Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'बुद्ध नेपालमा जन्मेको व्यानर बोकेको नाराले नेपालीको शिर ठाडो हुँदैन'
बिहीबार, आषाढ ९, २०७३ ०९:४५:०० | Comments

जुन २२, न्यूयोर्क / मानछिरिङ तामाङ /

तामाङ बौद्ध महासंघका अध्यक्ष तथा बौद्धधर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ अहिले अमेरिका, क्यानाडा हुँदै सिंगापुरमा बौद्ध दर्शनको  बारेमा प्रवचन गर्न पुग्नुभएको छ । ललितपुर जिल्लाको कालेश्वर १ मा जन्मिनु भएका गुरु खेन रिन्पोक्षे तामाङले सानै उमेरमा तिब्बती गुरु लोसाङ धर्गेज्युको सहयोगमा पश्चिम भारतको कर्नाटक प्रान्तस्थित गदेन झ्याङचे गुम्बामा पुगेको स्मरण गर्नुुहुन्छ ।

बौद्ध दर्शनसम्बन्धी उच्च शिक्षा हासिल गर्नुभएका गेशे ङिमा तामाङले महासंघलाई नेपालका जिल्लाहरु (धादिङ, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर,काठमाडौं र ललितपुर)मा शाखा विस्तार गर्नुभएको छ । उहाँले महासंघको गतिविधिलाई विश्वव्यापी बनाउन मलेसिया, दक्षिण कोरिया, हङकङ र अमेरिकामा पनि शाखा विस्तार गरेको बताउनुभयो । 

भारतबाट गेशेसम्मको अध्ययन पुरा गरी  नेपाल फर्केर आफ्नै  पूर्खाको १५ रोपनी र पछि १० रोपनी जग्गा थप गरेर आफ्नै पहलमा तामाङ लुङतोग गुम्बा स्थापना गरेको बताउनुहुन्छ उहाँ । उक्त गुम्बा निर्माणमा नेपाल सरकार र कुनै पनि नेपाली व्यक्ति विशेषबाट सहयोग नलिएको खेन रिन्पोछे गेशे तामाङले बताउनुभयो । उहाँले एशियाका विभिन्न देशहरुमा पटक-पटक भ्रमण गरी गुम्बा निमार्ण गरिएको जानकारी दिनुभयो ।

नेपालीहरु अहिले नयाँ-नयाँ अवसर तथा विभिन्न उद्देश्य बोकेर संसारभरि पुगेको र जहाँ पुगे पनि आफनो भाषा, धर्म, संस्कार र संस्कृतिप्रति निकै सचेत र सजग रहेको उहाँको अनुभव छ । अहिले विदेशमा भने सबै नेपालीहरुले मिलेर बुद्ध जयन्ती मनाएको देख्दा गेशे तामाङलाई निकै खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ’बुद्ध नेपालमा जन्मिएको भन्ने बारेमा कुनै दुईमत नै छैन । इतिहासमा घटेको घटनालाई कहिल्यै मेटेर मेटिदैन । बौद्ध धर्मशास्त्रमै सिद्धार्थ गौतम बुद्ध लुम्बिनीमा जन्मेको प्रष्ट उल्लेख छ ।' 

बुद्ध भगवान नेपालको  लुम्बिनीमा जन्मेको हो भन्ने कुरा इतिहास साक्षी हुँदाहुँदै यसको बारेमा अनावश्यक हल्ला गर्न कुनै आवश्यक नभएको उहाँको भनाई छ । ’हामी नेपालीहरुले बुद्धको शिक्षालाई के कत्ति सम्म बुझेका छौ र त्यसलाई व्यवहारमा लागु गरेका छौ कि छैनौ ? त्यसबारे सोच्न अति आबश्यक छ र बुद्ध नेपालमा जन्मेको हो भनेर तुल ब्यानर बोकेर नारा लगाएको मात्रैले हामी नेपालीको शिर ठाडो हुन नसक्ने बताउनुभयो   । 

बुद्धले दिनुभएको मार्गदर्शन, ज्ञान र शिक्षाहरु एसियाका विभिन्न मुलुकहरुमा संस्थागत विकास भएको सँगसँगै आज थाई बुद्धिष्ट, जापानीज बुद्धिष्ट, कोरियन बुद्धिष्ट, चाइनीज बुद्धिष्टजस्ता नामले संसारभरि चिनाएको छ तर नेपाली बुद्धिष्ट भनेर कहि कतै चिनिएको पहिचान नभएको पाउँदा गेशे तामाङले दुःख व्यक्त गर्नुभयो । 

आफुले आफुलाई नेपाली र बुद्ध जन्मेको देशको नागरिक हो भन्ने गर्व गर्न सबैले नेपालीले बुद्धले दिनुभएको मार्गदर्शन, ज्ञान र शिक्षा अवलम्वन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उहाँको भनाई छ । नेपाल सरकारले पनि अहिलेसम्म बौद्ध धर्मको संस्थागत विकासमा  कुनै ठोस कार्य नगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस