ र ?
के छैन र यसमा ? संसार प्रतिविम्बित गर्न सकिन्छ साहित्यमा । साहित्यका लेखक र पाठक दुवै बौद्धिक हुन्छन् । साहित्यले समग्र मानव जीवन र उ बाँचेको जगत समेट्छ । अनि आफ्नो सिर्जना कालजयी बनेर इतिहासका पानामा सदासदा जीवन्त बनेर रहिरहन्छ ।

किन साहित्यका कुरा पत्रपत्रिकामा आएका थिएनन् र ?
कृति विमोचन, कवि गोष्ठी आदि गतिविधिका समाचार आउनुमात्र साहित्यिक पत्रकारिता होइन । केही व्यक्तित्वको जीवनी लेखिनुले पनि साहित्यका मुद्दा उठ्दैनन् । विषय धेरै छन् उठाइनुपर्ने । न सरकारको ध्यान साहित्यको सम्वृद्धिमा गएको छ न गैरसरकारी संघसंस्थाको । सबैको आँखा पर्ने गरी अब दैनिक पत्रपत्रिकाले पनि साहित्यलाई स्थान दिनुपर्छ । पछिल्ला केही वर्षयता दैनिक अखबारले स्थान दिन थालेका छन्, जुन खुसीको कुरो हो । तर यसलाई सुरूवात मानेर अझ गर्नुपर्छ ।

साहित्यिक पत्रकारिताको भविष्य कस्तो देख्नुभएको छ ?
सबैले आफूले रोजेको क्षेत्रको भविष्य उज्ज्वल देख्छन् होला । साहित्यमा लागेको पत्रकार भएकाले मैले पनि यसको भविष्य सुन्दर र भव्य देखेको छु । गरेपछि नहुने कुरो केही छैन भन्ने बुझेको छु । साहित्य पनि गहिरो समुन्द्र हो, जसलाई मैले छिचोल्न सकेको छैन । छिचोल्न सके त साहित्यिक पत्रकारितालाई ‘नम्बर वान’ बनाउँथें होला । प्रत्येक दिन सरदर एक, दुई पुस्तक विमोचन हुन थालेका छन्, इन्टरनेटका दर्जनौं साइटबाट साहित्य संसारभर पुगिरहेको छ । डायस्पोरा साहित्य उसरी नै मौलाइरहेछ । यस्तो अवस्थामा दैनिक अखबारले पनि साहित्यका विषय र मुद्दालाई महत्वका साथ स्थान दिनुपर्छ । अब साहित्य पनि राजनीति वा विकासजस्तै मूलधारको पत्रकारिता बन्नुपर्छ । म कार्यरत अन्नपूर्ण पोष्टमा सम्पादक जिवेन्द्र सिम्खडा साहित्यलाई बुझ्ने व्यक्ति हुनु भएकाले यो मेरा लागि गौरवको विषय पनि बनेको छ । मेरो भविष्य यसैमा देखेकाले म लागि परेको छु ।

प्रस्तुतिः युवराज विद्रोही

प्रतिकृया दिनुहोस