Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
बौद्ध धर्म गुरु दलाई लामा ८१ वर्षमा प्रवेश
बुधबार, आषाढ २२, २०७३ ००:००:०० | Comments

- मानछिरिङ तामाङ
बौद्ध धर्म गुरु तेन्जिङ ग्यात्सो १४ औं दलाई लामा आजबाट ८१ वर्षमा प्रवेश गरेका छन् । उनी बौद्धधर्मका आध्यात्मिक गुरू हुन । उनले आफनो जन्म दिन भारतको धर्मशालामा मनाएका छन् । उनको जन्म ६ जुलाई, १९३५ को उत्तर (पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो । 

दुई वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३ औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गरियो । दलाई लामा एक यस्तो पदवी हो जसको मतलव ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन् । 

उनले आफ्नो मठवासीय शिक्षा छ वर्षको उमेरमा प्रारम्भ गरे । २३ वर्षको उमेरमा वर्ष १९५९ को वार्षिक मोनलम सप्रार्थनाद्ध उत्सवको समयमा उनले जोखांग मन्दिर, ल्हासामा आफ्नो फाइनल परीक्षा दिए । उनले यो परीक्षा ओनर्स नजिकै गरे र उनलाई सर्वोच्च गेशे डिग्री ल्हारम्पा बौद्ध दर्शनमा पिएचडी प्रदान गरियो ।

सन् १९५० को दशकतिर चीन र तिब्बतबीच आपसी विवाद शुरु भएको थियो । तिब्बतमा उत्सव मनाईरहको बेला चीनले आक्रमण गरी प्रशासन आफनो हात लियो । त्यति बेला दलाई लामा १५ वर्ष मात्र पुगेका थिए । चीनको सेनाले सबै क्षेत्रमा कब्जा जमाएपछि स्थानीय जनताले त्यसको विरुद्ध प्रतिकार गर्ने कोसिस गरे । तिब्बती जनतामाथि गरेको अत्याचार र दमनलाई रोक्ने दलाई लामाले चीन सरकारसँग वार्ता गर्न केही आफनो दुत पठाए तर मुख्य विषयमा भने सम्झौता हुन सकेन । 

सन् १९५९ मा आएर झन धेरै दमन र असन्तोष बढेर गएपछि दलाई लामाको जीवनमाथि खतरा हुन थाल्यो । त्यतिबेला चीन सरकारले दलाई लामालाई बन्धक बनाई तिब्बत पूर्णरुपमा कब्जा गर्न चाहन्थे । त्यसकारण दलाई लामाका शुभचिन्तकहरुले उनलाई तिब्बत छोड्ने सल्लाह दिए । अन्त्यमा तिब्बतको पोटला दरबार १७ मार्च १९५९ को रात आफनो आधिकारिक निवास छाडेर ३१ मार्च भारतको तवांग इलाकामा प्रवेश गरी भारत सरकारसँग शरण लिएका थिए । 

१९८७ मा दलाई लामाले तिब्बती मुद्धाको शान्तिपूर्ण समाधानको लागि पाँच सूत्रीय शान्ति योजना प्रस्तुत गरे । तर चीनले दलाई लामाद्वारा राखिएको विभिन्न शान्ति प्रस्तावको कुनै सकारात्मक प्रतिक्रिया दिएन । २१ सेप्टेम्बर, १९८७ को अमेरिकी कांग्रेसको सदस्यहरूलाई सम्बोधन गर्दै दलाई लामाले निम्न ५ बुँदे शान्ति प्रस्ताव राखे ।

उनी सन् १९९१ मा तिब्बत फर्किन चाहेको इच्छा व्यक्त गरेका थिए । तर चीनसँग सम्झौता सफल हुन नसकेपछि उनी गएनन् । उनले विश्व शान्तिको लागि ५२ भन्दा बढी मुलुकहरु भ्रमण गरिसकेका छन् । विश्वबन्धुत्व र शान्तिका लागि गरेको कार्यको मुल्यांकन गरी उनलाई १९८९ मा नोबेल पुरस्कारबाट सम्मानित गरिसकेको छ । सन् २००५ र २००८ मा उनलाई विश्वको १०० महान व्यक्तित्वहरुको सूचीमा राखिएको थियो । २०११ मा दलाई तिब्बतको राजनीतिक नेतृत्व पदमा सेवानिवृत गरे । १४ औं दलाई लामाकै प्रभावले बौद्ध धर्म गुरु (लामा)लाई लोकप्रिय र सम्मानित रुपमा परिचित गराए । उनकै कारण आज संसारभरि लामालाई सबैले आदर र सत्कार गर्ने गर्दछन् । अहिले विज्ञान र प्रविधिलाई पनि दलाई लामाले भरभग्दुर प्रयोग गरेका छन् । उनका विचारहरु सोसल मिडियाको माध्यमबाट संसारभरि फैलाइएकोछ । उनको जीवनीलाई आधार बनाएर वृत्तचित्र र फिल्म समेत बनिसकेको छ ।  

उनले लगातार अहिंसाको नीतिको समर्थन गर्न जारी राखेका छन् । अत्यधिक दमनको परिस्थितिमा पनि शान्ति र अहिंसा मार्गलाई निरन्तरता दिईरहेका छन् । धेरै प्रमुख देशहरूको राष्ट्रपति, प्रधानमन्त्री र शासकहरुसँग भेटवार्ता गर्ने अवसर पाएका छन् । शान्ति सन्देश, अहिंसा, अन्तर धार्मिक मेलमिलाप, सार्वभौमिक उत्तरदायित्व र करूणाको विचारहरूलाई मान्यताको रूपमा १९५९ देखि अहिलेसम्म उनको ६० मानद डक्टरेट, पुरस्कार, सम्मान आदि प्राप्त भएका छन् । उनको बारेमा ५० भन्दा अधिक पुस्तकहरू प्रकाशित भइसकेका छन । उनी आफुलाई एक साधारण बौद्ध भिक्षुका रुपमा मान्छन् । विश्वभरिमा आफ्नो यात्राहरू र व्याख्यानको समयमा उनको साधारण तथा करूणामय स्वभावले हरेक व्यक्तिको गहिराईसम्म प्रभावित गर्दछ । उनको सन्देश माया, करूणा र क्षमाशीलता हो ।

वर्तमान चुनौतीको सामना गर्नको लागि मानिसलाई सार्वभौमिक उत्तरदायित्वको व्यापक भावनाको विकास गर्नुपर्ने उनको भनाई छ । हामीले आफनो व्यक्तिगत आवश्यकता पुरा गर्न मात्र नभई सिंगो मानवजातिको हितका लागिकार्य गर्नुपर्ने उनी बताउँछन् ।  मानव अस्तित्वको वास्तविक बुझाई भनेको सार्वभौमिक उत्तरदायित्व नै रहेको उनको ठहर छ । यो विश्व शान्ति, प्राकृतिक संसाधनहरूको समवितरण र भावी पिढीको हितका लागि पर्यावरणको उचित हेरचाह नै सबै भन्दा राम्रो आधार रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस