Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'नेपाल ऐतिहासिकरुपमै बहुभाषिक मुलुक हो'
शनिबार, कार्तिक १३, २०७३ ०१:५५:१६ | Comments

मार्क टुरिन, प्राध्यापक
व्रिटिश कोलम्बिया विश्वविद्यालय, क्यानाडा

मार्क टुरिन दि व्रिटिश कोलम्बिया विश्वविद्यालय क्यानाडाका मानवशास्त्र विभागका एसोसिएट प्राध्यापक हुन् । विगत २५ वर्षदेखि नेपालका आदिवासी जनजातिहरुको विषयमा अध्ययन, अनुसन्धान गर्दै आएका छन् । विशेषगरी सिमान्तकृत अवस्थामा रहेका थामी आदिवासी जनजातिको बारेमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन् ।

प्राध्यापक टुरिनले नेपालका आदिवासी जनजातिका बिषयमा थुप्रै लेखरचना, रिपोर्ट र पुस्तकहरु प्रकाशित गरिसकेका छन् । पछिल्लो पटक भुकम्पछिको नेपालका आदिवासी जनजातिलगायत विविध विषयमा उनीसँग भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले प्राध्यापक मार्कसँग गरिएको कुराकानीको सारांशः 

यसपटक तपाईको न्युयोर्क भ्रमण को उद्देश्य के थियो ? 
मलाई प्राध्यापक अशोक गुरुङले न्युयोर्कमा निमन्त्रणा गर्नु भएको थियो । उहाँ न्यु स्कुलमा प्राध्यापक हुनुहुन्छ । त्यस्तै त्यहाँको इन्डियाचाइना इन्ष्टिच्युटका निर्देशक पनि हुनुहुन्छ । उहाँ असाध्यै प्रखर विद्वानका साथै समुदायका मिलनसार सदस्य हुनुहुन्छ । उहाँ हाल हिमालयन युनिभर्सिटिज सहायता समाजका संचालक समिति सदस्य तथा नेपालमा रहेको हिमाल सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था इसिमोडका सचिव समेत हुनुहुन्छ । त्यसैक्रममा उहाँले मलाई हिमाली क्षेत्रका विश्वविद्यालय र अमेरिका तथा युरोपमा रहेका हिमाल सम्बन्धी खोज तथा अनुसन्धान गर्ने विश्वविद्यालयसँग साझेदारीका अवसर तथा सञ्जाल निर्माणका सम्भावनाहरुको खोजी गर्न निमन्त्रणा गर्नु भएको हो । 

तपाईले नेपालका हिमाली क्षेत्रमा रहेका समुदायहरुबारे खास के अनुसन्धान गर्नुहुन्छ ? 
हाल लोपोन्मुख तथा संकटापन्न अवस्थामा रहेका नेपालका खास गरी आदिवासी जनजातिहरुको भाषाबारे मैले आफ्नो व्यक्तिगत २५ बर्ष खोजी तथा अनुसन्धान गरेको छु । हाल त्यस्ता समुदायहरुमा आफ्नो भाषा बोल्ने सदस्यहरुको संख्या उल्लेख्यरुपमा घट्दै गएको छ ।

भाषाको स्वरुप परिवर्तन हुँदै गएकाले त्यहाँका मानिसहरुमा समेत चासो घट्दै गएको छ । विगत २५ बर्षदेखिको अनुसन्धान तथा खोजका क्रममा विषेशत म त्यस्ता ग्रामीण नेपालका गाउँलेहरुसँग साझेदारी तथा कार्यगत एकता गर्दै आएको छु । यसक्रममा मैले पहिले मुस्ताङ र पछि दोलखा जिल्लाका ग्रामीण क्षेत्रमा थामी (थङमी) भाषाका लिपि तथा प्रतिलिपिहरु संकलन गर्ने, त्यसको सुरक्षा तथा नेपालका सुन्दर भाषालाई पुनर्जीवन दिने काम गर्दै आएको छु ।

यतिको लामो समयसम्म काम गर्दा उनीहरुको भाषा, समुदाय, आर्थिक तथा राजनैतिक अवस्था बारे के पाउनु भयो ? 
सबै भन्दा महत्वपुर्ण कुरा त, नेपालका आदिवासी जनजातिका जति पनि भाषाहरु छन, प्राय सबै मौखिक र बोलीचालीकारुपमा मात्र प्रचलित छन् । केही भाषाहरु मुल भाषादेखि लिपिबद्ध पनि गरिएका छन्, जस्को राम्रो उदाहरण नेपाली र तिब्बतियन दुवैमा लिपि भएको तामाङ भाषा पनि हो ।

थामीलगायतका अन्य भाषाहरुको ऐतिहासिक मुल भाषा नै पाईदैनन भने लिपिमा समेत समस्या छ । यस्ता भाषाहरुले सांस्कृतिक, पारिस्थितिक, बैज्ञानिक र स्थानीय प्रादेशिक सबै प्रकारका ज्ञानहरुलाई समेटेका छन् । नेपालका हिमाली र पहाडका विभिन्न भेगहरुमा फैलिएका यस्ता भाषाहरुमा धेरै प्रकारका वनस्पति तथा जनवारहरुका नाम तथा शब्दहरु विभिन्न प्रकारले चिनिन्छन् । जसका कारण खान मिल्ने नमिल्ने, उपभोग्य समय, बाली भित्र्याउने समयलगायतका विभिन्न जानकारी भाषाहरुले दिन्छन् ।

त्यसैले नेपाली आदिवासी जनजातिका भाषाहरु संक्रमणकाललाई पार लगाउने वाहक हुन् । यस्ता भाषाहरु लोपोन्मुख हुनु भनेको एउटा संस्कृतिको महत्वपुर्ण अंश गुमाउनु हो । उदाहरणको रुपमा यस्ता समुदायमा भाषा जान्ने अगुवाको मृत्यु भयो भने पुरै पुस्तकालय गुमाउ सरह हो । 

नेपाल एक बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक हो । अहिले आदिवासी समुदायका विशेषत युवा पुस्तामा आफ्नो भाषाको ज्ञान र महत्व हराउँदै गएको छ । तपाईको आफ्नो खोज र अनुसन्धानको अनुभवबाट यसको जगेर्ना तथा संरक्षणका लागि नेपाल सरकारले के गर्नुपर्छ? 
म हाल क्यानडाको व्रिटिश कोलम्बियास्थित भ्याङकुभरमा बस्छु । म संसारका धेरै मुलुकहरु घुम्नुका साथै बसोबास गरेको छु । नेपालका आदिवासी जनजाति र व्रिटिस कोलम्बियाका आदिवासी जनजातिहरुको संघर्ष तथा समस्याहरु फरक तरिकाले समान प्रकारका छन् । क्यानडामा गोरा जातिहरुले आदिवासी जनजातीका बसोबास क्षेत्रलाई औपनिवेशिकरण गरी जमिन कब्जा गरे ।

उनीहरुलाई आवासीय विद्यालयहरुमा पठाईयो जसका कारण आदिवासी जनजातिका आफ्ना भाषा तथा संस्कृतिहरुलाई सखाप पार्ने कोसिस गर्दै बालबालिकाहरुलाई क्रिस्चियन धर्मका सच्चा अनुयायी हुन बाध्य पारियो । नेपालले यस्तो उपनिवेशको सामना कहिल्यै गर्नु परेन । बाहिरका मानिसहरुले अतिक्रमण गरेर उपनिवेश बनाएको अनुभव नेपालले गर्नु परेको छैन् । तर नेपालमा भने यहाँका कुलीन वर्गका मानिसले आन्तरिकरुपमा भने उपनिवेश खडा गरेको विषयमा एकमत हुन सकिन्छ ।

यहि कुलीन वर्गका मानिसहरुले नेपालका आदिवासी जनजातिहरुलाई विभिन्न क्षेत्रबाट अलग्याएर सीमान्तकृत बनाउनुका साथै नीतिगत तहबाटै उनीहरुलाई अलग गरी असहिष्णुता लादियो । नेपालका आदिवासी जनजातिहरुलाई उनीहरुको भाषा बोल्न तथा आम जनजीवनमा साथै विद्यालय र प्रशासनहरुमा समेत रोक लाग्यो । त्यहिकारण आज, २०१६ मा हामीले जे देखिरहेका छौं, आदिवासी  जनजातिलाई सयौं बर्षदेखि शोषण गरिएको परिणाम हो ।

त्यति भन्दा भन्दै पनि नेपालको हालको संविधान भने आदिवासी जनजातिका भाषाहरुलाई सम्बोधन गर्नमा अत्यन्तै प्रगतिशिल र उद्दार देखिएको छ । संविधानले आदिवासी जनजातिका भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिएको छ । यो केवल शाब्दिक र भ्रम मात्र हो । नेपालका ग्रामिण क्षेत्रका विद्यालयहरुमा पाठ्य पुस्तक तथा पढाईको माध्यमका रुपमा स्थानीय भाषाहरुलाई समावेश गरिएको छ । त्यति भएतापनि आफुलाई आधुनिक देखाउनकै लागि नेपाली वा अंग्रेजीमा मात्र बोल्नुपर्छ भन्ने मानसिकता हाल नेपालको मुख्य समस्या हो । आफ्नो भाषालाई त्यागी नेपाली वा अंग्रेजी बोले सामाजिक तथा आर्थिकरुपमा सक्षम भइन्छ भन्ने भ्रम व्याप्त छ ।

नेपालीलगायतका भाषाका अलावा, थारु, तामाङ, थकाली, मैथिलीलगायतका बहुभाषाको ज्ञान हुँदा आफु अझ मजबुत भइन्छ । नेपालमा तपाई नेपाली भाषामा पोख्त हुनाका साथै यी अन्य भाषाहरु समेत बोेल्न जान्नु हुन्छ भने तपाई एक नेपालीकै रुपमा रहनुहुन्छ । नेपाली, हिन्दी, अंग्रेजी भाषाका साथै माथिका भाषाहरु समेत जान्न सक्दछ भने एकै व्यक्ति बहुभाषिक हुन नेपालमा सम्भव छ । नेपाल ऐतिहासिकरुपमै बहुभाषिक मुलुक हो । यसलाई पहिचान प्रदान गर्नुका साथै प्रोत्साहन गर्न पनि उत्तिकै जरुरी छ । 

नेपालमा आएको महाभुकम्पपछि हिमाली श्रृङ्गखला क्षेत्रमा बसोबास गर्ने समुदायहरुको अवस्था कस्तो देख्नु भएको छ ? 
मेरो विचारमा २०१५ को अप्रिलमा नेपालमा गएको भुकम्पले गरिब समुदायका मानिसहरुलाई सबै भन्दा बढि प्रभाव पारेको छ । नेपालको शसस्त्र आन्तरिक द्घन्द्घपछि उनीहरु बाँच्नकै लागि बर्षौदेखि सामाजिक तथा आर्थिक सबै संघर्षहरु गर्दै आएका छन् । उनीहरुकै घर भुकम्पले ध्वस्त भएका कारण समस्या जटिल छ ।

मैले काम गरेका समुदायका मानिसहरुको जायजेथा भुकम्पपछि पुर्ण रुपमा ध्वस्त भएको छ भन्दा फरक पर्दैन् । भुकम्प आउनु भन्दा अघिल्लो बर्ष म नेपाल गएको थिँए । त्यसक्रममा मैले धेरै समय विताएको दोलखाको थामी समुदाय बसोबास गर्ने सुस्पा गाउँ जान पाउँदा अत्यन्तै उत्साहित भएको थिँए । सुस्पा ५ को दामाराम भन्ने गाउँलेको परिवारको जिविका राम्रै चलिरहेको देखेको थिँए । खाना पकाउन उनीहरुले गोवरग्याँस जडान गरिएको थियो ।

उनीहरुको आफ्नै घर थियो । तरकारी तथा गाईवस्तुहरु पनि थिए । आफ्नै चर्पी भएका उनीहरुको जीवन दीर्घकालसम्मकै लागि राम्रो थियो । तर अहिले उनीहरुको यो अवस्था नाजुक भयो । भुकम्पले सबै ध्वस्त बनाइदियो । त्यत्तिको लगानी सबै स्वाहा भयो । 

नेपालमा भुकम्पका कारण नाटकीयरुपमा भएको परिवर्तन र क्षति भएका समुदायको मुख्य समस्या भनेको परिवारका सदस्यहरु संसारभर छरिएर रहनु पनि हो । न्युयोर्कदेखि दुबईलगायतका खाडी मुलुकहरु र छिमेकी भारतमा समेत लाखौं नेपालीहरु छन् । अब उनीहरु सबै एकजुट भएर समुदायकारुपमा अघि आउनु जरुरी छ । परिवारलाई आर्थिक सहयोग पठाउन जारी राख्नुपर्छ । 

आफ्नो कयौं बर्ष गाउँमा विताएको र स्थानीयहरुको सामिप्यताबाट सम्मानित र अनुग्रहित भएको तपाईको देश नेपाललाई माया गर्ने एक पाहुनाको रुपमा म दुईवटा काम गर्न सक्छु ।  प्रथमतः हाल भुकम्पले ध्वस्त बनाएका आफ्ना घरहरुमा मलाई कयौं बर्ष स्वागतका साथमा बस्न दिएका स्थानीयहरुलाई आर्थिक सहयोग जुटाउन र दोश्रो नेपालका स्थानीय समुदायका भुकम्पपछिका संघर्ष तथा दुःखका कथाहरु अन्तर्राष्ट्रिय मिडिया तथा पत्रकारहरुका सामु पु¥याउन ।

विविसी, सिवीसीलगायतका विदेशी मिडियाहरुलाई प्राय ब्रिटिस, क्यानेडियन तथा अमेरिकन नागरिकहरु नेपालको सगरमाथा चढेको, हिमालमा फसेको, मृत्यु भएको लगायतमा मात्र चासो हुन्छ । आफ्ना नागरिकहरुको बारेमा उनीहरुको चासो पनि स्वभाविक हो तर भुकम्पका कारण प्रभावित भएका लाखौं नेपालीहरुको पीडालाई वेवास्ता गरिन्छ । विदेशीहरु त त्यस्ता जोखिमपुर्ण ठाउँहरुमा आफै गएका होइनन र ? मेरो चासो भने क्षणभरमा नाटकीय रुपमा धुमिल भएको नेपालीहरुका बारेमा रहिरह्यो । 

भुकम्प पछि म नेपाल गएँ । त्यसपछि यस्ता विदेशी मिडियाहरुलाई स्थानीय समाचारहरु संकलन तथा प्रशारण गर्न सहयोग गर्न मैले दोभासेकोरुपमा काम गरें । त्यसक्रममा भाषा मात्रै होईन स्थानीय हरुका आवश्यकता तथा चाहनाहरुलाई पनि समेट्ने प्रयास गरें । यसले बाहिरी विश्व समक्ष उनीहरुलाई पु¥यायो । 

तपाईले यसबारेमा आफ्नो विश्वविद्यालयमा पनि एक कार्यपत्र प्रस्तुत गर्नुभयो, होईन ? 
हो, मैले विश्वविद्यालयमा कुरा गरी सम्भावनाहरुको खोजी गरेको थिँए । मलाई अहिले पनि आफुले काम गरेका गाउँहरुमा सहयोगका लागि जाउँ जस्तो लाग्छ । तर म अहिले जानु भनेको भुकम्प पछि अभाव खड्किएका गाउँमा मलाई पनि खाने वस्ने दायित्व थपिएर गरिबहरुका सामु म आफैं भार पर्ने त होईन भन्ने चिन्ता लाग्छ ।

म गएपछि अर्को कोहीलाई त सुत्न नयाँ व्यवस्था गर्नुपर्ने हुन्छ । यसले उनीहरुलाई असुविधा थपिन्छ, म उनीहरुलाई भार हुन्छु । त्यति हुँदाहँुदै पनि उनीहरु निमन्त्रणा गरिहेका छन । सबै ठीक हुँदा साथीहरु आउँछन भने यस्तो विपत्तिको समयमा आउने साथीहरु भने सच्चा साथीहरु हुन । 

नेपालको पछिल्लो अवस्थालाई कसरी हेरिराख्नुभएको छ ? 
पछिल्ला दिनहरुमा नेपालको राजनीति मैले सुक्ष्मरुपमा अवलोकन नगरेकाले हाल के भईरहेको छ भन्ने मलाई थाह भएन । तर मलाई नेपाल हाल एक कठिन समयबाट गुज्रिरहेको छ भन्ने राम्ररी थाहा छ । मेरो विचारमा सरकारप्रति जनताको विश्वास हालसम्मकै न्युन विन्दुमा पुगेको छ । दातृ निकाय तथा मुलुकहरुले प्रदान गरेका र जुटाईएका सहयोगहरु सरकारले हस्तान्तरण गर्नेमा मैले काम गरेका समुदायका मानिसहरु पनि विश्वस्त छैनन् । 

आम नेपाली चाहना बमोजिम सरकारले गाउँका समुदायको भनाईलाई पनि प्राथमिकताका साथ सुनोस भन्ने मेरो पनि चाहना हो । उनीहरुको चाहनाका बारेमा पनि सोधियोस । मेरो विचारमा विभिन्न जात, कुलीनको वर्चस्व र सामाजिक संरचनाका कारण नेपालमा विशेषगरी शहरी क्षेत्रका कुलीनहरुलाई ग्रामिण भेगका बासिन्दाका आवश्यकताका बारेमा आफु जानकार रहेको भ्रामिक मानसिकता छ । त्यसरी हुँदैन् । मेरो विचारमा ग्रामीण समुदायलाई नै सोध्नुपर्ने हुन्छ । एक ठाउँमा पानीको अवाश्यकता हुनसक्छ ।

अर्को ठाउँमा घर बनाउनु पर्ने हुन सक्छ । एउटा समुदायको विद्यालय भत्किएमा अर्कोको केही नभएकाले सामुदायिक भवनको आवश्कता हुनसक्छ । स्थानीय अवस्था र परिस्थिति यथार्थमै धेरै भिन्न छन् । नेपालमा सच्चा प्रजातन्त्रको र समावेशी समाजको सुनिश्चित गर्न स्थानीय समुदाय र स्थानीय निकायका आवाजहरुलाई अधिक महत्वका साथ ध्यान दिएर सुन्न जरुरी छ । आवश्यकता अनुसार आर्थिक सहायता पनि महत्वपुर्ण छ तर स्थानीयको सशक्तिकरणका साथै आपसी विश्वासको वातावरण सिर्जना गरिनुपर्छ । हाल यस्तो विश्वास अत्यन्तै न्युन छ भन्ने मलाई लाग्छ । 


 

प्रतिकृया दिनुहोस