Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
'वास्तवमा जीवन यादैयादको अटुट श्रृंखला जस्तो लाग्छ'
बुधबार, आषाढ ८, २०७३ ००:००:०० | Comments
आरती चटौत, नेपाल टेलिभिजन, निर्माता/प्रस्तोता

आरती चटौत पत्रकारिता क्षेत्रमा चिनाई रहनुपर्ने नाम होइन । नेपाल टेलिभिजनको सर्वाधिक चर्चित कार्यक्रम 'सघर्ष'की निर्माता/प्रस्तोता चटौतले सञ्चालन गर्ने कार्यक्रमले आवाज विहिनहरूको आवाजलाई समेट्ने गरेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर चटौत गोल्ड मेडलिस्ट हुनुहुन्छ । विभिन्न कलेज तथा संघ–संस्थाहरू जेन्डर तथा पत्रकारिता विषयमा प्रशिक्षक समेत रहनुभएकी उहाँ नेपाल टेलिभिजनको कार्यकारी निर्माता हुनुहुन्छ । अनुभवले खारिएको र विचारले माझिएको सरल तथा भव्य व्यक्तित्वका धनी चटौत आफ्नै कामको कारणले बढी चर्चामा आउने गर्नुहुन्छ । देशभित्र मात्र होइन देश बाहिर समेत चुलिएको चर्चाले उहाँलाई निकै तिख्खर बनाएको छ । यसपटक मिडिया पर्सनका लागि अतिथि बन्नु भएकी चटौतसँग नेपाल बुलेटिनले गरेको भलाकुसारी

तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ ?
यहाँले मलाइ जुन रुपमा चिनेर मेरो अन्तर्वार्ता लिन आउनुभएको छ, मरो परिचय त्यहि नै हो ।

कति भयो पत्रकारिता गर्नुभएको ?
एक दशक नाघिसक्यो ।

तपाई किन छापा पत्रकारितातिर लाग्नु भएन ?
छापा पत्रकारितामा लागेको भए विद्युतीयमा किन लाग्नु भएन भनेर सोध्नु हुन्थ्यो होला । कलेजमा हुँदै यतातिर लागेँ । शब्दसँगै दृश्यको साथ बढी प्रभावकारी लाग्यो ।

यो पेशादेखि कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट भएरै होला, वर्षौ बित्यो तर यहि क्षेत्रमा केहि गर्ने चाहना घटेको छैन बरु हरेक दिन बढेको महसुस हुन्छ ।

तपाई पत्रकारिता के का निम्ति गर्नुहुन्छ ?
समाजमा विद्यमान असमानता र विसंगति विरुद्ध आफ्नो तर्फबाट सकेको गर्ने प्रयासका लागि ।

पत्रकार नभएको भए अहिले तपाई कुन पेशामा हुनुहुन्थ्यो ?
समाजमा विद्यमान असमानता र विसंगतिप्रति केहि गर्ने चाहना मेरो शुरु देखिकै हो । यो माध्यम नभए अरु कुनै हुन्थ्यो होला तर लक्ष्यमा सम्झौता गर्दिनथेँ ।

तपाईकोे विचारमा महिलाहरूका निम्ति पत्रकारिता कस्तो पेशा हो ?
एकदम राम्रो सम्भावना भएको ।

पत्रकारितामा लागेर कत्तिको कमाउनुभयो ?
एकदम धेरै ... सम्हाल्नै गाह्रो छ, कहीँ कतै गए पनि एक्लै हुनु पर्दैन । आँशु, मुस्कान, स्याबासी, र सुझावले म हरपल भरिपुर्ण हुन्छु । परिचय नहुँदै सबैले नामले बोलाइदिन्छन् अनि काम नै परिचय भईदिन्छ । यो भन्दा अरु कमाउने महत्वकांक्षा पनि छैन । यसैगरि सधैँभरि पुगिसरी होस ।

तपाईले वर्षौंदेखि नेपाल टेलिभिजनमा कार्यक्रमहरू चलाउँदै आइरहनु भएको छ तर तपाई त सधैं उस्तै देखिनुहुन्छ नि ?
पहिलो कुरा त यो हेर्नेमा भर पर्ने कुरा भयो, दोश्रो म सँधै समसामयिक विषयमा कार्यक्रम निर्माण गर्ने भएकोले होला यहाँहरूले मलाई सधै उस्तै देखेको र उत्तिकै माया दिएको ।

तपाईलाई सेलेब्रिटी पत्रकार भन्दा कस्तो लाग्छ ?
मेरो चाहना त कलम र क्यामेराको माध्यमबाट यहाँहरूसँग नाता जोड्ने हो । अन्याय र शोषण विरुद्ध आवाज उठाउनु हो । मेरो कामप्रतिको यो भावना नै बुझिदिए पुग्छ । बाँकी सेलेब्रिटी वा अरु जे भन्नुस् यहाँहरूको विचार हो । खुशी नै लाग्छ ।

तपाई को बाट प्रभावित हुनुहुन्छ ?
आफुले देखेको–भोगेको परिस्थिति, वरिपरिको वातावरण, अन्यायमा परेका विशेषगरी महिलाहरूबाट । अहिले त मेरो टिभी कार्यक्रम अनि विभिन्न मञ्चमा भेटिने संघर्षशील व्यक्तित्वहरूबाट प्रभावित छु ।

तपाइ जीवनमा कुन घटनालाई कहिल्यै विर्सिनुहुन्न ?
धेरै छन, एउटा मात्र छान्न गाह्रो छ । वास्तवमा जीवन यादैयादको अटुट श्रृंखला जस्तो लाग्छ । समयले कति यादलाई मेटाइदिन्छ, कतिलाई झन गाढा बनाइदिन्छ । यसै क्रममा नयाँनयाँ घटनाहरू जोडिन पुग्छन । सायद यस्तै श्रृंखलाहरूको निरन्तरता नै जीवन हो ।

तपाईको हेराईमा पुरुष के हुन ?
मानवीय संरचना मध्येको एक पुरुष पनि हो । हाम्रो सामाजिक संरचनाले पुरुषलाई नै प्रमुख देखाए पनि समग्रमा पुरुष महिलाको परिपुरक हो अनि पुरुष पनि महिला बिना अधुरो छ ।

कस्ता पुरुषले तपाईलाई आकर्षित गर्छन ?
यो रहस्य चाहि नखोलौ कि ?

तपाईको बिचारमा प्रेम के हो ?
प्रेम विश्वास हो, आकर्षण हो, सामिप्यताको चाहना हो, सदभाव हो, समग्रतामा एक अर्का प्रतिको समर्पण हो ।

तपाईको विचारमा प्रेमको मामिलामा केटा वा केटी को बढी इमान्दार हुन्छन् जस्तो लाग्छ र किन ?
इमान्दारिता भन्ने कुरा व्यक्ति सापेक्ष हुन्छ, केटा वा केटी को बढी इमान्दार हुन्छन भनेर सामान्यिकरण गर्न मिल्दैन होला जस्तो लाग्छ ।

तपाईलाई के कुरामा पछुतो लाग्छ ?
गल्तीबाट सिक्दै अगाडि बढ्नुपर्छ । पछुतो भन्ने कुरा मेरो शब्दकोषमा छैन ।

पानीको पँधेरो झैँ विदेश गइरहनु हुन्छ, कहिलेकाँहि उतै बसौं जस्तो लाग्दैन ?
पानी चाहिँदा पो पँधेरो जाने हो, पँधेरोमै बास बस्न सकिन्न है न र !

प्रस्तुतिः युवराज विद्रोही

प्रतिकृया दिनुहोस