Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
संघर्षले जन्माएकी समाजसेवी सीता
बुधबार, आश्विन १२, २०७३ ००:००:०० | Comments

बाल्यकाल
मेरो जन्म धादिङ जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत बसेरी गाविसको डाँडा गाउँ १ मा बुवा भीमबहादुर गुरुङ र आमा लक्ष्मीमायाको कोखमा दुई छोरा दुई छोरीमा कान्छी छोरी हुँ । सामान्य परिवारमा जन्मेको सानो हुँदा खान ल्याउन समस्या थियो, मासु र भात खानालाई दशै नै आउनु पथ्र्याे । वर्षको एकजोडी नयाँ लुगा लगाउन पाउनु पनि दशै नै आउनुपथ्र्याे ।

मेरो बाबा भारतीय सेनामा भर्ती भएपछि केही बर्ष नोकरीपछि जागिर छाडेर भारततिरै पलायन हुनु भएको रहेछ, सानो हुँदा बाबाको त्यति याद छैन । आमाले एक्लै चार छोराछोरी लालनपालन गर्ने जिम्मा लिनुपर्ने बाध्यता आयो । हामी सबै स–साना थियौं । दिदि अलि ठुली हुनुहुन्थ्यो र हामी तीन भाईबहिनी हेर्ने काम दिदिले गर्नुहुन्थ्यो । आमा घाँस, दाउरा, मेलापात सबै भ्याएर मात्र घरमा खान पकाएर हामीलाई खुवाउनु हुन्थ्यो । 

कुनै बेला खाना अलि थोरैथोरै खाएर सुत्नपथ्र्यो । कहिले खोले खाएर पनि दिन बित्यो, तैपनि सानो भएर होला मैले कहिले दुःख पाएको र बेखुसीको महसुस गरिन । बिस्तारै आमाले घर व्यवहार चलाउन सानो पसल राखेपछि आमाको आँखा छलेर चुरोट, मिठाइ अनि मसलाहरु बुढाबुढी र अरु नानीहरुलाई सित्तैमा दिन्थे । अहिले सम्झिँदा लाग्छ, आमाले कति घाटा वेहोर्नुप-यो होला, बिचरा दुईचार पैसा नाफा खाएर बेच्ने समान त्यहीमाथि ऋणमा ल्याउनुहुन्थ्यो । यसो हुँदाहुँदा आमाले धेरै दुःख खेप्नु परेको मलाई याद छ  । 

धेरै बर्षसम्म बाबा नफर्किएपछि आमाले अर्को बिहे गर्नुभयो । त्यो बेलाको समयमा एकल महिलाले जीविका चलाउन अहिलेभन्दा निकै गाह्रो थियो र  बाँच्न साहारा पनि त चाहियो । त्यसैले आमाले अर्को बिहे गर्न वाध्य हुनुभयो होला । उहाँ पल्लो गाउँको घले गाउँको धेरै सम्मानित व्यक्ति हुनु हुँदो रहेछ । तीन जना श्रीमतीमध्ये मेरो आमा कान्छी पर्नु भएछ । सबै श्रीमतीहरुलाई मिलाएर व्यवस्थित तरिकाले राख्नु भएको थियो ।

सानो दोकान र अनेकौं दुःखपछि आमाले एउटा ठुलो पसल सुरु गर्नुभयो, जसले मेरो पढ्ने मौका पनि जुरायो र दुई छाक खान धौ–धौको अवस्थाबाट पनि हामीले मुक्ति पायौं । मलाई विद्यालय जान साह्रै मन पथ्र्याे । मसँग सधैं एउटा च्यातिएको कपी र ठुटे सिसा कलम हुन्थ्यो जसलाई म हसियाँले तिखार्दै खेलाउँथे ।    

छोरीलाई पढाउनु हुँदैन भन्ने संस्कार भएको त्यस समयमा मैले धेरै तिखा र मन बिझाउने शब्दको सुन्नु पथ्र्यो । विद्यालयमा भर्ना भएपछि आमाले बिहान झिसमिसेमा भुटेको मकै, भटमास, रुमालमा बाँधेर दिनुहुन्थ्यो र च्यानडाँडा भन्ने ठाउँसम्म पु-याउनुहुन्थ्यो । झिसमिसे उज्यालोमा डर लागेर चर्को स्वरले गीत गाउँदै झन्डै २ घण्टा लाग्ने स्कुल पुग्न दौडिन्थें ।

म गाउँक्षेत्रमा हाइस्कुल पढ्ने पहिलो महिला बन्न पुगे । त्यसपछि गाउँमै केही गर्ने चाहनाले पढाउने निधो गरें र जिल्लामा निवेदन दिएर छनोटमा परेपछि अहिलेको श्री बसेरी माध्यमिक विद्यालयमा पढाउन थाले । त्यसबेला त्यस विद्यालयमा ५ कक्षासम्म मात्र पढाइन्थ्यो । मैले पढाउन थालेपछि साना नानीहरु प्रायः जसो रमाइलो मानेर स्कुल आउन थाले । विद्यालयका अभिभावकहरुमा पनि ‘सीता आन्टीजस्तै मास्टरनी बन्ने भए पढ्न जाउ’ भन्ने थेगो बस्यो गाउँमा ।

राजनीतिमा पाइला
त्यतिबेला निर्दलीय र बहुदलीय व्यवस्थाको पक्षबीच जनचेतनाको शुरुवात भइसकेको थियो । भर्खरै महिला, हक, हितको नारा बज्न थाल्यो । गाउँमा सानै उमेरदेखि म अलिक फरक स्वभावको थिएँ । केटाहरुदेखि नडराउने र गाउँका पुरुषवर्गहरु भेला भएको सभामा जाने गर्थें तर त्यहाँ अन्य महिलाहरु कोही हुँदैनथे । 

गाउँमा सानैदेखि महिला हक, हितको विषयमा सधैं चासो राख्ने र आवाज उठाउँदै हिँडेपछि बसेरी पञ्चायतको महिला संघ खडा गरी अध्यक्ष बन्ने अवसर पनि पाएँ । सबै निरक्षर महिला दिदिहरुलाई साधारण लेखपढ गर्न सिकाउन थाले । घरको काम सकेर एकै ठाउँमा जम्मा भई हरेक बेलुका दुई घण्टा पढाउने गरें र धेरैजना साधारण नाम लेख्न जान्ने पनि भए ।

गाउँले दिदिबहिनीहरुको सल्लाहअनुसार नै धादिङ जिल्ला महिला संघको अध्यक्षमा उम्मेद्वारी दिने निर्णयमा पुगेर करीब एक महिना धादिङ जिल्लाको धेरै जसो भु–भाग पैदलयात्रा गरेर भोट माग्न पनि हिडें । जुन बेला मेरी दिदिले मलाई धेरै कुराबाट सहयोग गर्नु भयो । मेरी दिदि जसले मेरो हरेक दुःख सुखमा साथ दिनुभयो तर अल्पायुमै हामी सबैलाई छोडेर यो धर्तीबाट जानुभयो ।

उत्तरी भेगमा रहेको झार्लाङ, सेर्तुङ, बोराङ, मार्पाक, दार्खा, कटुन्जे, गुम्दी धार्चोक सबै गाउँहरुमा पुगेर भोट माग्न पुगें । कुनै बेला तुइन तारी दिने मान्छे नपाएर खोलाको छेउमा सानो गोठमा बास पनि बसें, त्यति बेला अहिले जस्तो चोर, डैकती लाग्दैनथ्यो ।

चुनावको प्रचारप्रसार धेरै भईसकेको थियो । एक दिन तत्कालिन मन्त्री एवम् मित दाजु बुद्धिमान तामाङले मलाई चुनाव नलड्न सुझाव दिनुभयो तर चुनावको तरङ नसाभित्र पसिसकेको थियो । मतदानको दिन नजिकिदै थियो चुनावी नसाको मन किन मत्थर हुन्थ्यो र, चुनाव लडें मतदानमा थोरै मतले हारें पनि ।

धेरै भन्दा धेरै मत ल्याएर पनि मेरो थोरै मतले पराजित भएपछि गाउँको शिक्षिका जागिर पनि गयो । त्यसपछि अर्को जागिर खोज्ने सोच बनाउनुपर्ने बाध्यता भयो । पहिलो पटक राजधानी छिरे, सबै कुरा नौलो लाग्यो । गाडी देख्दा पनि अचम्म लाग्यो । बस, कार, ट्याक्सी सबै कुरा देखे । पहिलो पटक राजधानी आउँदा भैंसी ओसार्ने ठुलो ट्रकमा चढेर काठमाडौं पुगे ।

जागिरको सिलसिलामा काठमाडौंमा तत्कालिन धादिङ जिल्लाका उपसभापति टेकबहादुर तामाङको सहयोगले युनिभर्सिटी अफ मिचिगनबाट तामाङ जनजाति बारे अनुसन्धान गर्ने प्रोफेसरहरुसँग काम गर्न निवेदन दिएँ । झण्डै १०० जनाको निवेदनबाट म छनौट भएर काम गर्न थालें युनिभर्सिटीका प्रोफेसरहरुसँग । काम रमाइलो थियो जुन कामबाट मेरो अंग्रेजी बोल्न धेरै मद्दत भयो । काठमाडौंमा काम पनि गरे, पढ्न पनि थाले करीब साढे एक बर्ष काठमाडौंमै बित्यो ।

काठमाडौंको बसाई त्यति पुरानो भईसकेको थिएन । गाउँमा हुर्किबढेको मान्छे काठमाडौं शहरको बारेमा धेरै कुरा बुझ्न बाँकी नै थियो तर कर्मले त अझै टाढा बोलाई रहेको रहेछ । मैले ठमेलमा त्यतिबेलाको निकै लोकप्रिय र पुरानो पुस्तक पसलमा काम गर्ने अवसर पनि पाए । त्यहाँ काम गर्ने बेला सियाटलको एक जना गोरा पनि आउनु थाल्नुभयो, उहाँले मलाई धेरै मन पराउनुभएको सँगै काम गर्ने नेपाली दाजुभाइले भन्नुभयो र पछि ती दाजुभाईको सल्लाह र सुझाव मानेर मैले बिहे गर्ने निर्णयमा पुगें । हिन्दू धर्मअनुसारले लाजिम्पाटमा विधि प्रक्रिया पुरा गरेर बिहे गरें ।

अमेरिकाको बसाई र संघर्ष
मेरो विवाह भएको झण्डै एकवर्षपछि सन् १९९१ अक्टोबरमा अमेरिकाको सियाटलमा आइपुगे । अमेरिका आइसकेपछि नौलो र आश्चर्य लाग्दो कुराहरु थुप्रै अनुभव गर्नुप-यो, सर्वप्रथम त भाषाको समस्या, नेपाल मैले जानेको अंग्रेजी त अमेरिकामा बुझ्न गाह्रो भयो । जुन बेला नेपालीहरुको संख्या औंलामा गनिने थियो । करीब डेढ बर्षपछि मेरो भेट नेपाली एक दुई जनासँग भयो । सायद नेपाली भाषा झन्डै बिर्सन लागेको जस्तो भान हुन्थ्यो ।

नेपाली बोल्न नपाएर मेरो मन धेरै आतिन्थ्यो । नेपालमा म फोन गर्नलाई गाउँमा टेलिफोन थिएन, चिट्ठी पठाउँदा ६ महिना बढी लाग्थ्यो । मैले पठाएको चिठीपत्रको जवाफ पाउन धेरै महिना कुर्नुपर्ने अवस्था थियो । गाउँघरको समाचार कहिले सुन्न पाउने थिएन । 

खाली चिट्ठीको भरमा गाउँघरको खबर थाहा हुन्थ्यो । नेपालमा फोन गर्नलाई एक मिनेटको ३ देखि ५ डलरसम्म लाग्थ्यो । एक मिनेटको फोन म सम्पर्क हुन आफन्तहरुलाई बोलाई दिनुपर्ने हुन्थ्यो । दुईतीन बर्ष त मेरो समय अल्मलमै बित्यो केही बुझ्न होइन, सबै अंग्रेजी बोल्ने सल्लाह सुझाव दिने नेपाली कोही थिएन ।

नेपाली संस्थाहरु पनि थिएन । जुन बेला न त फेसबुक, न त भाइबर, न त युटुुब, न त इमेल नै ! खाली सम्पर्कको लागि टेलिफोन, फ्याक्स र सोर्ट ह्यान्ड भन्ने थियो । नेपाली गीत सुन्न दुईवटा चक्का ल्याएको थिए । माया गुरुङ र उमा गुरुङको गीत कृष्ण गुरुङसँग दोहोरी अनि एउटा भजन जुन क्यासेट मैले हरेक दिन नेपालको याद आएको बेला सुन्ने गर्थे ।

तर, परिवारमा कसैले नेपाली नबुझ्ने हुनाले आफुले अप्ठयारो महसुुस गर्थें । त्यसपछि १९९४ अक्टोबरमा छोरा जन्मियो । अर्को कुरा मेरो अनुभवमा अमेरिकामा जन्मेर हुर्केका गोराहरुका सोचाई हामी नेपालीको भन्दा फरक हुने रहेछ । हामीले भविष्यका लागि सोच्छौं भने उनीहरुले अहिलेको लागि मात्र । पारिवारिक सहयोग कमै हुँदो रहेछ । मेरो श्रीमानसँगको असमझदारीले सम्बन्ध विच्छेदन गर्नुपरयो ।
 

अनुभव
करीब दुई बर्षपछि एकदुई जना नेपाली साथीहरु भेट्न पाइयो, साह्रै खुशी लाग्यो । त्यसपछि हामी सबैको सल्लाहले बेलाबेलामा भेट्ने निर्णय ग-यौं । १९९७ मा हामी केही नेपालीहरु मिलेर दशैं मनाउने निधो भयो । मेरो पहिलो प्रस्तुति दुईवटा नाँच थियो । करीब १५/२० जनाको टोली मिलेर मर्सर इस्ल्यान्डमा  दशैं मनायौं ।

आफ्नो देश छोडेर लामो समयपछि पहिलो पटक नेपाली दाजुभाई तथा दिदिबहिनीहरु भेला भई नेपाली संस्कार र संस्कृतिको शुरुवात गरियो । त्यो दिन मेरो मन यति खुशी भयो की पिँजडाबाट उडेको चरिझै खुल्ला मन भयो । 

अब आउने नेपालीहरुले मैले जस्तो दुःख नपाओस् भन्ने सोच हुन्थ्यो । त्यसपछि हामी सबैले सल्लाह गरेर १९९९ मा नेपाल सियाटल सोसाइटी भन्ने संस्थाको जन्म भयो । त्यो संस्थाको विभिन्न पदमा कार्यरत रहेर मैले आफूले भ्याएसम्म योगदान दिएँ । हरेक सांस्कृतिक कार्यक्रमको संयोजक भई संस्थाको उज्जवल भविष्यको लागि सहयोग गर्दै आए । सन् २००५ यस संस्थाको अध्यक्ष पदको जिम्मेवारी वहन गरी सक्रियतापूर्वक नै सञ्चालन गरे । 

मलाई लाग्छ इन्टरनेट अनि अनलाइन मिडियाको पनि ठूलो सहयोग गर्दो रहेछ । अमेरिका बसाईको शुरुवातमा मैले धेरै दुःख भोग्नुप¥यो, मेरो वैवाहिक जीवनको ९ बर्षपछि बिछोड हुनपर्ने अवस्था भयो । मलाई लाग्यो सबै कुराले साथ दिएन, मेरो श्रीमानलाई नेपालीप्रति ज्ञान सिक्ने, नेपालीहरुसँग भेटघाट गरेर नेपाली संस्कार जान्ने मौका पनि भएन । अहिले जस्तो भएको भएपनि अनलाईन मिडियामा सबै जानकारी हुन्थ्यो ।

तर, सजिलो थिएन । पुरा समय काम गरेर पढाइलाई अगाडि बढाउन, त्यसमाथि एकल महिला बनेर । सबै व्यवहार धन्न कठिनाई थियो । तैपनि हरेश नखाई प्रयास जारी राखें । आपूm सामाजिक काममा सधैं खुशी हुने भएकाले त्यसलाई पनि निरन्तरता दिदै आए । किनकी आफूले नै जन्माएको संस्थाको माया हुन्छ । संघर्ष गर्दै गएँ । नोर्थ सियाटल र शोर लाइन्स कम्युनिटी कलेजमा नर्सिङ पढे । पढाइले भन्दा पनि जीवनका भोगाइले धेरै कुरा सिकायो ।

अमेरिका बसाईको करीब १२ बर्ष बितिसकेको थियो । एकल महिला भएर छोराको पालन पोषण गर्नुपर्ने सबै जिम्मेवारी आफैमा आइलाग्यो । समय वित्दै गयो, छोरा पनि हुर्कदै गयो, उसलाई दुईपटक नेपाल पनि लगे, अनि नेपालबाट आमालाई पनि ल्याएँ । अब बल्ल मेरो विगतको भन्दा जीवन अलि सहज भएको महसुस गरें । र, मैले अध्ययनलाई अगाडि बढाउने सोच लिएँ ।

तर, सजिलो थिएन । पुरा समय काम गरेर पढाइलाई अगाडि बढाउन, त्यसमाथि एकल महिला बनेर । सबै व्यवहार धन्न कठिनाई थियो । तैपनि हरेश नखाई प्रयास जारी राखें । आफू सामाजिक काममा सधैं खुशी हुने भएकाले त्यसलाई पनि निरन्तरता दिदै आए । किनकी आफूले नै जन्माएको संस्थाको माया हुन्छ । संघर्ष गर्दै गएँ । नोर्थ सियाटल र शोर लाइन्स कम्युनिटी कलेजमा नर्सिङ पढे । पढाइले भन्दा पनि जीवनका भोगाइले धेरै कुरा सिकायो ।   

समाजसेवाप्रति सक्रियता
नेपालमा मेरो जन्मघर धादिङको बसेरी गाउँमा आमाकै नाममा हेल्थ क्लिनिक खोलेको छु । २००७ सालदेखि सुरु भएको योजना २०१० सालदेखि सञ्चालनमा थियो तर गतवर्षको विनाशकारी भूकम्पले ध्वस्त भएपछि पुनः करीब ३० लाख रुपैयाँको लगानीमा नयाँ प्रि प्राबिक क्लिनिक सञ्चालन गरेर स्थानीय जनतालाई सेवा दिइरहेका छौं । 

हालसम्म मैले आफू लागि परेको संस्थाहरुमा नेपाल सियाटल सोसाइटी, नोर्थवेष्ट तमु गुरुङ समाज, कोन्सिओस कन्नेक्सन फाउण्डेशन र अन्य सहयोग गरेका संस्थाहरु धेरै छन् । मैले बसेरी क्लिनिक शुरुवात गर्न एउटा अनलाईन अभियान सुरु गरेको थिए जुन अभियान फब्रिक अफ लाईफ फाउण्डेशन ५०१ सि ३ सँग मिलेर काम गर्दै आएको थिए । मेरो आफनो नर्सिङ कामबाट पनि मैले धेरै भन्दा धेरै चन्दा संकलन गरि विभिन्न काम गर्दै आएको छु ।

भूकम्पपछि नेपालमा धेरै उथलपुथल हुन पुग्यो तर मलाई लाग्छ भूकम्पले नयाँ र बलियो हेल्थ क्लिनिक बनाउने मौका पनि दियो । हामीलाई भूकम्पपछि धेरै साथीहरुबाट सहयोग मिल्यो । कोन्सिओस कन्नेक्सन फाउण्डेशन सहकार्य गरेर लगभग १ करोड ६० लाखको हाराहारीमा सहयोग चन्दा जुटेको थियो । हामीले बसेरी १ डाँडा गाउँ जहाँ म जन्मेको गाउँमा भूकम्पबाट पीडित गाउँका दुई परिवारलाई लगभग २० लाख रुपैयाँको लगानीमा भूकम्प प्रतिरोधात्मक अर्थ ब्याग नमुना घर पनि बनाईदियौं ।

मैले सिसिफ फाउन्डेसनसँग मिलेर धेरै ठाउँमा निरन्तर सहयोग पुरयाउँदै आएको छु । अमेरिकाको बसाईले जसरी जरा गाड्दै लगेको छ त्यसैगरी सामाजिक कार्यले मलाई उक्तिकै गहिराईमा तान्दैछ । अमेरिका छिरेपछि दिनप्रति दिन जिन्दगीको जरो गहिरिदै जाने रहेछ । किनकि यहाँको सिष्टमले बिस्तारैबिस्तारै जालमा पार्दै लैजाने रहेछ ।

व्यस्त उत्तिकै हुने हुँदा पनि समय गएको भने ख्याल नहुने रहेछ । अहिले झन् सूचना र प्रविधिले गर्दा नेपालसँग धेरै नजिकझै हुन्छ । गाउँ गाउँका मान्छेहरु के गर्दै छन् सबै थाहा भएपछि भौतिकरुपले टाढा नलाग्ने रहेछ । नेपाली सामाजिकसंघसंस्थाहरु पनिधेरै गठन हुँदै गएको हुनाले अमेरिकामा लामो समय बिताउँदैछु । जीवन वित्दै गएको महसुस नहुँदै आधा उमेर यतै पार भइसक्यो ।

कलकारितामा चासो
आमाको सम्झनामा पहिलो पटक गीति एल्बम 'सम्झना' २००६ निकालेको थिए । अहिलेसम्म ८/९ वटा एल्बम बजारमा ल्याईसकेको छु । प्रायः गरी धेरैजसो आफनै लय, शब्द संकलनमा निर्माण भएको छ । 
कलाकार हरिमाया गुरुङ र मेरो संयुक्त प्रस्तुतिमा लोक संस्कृति झल्किने खालका गीति एल्बमहरु बजार आइसकेका छन् । २००६ सालमा आमाको निधनपछि जन्मभूमि नेपाल विरानो होला जस्तो मलाई लागको थियो । तर भगवानले मलाई कलाकार तथा समाजसेवी हरिमाया गुरुङसँग भेट हुने अवसर जुराई दियो ।

उहाँबाट धेरै कुरा सिक्न पाए । धेरै वर्ष विदेशमा बसेको हुनाले गुरुङ संस्कार र सस्कृतिका बारेमा म अनविज्ञ थिए । मैले कलाकार हरिमाया गुरुङसँगको संगतले गुरुङ समुदायको संस्कार र संस्कृतिका बारेमा धेरै कुरा सिक्ने मौका पाए । अहिलेसम्म हरेक समाजसेवा र गीत संगीतमा एकअर्कालाई साथ दिदैँ  अगाडि बढ्दै आएका छौं ।

आगामी दिनमा पनि सँगै मिलेर काम गर्ने योजना बनाएका छौं । आगामी नयाँ एल्बममा सोरठी, ठाडो भाका, कौडा, घाटुजस्ता भाकाहरुलाई बढी प्रोत्साहन दिने सोच बनाएको छु । कलाकारिता क्षेत्रमा पनि समय दिने इच्छा गरेको छु । प्रायः जसो ठाउँहरुमा पुगेको भएपनि नपुगेको ठाउँहरुमा घुम्ने इच्छा छ । सबैको आर्शिवादले राम्रो छ । भगवानको कृपाले दुःखी सहारा नपाएकाहरुलाई सहयोग पु-याउँदै आएको छु ।

प्रस्तुतिः मानछिरिङ तामाङ

प्रतिकृया दिनुहोस