Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
अब आर्थिक क्रान्ति गरौँ  : अध्यक्ष मुरारका
सोमबार, पौष २७, २०७२ २०:२७:३१ | Comments

चितवन, २७ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राजनीतिक क्रान्ति सकिएको बताउँदै देश विकासका लागि अब आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ४९औँ वार्षिक साधारणसभाको सोमबार नारायणगढमा उद्घाटन गर्दै उहाँले राजनीतिक उपलब्धि प्राप्त भइसकेको अवस्थामा संविधानलाई कार्यान्वयन गर्दै आर्थिक विकासमा सबै एकजुट भएर जुट्नुपर्ने बताउनुभयो । 

लामो समयसम्म भएको नाकाबन्दीका कारण भूकम्पबाट प्रभावित उद्योग व्यवसाय थप मारमा परेको भन्दै उहाँले यथासक्य चाँडो घरायसी समस्या घरभित्रैबाट समाधान गर्न आग्रह गर्नुभयो । विदेशीलाई देखाएर देशको समस्या समाधान नहुने भन्दै उहाँले स्वदेशमै निर्णायक वार्ता गर्न सरकारसँग माग गर्नुभयो । नाकाबन्दीबाट प्रभावित उद्योग–व्यवसायीको ब्याज मिनाहाको विषयमा सरकारले सोच्नुपर्ने भन्दै उहाँले आफूहरू कर तिर्न भने तयार रहेको बताउनुभयो । “कर छुट माग्दैनौँ,  तर व्यवसाय गरेर आम्दानी गर्ने वातावरण सिर्जना गर्नुप¥यो” उहाँले भन्नुभयो ।  

कार्यक्रममा सांसदहरू रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल र गीता वाग्लेले जिल्लाको विकासमा उद्योग वाणिज्य सङ्घले  खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लाको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, एनेकपा (माओवादी)का जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलगायतले बोल्नुभएको थियो । सङ्घले हालसम्म गरेका उपलब्धिपूर्ण कामका विषयमा अध्यक्ष कल्याण जोशीले जानकारी गराउनुभएको थियो । 

सो अवसरमा रु २० हजार रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट कायाँकैरन दैनिकका प्रधान सम्पादक विनोदबाबु रिजाललाई सम्मान गरिएको थियो भने खेलाडी रेश्मा श्रेष्ठलाई खेलकुदको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दैछ । अध्यक्षमा सहनलाल प्रधान र राजन गौतमले मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । उद्योग वाणिज्य सङ्घमा एक हजार ८२७ सदस्य रहेका छन् । 

प्रतिकृया दिनुहोस